शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ओलीसँग चुपचाप एमाले नेता, नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

मङ्गलबार, १४ असोज २०८२, ०० : ००
मङ्गलबार, १४ असोज २०८२

काठमाडौँ । रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–


१. ओलीसँग चुपचाप एमाले नेता

जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ । ओलीकै कारण सिङ्गो एमालेको छवि धुमिल भएको र नेता कार्यकर्ताको भविष्य समेत अन्योल भएको टिप्पणी भइरहँदा पार्टी बैठकमा भने नेताहरूले ओलीलाई ‘नेतृत्व छाड्नुस् र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुस्’ भनेर खुलस्त भन्ने हिम्मत गर्न सकेका छैनन् ।

२. सीआईबीको थप एक्सन

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस नेतृ आरजु राणा देउवाका बाबुआमा बस्ने घरमा समेत छापा हानेको छ । 

आइतबार साँझ आरजुका भाइ भूषणको घरमा छापा हानेकोमा लगत्तै उनका बुवाआमा बस्ने घरमा पनि छापा हानेको सीआईबी स्रोतको भनाइ छ । दुबै घर ललितपुरको जावलाखेलमा रहेको बताइएको छ ।

३. नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ऐतिहासिक सिरिज कब्जा गरेको छ ।

४. बयानको तयारी

भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बयान लिने तयारी गरेको छ ।
जाँचबुझ आयोगले आइतबारमात्रै ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्कासहित उपत्यका छाड्नुपर्दा आयोगको अनुमति लिएर मात्र छाड्नुपर्ने निर्णय गरेको थियो ।

५. रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन दिएको छ ।

साथै रास्वपाले पार्टीका पूर्व सबै सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन पनि भनेको छ ।

६. सुशीलाको निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैँमा टीका तथा जमरा नलगाउने भएकी छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो।

सचिवालयले भनेको छ, ‘हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ।’

७. दसैँमा गाउँ जानेको लर्को

पछिल्लो २४ घण्टामा दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यो तथ्याङ्क आइतबार बिहानदेखि सोमबार बिहानसम्मको भएको र आज बेलुकासम्मकै विवरण भने भोलि मात्रै उपलब्ध हुने जानकारी दिए ।

८. धनश्यामको पत्रकार सम्मेलन

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलतातर्फ जानबाट जोगाउन तत्कालै ठोस कदम चाल्नुपर्ने बताएका छन्। उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

९. दसैँ विशेष

रातोपाटीमा आज फूलपातीको दिन दसैँ विशेष सामग्रीको रुपमा विभिन्न सामग्री छापिएका छन् ।

१०. संयम बन्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित हुन आग्रह गरेका छन्।

वडादसैं पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सबैबिच सहकार्यको जरुरी औँल्याएका हुन् ।

११. बारामा सौर्य ऊर्जा उत्पादनका लागि धमाधम संरचना निर्माण हुँदै

जीतपुरसिमरा उपमहानगरपालिका–२३ का जमिर देवान गाउँमा सौर्य ऊर्जा उत्पादन कम्पनी आएपछि असाध्यै खुसी छन् । ५० किलो धान पनि नफल्ने खोला छेउको जग्गाबाट वार्षिक ६० हजार आम्दानी हुन थालेपछि उनी खुसी भएका हुन् ।

१२. फिल्म

दसैँको फूलपातीको अवसर पारेर सोमबार देशभर तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप