सुरक्षा निकायको सक्रियतामा ८४ प्रतिशत फरार कैदी पक्राउ
सारांश
- बैतडी कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न सुरक्षा निकायले सक्रियता देखाएको छ।
- संयुक्त सुरक्षा टोलीले गरेको अप्रेसनबाट हालसम्म ८४ प्रतिशत फरार कैदी पक्राउ परेका छन्।
- फरार कैदी खोज्न भारतीय प्रहरी र स्थानीय निकायसँग समन्वय गरिएको छ, र खोजी कार्य जारी छ।
बैतडी । यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण जिल्ला कारागार बैतडीबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएका छन् ।
संयुक्त सुरक्षा टोलीले कैन्दीबन्दी पक्राउ गर्ने ‘अप्रेसन’ सञ्चालन गरी हालसम्म ८४ प्रतिशत फरार कैन्दीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “जिल्लाका सबै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरेर फरार कैदी समात्न अप्रेसन सञ्चालन गरेका छौँ । अहिलेसम्म ८४ प्रतिशत भागेका कैदी समात्न सफल भएका छौँ ।”
भदौ २४ गते राति यहाँको कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना फरार भएका थिए । उनका अनुसार तीमध्ये ५२ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएर कारागारमा राखिसकेको छ ।
फरार कैदी समात्नका लागि संयुक्त अप्रेसनका साथै भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनले भने, “कैदीहरू भागेपछि जिल्लाका सबै प्रहरी युनिट र भारतीय प्रहरीसँग समन्वय गरी कैदीको हुलिया पठाएका थियौँ । सबैको सक्रियतामा हालसम्म ५२ जना पक्राउ परेका छन् ।”
प्रहरी प्रवक्ता पाण्डेयका अनुसार ४८ जनालाई जिल्लाका विभिन्न स्थानबाट र चार जनालाई एसएसबीको सहयोगमा भारतको पिथौरागढ जिल्लाबाट पक्राउ गरिएको हो ।
कारागारबाट कैदी फरार भएपछि निजहरू भाग्न र लुक्नसक्ने स्थानको विश्लेषण गरेर अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । उनले भने, “फरार कैदी खोज्न भारतीय प्रहरी, स्थानीय पालिकासँग समन्वय गर्नुका साथै हाम्रा प्रहरी युनिटलाई पनि सक्रिय गरेका हौँ ।”
संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिसकेको प्रहरी प्रमुख रायले जानकारी दिए । उनका अनुसार डडेल्धुराबाट छ, डोटीबाट चार र दार्चुला कारागारबाट भागेका एक जनालाई नियन्त्रणमा लिइएको हो । बाँकी फरारमध्ये १० जना कैदीको खोजी कार्य जारी रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
फरार बाँकी कैदीलाई कारागार फिर्ताका लागि अर्को सूचना जारी गर्ने तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए । उनले भने, “यसअघि पनि फरार कैदीलाई आफैँ कारागार फिर्ताका लागि सूचना जारी गरेका थियौँ, तर सबै सम्पर्कमा आएनन्, फेरि अर्को सूचना जारी गर्छौैँ । नआए कानुनअनुसार थप कामकारबाही अगाडि बढाउँछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण