मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘जेनजी आन्दोलन सकारात्मक र नकारात्मक दुवै दृष्टिले अविस्मरणीय’

बनिबनाउ राज्यसत्ता यथावत राखेर सरकारमा जानु क्रान्ति नभई यथास्थितिवाद भएको पुनर्पुष्टि
शुक्रबार, ०३ असोज २०८२, १३ : ५९
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेनजी आन्दोलनको समीक्षा गर्दै भावी योजना सार्वजनिक गरेको छ।
  • पार्टीले जेनजी विद्रोहलाई भ्रष्टाचार, बेरोजगारी विरुद्धको विद्रोहको रूपमा चित्रण गरेको छ।
  • पार्टीले संयुक्त मोर्चा निर्माण गरी जनसंघर्षमा जाने र जनगणतन्त्रात्मक संविधान बनाउने लक्ष्य राखेको छ।

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको राजनीतिक परिषद्को अनलाइन बैठकले हालै सम्पन्न जेनजी आन्दोलनबारे विस्तृत समीक्षा गर्दै भावी योजना सार्वजनिक गरेको छ। 

पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा भएको बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा आन्दोलनलाई नेपाली समाजको इतिहासमा सकारात्मक र नकारात्मक दुवै दृष्टिले अविस्मरणीय घटनाको रूपमा चित्रण गरिएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका 'जेनजी' पुस्ताको यो विद्रोहले संसदवादी राजनीतिक दलहरूलाई भ्रष्टाचार, स्वतन्त्रता हनन र विकृतिका लागि कठोर सजाय दिएको छ। यो विद्रोहलाई लामो समयदेखि थुप्रिएको भ्रष्टाचार, बेरोजगारी, निजीकरण र कालोबजारी जस्ता समस्याहरूको परिणामको रूपमा हेरिएको छ।’ 

विज्ञप्तिमा जेनजीको यो विद्रोहलाई इमान्दार र स्वतस्फूर्त भनिए पनि यसमा साम्राज्यवादी, विस्तारवादी, प्रतिगमनकारी र अवसरवादी तत्वहरूले घुसपैठ गरी आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको आरोप लगाइएको छ। पार्टीले युवा पुस्तालाई ‘समग्र योजना र भावी परिणामलाई सामना गर्ने तागत बिना अघि बढ्नु विनाशलाई निम्त्याउनु हो’ भन्दै सचेत पनि गराएको छ।

विज्ञप्तिले आन्दोलनमा शहादत प्राप्त गर्ने युवाहरूलाई शहीद घोषणा गर्दै उनीहरूका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

विज्ञप्तिमा जेनजी विद्रोहले बनिबनाउ राज्यसत्ता यथावत राखेर सरकारमा जानु क्रान्ति नभई यथास्थितिवाद हो भन्ने कुरालाई पुनर्पुष्टि गरेको उल्लेख छ। पार्टीको भनाइअनुसार, राज्यसत्ताको मेरुदण्ड स्थायी सेना हो र यस तथ्यलाई राजा महेन्द्रको २०१७ सालको 'कु' पछि मात्र बीपी कोइरालाले गहिरोसँग महसुस गरेका थिए। विज्ञप्तिले अहिलेको स्थिति राष्ट्रपति, राज्यसत्ताका प्रगतिशील तथा देशभक्त पक्ष र साम्राज्यवादी-विस्तारवादीहरूको अन्तरविरोधका कारण यथास्थितिमा रहेको बताए पनि प्रतिगमनको खतरा भने टरिनसकेको चेतावनी दिएको छ।

पार्टीले दलाल तथा नोकरशाही पुँजीवादी अर्थव्यवस्थाको विकल्पमा वामपन्थी, देशभक्त र क्रान्तिकारी जनवादी पार्टी, समूह र व्यक्तित्वहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने नीति पारित गरेको छ। उक्त सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरी जनसंघर्षमा जाने र त्यसको प्रक्रियामा स्वाधीन संयुक्त सरकार निर्माण गर्दै जनगणतन्त्रात्मक संविधानतिर अघि बढ्ने उद्देश्य राखिएको छ।

प्रेस विज्ञप्तिको अन्त्यमा पार्टीले आफूहरूले गत असार ५ गतेदेखि नै भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरिरहेको र जेनजी युवाहरूको पनि प्रमुख मुद्दा यही भएकाले यो अभियान जारी राख्ने जनाएको छ। साथै, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा मुद्दाहरू लिएर देशव्यापी जनसंघर्षका कार्यक्रम तय गरेको र त्यसमा आम जनतालाई सहभागी हुन आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप