सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सम्झँदा त्यो दसैँ र यो दसैँ

बिहीबार, १६ असोज २०८२, ०७ : ४३
बिहीबार, १६ असोज २०८२

सारांश

  • लेखमा लेखकले पुरानो र बदलिँदो दसैँको अनुभवलाई स्मरण गरेका छन्।
  • दसैँ मनाउने तरिकामा आएको परिवर्तन र यसका कारणहरूको बारेमा विश्लेषण गरिएको छ।
  • लेखकले दसैँको महत्त्व, यसको सामाजिक र सांस्कृतिक पक्षहरूलाई उजागर गरेका छन्।

२०४८ मा एसएलसी दिएलगत्तै भारततिर लागेँ । अभाव र तनावले घेरिएको घरको आक्रान्त अवस्था थियो । मजस्तै अवस्थाका कतिपय साथीसंगीहरू संस्कृत पढ्न बाराणसी, वृन्दावन, हरिद्वार जान्थे भने चिनेजानेका तरुणतन्नेरीहरू कोइलाखात जाने गर्दथे । कोइलाखात गएपछि पैसा चाहिँ पुग्दो कमाइन्छ तर सग्लो फर्केर आउन सकिँदैन रे भन्ने सुनिन्थ्यो । हुन पनि कि शारीरिक अशक्त भएर आउने कि बिरामी परेर आउने कि धागोले बाँधिएको वैरांगपत्र लिएर हुलाकी कर्मचारी कोही न कोही घरमा आइपुग्ने गरेका देखिन्थ्यो । आफू कक्षा ८ पढ्दै गर्दा एकपटक यस्तै पत्र पढिबाची गरिदिनुपर्ने ठाउँमा पुगेँ । पत्रको व्यहोरा सुन्न आँगनभरि मानिसको घुँइचो हुन्थ्यो । श्रीमानले श्रीमतीलाई लेखेको पत्र पनि सार्वजनिक महत्त्वको हुन्थ्यो, स्वास्थानी माताको पाठअन्तर्गत कथा प्रसङ कोट्याए झैँ कोट्याउनुपर्ने ! त्यो पढ्दै जाँदा सबैका आँखा रसाएको पाएँ, परिवारजन क्वाँ क्वाँ डाको छाडेर रुन लागेको पाएँ । आफू पनि हिक्का थाम्दै पढ्दै गर्दा पनि पूरा पढ्न सकिनँ र पत्रको बिट नमार्दै पट्याएँ । यो सबै दृश्यचित्र आँखैअघिल्तिर देखेपछि मलाई भने कहिल्यै पनि कोइलाखात जान मन लागेन ।

गरिखानका लागि उपयुक्त श्रमबजार तलास्दै भारतकै मथुरातिर लागेँ । हिन्दी बोल्न त के ! बुझ्न पनि नसक्ने अवस्था थियो । रेलको बाटो यात्रा पूरा गर्नु बाल्यकालीन उत्तरार्धको यो समयमा मेरालागि यो चुनौतिको अजंग पहाड थियो । जोगबनीदेखि पटनासम्म रात्रिकालीन बसमा र पटनादेखि दिल्लीसम्म रेलमा । काठमाण्डौँसम्म नगएको नपुगेको मानिसलाई उत्तरप्रदेशको मथुरा जिल्लामा पर्ने छाता बजार पुग्नु चानेचुने थिएन । भिनाजू टंकप्रसाद कोइरालाको आशमा पहिलोपटक देशबाहिरको यात्रा तय गरेको थिएँ । 

सम्झँदा मलाई लाग्ने दसैँ

यात्रा तय भएदेखि गन्तव्य छिचोल्दासम्म मलाई दसैँ कहाँ मनाइला ! कसरी मनाइला ! मनाइला कि नमलाइला ! कतिञ्जेल दसैँको खुशी बिना बाँच्न सकिएला ! मनमा एकोहोरो अनुत्तरित प्रश्नको एकपछि अर्को चाङ थुप्रँदै जान्थ्यो । हिँडेको तेस्रो दिन भिनाजूलाई भेटाएँ । घरपरिवारको सञ्चो बेसञ्चो र समाजका गतिविधिहरू राख्नुभन्दा पनि पहिला यहाँ दसैँ हुन्छ कि हुँदैन ? कसरी मनाइन्छ ? परदेश बसाइँको यो क्रममा मलाई आड र भरोसा दिनुहुने भिनाजूलाई सोधिरहेको हुन्थे ।

यसबेला दसैँ केवल एउटा चाडपर्व मात्र थिएन, नयाँ नाना लगाउने र मीठो मसिनो खाने विराट पर्वोत्सव थियो, परिवारबाहेक नातापाताभित्र असाधारण मिलनको केन्द्रबिन्दु थियो, बडाजनको आशीर्वाद थियो, अग्रजसँगको भेटघाटपछि प्राप्त हुने आशीर्वचन थियो, कानभरि जमरा सिउरिएपछि हातमा थमाइने द्रव्यभेटी अर्थात् दक्षिणाको संग्रह थियो । यस्तैयस्तै धेरै कुराको जोहो हुन्थ्यो ।

झापा निवासी मेरो एकजना प्रियमित्र एवम् वरिष्ठ पत्रकार मोहन काजी लेख्नुहुन्छ– कहाँ आउँछ र घुमेर, त्यो बालापनको उमेर !

स्कुललाई पनि हुने गरी बुवाले हालिदिनुभएको नयाँ नाना (हाफपेन्ट र सर्ट) को आफ्नै महत्त्व थियो । किनेर ल्याइदिएको भोलिपल्ट बिहानबिहानै आँखा मिच्दै मिच्दै दशघर गाउँ डुलेर देखाउन हिँडेको कथा थियो दसैँ ।

मामा घरबाहेकका घरमा पनि टिका लगाउन जानु अघि क–कसले कति दक्षिणा दिनुहुन्छ भनेर अनुमान लगाउँदै लगाउँदै औँला भाँची भाँची रुप्पे, आठ आना र चार आनाको अनुमान गर्दै मनमनै मुस्कुराएको सुन्दर बान्की थियो दसैँ ।

भात खान आमाले बेस्सरी बोलाउँदा पनि सुनेको नसुन्यै गरेर चिडी र भोटे भन्दै डाइसको खालमा दक्षिणामा कमाएको पैसा हारेपछि अँध्यारो मुख लगाएर घर फर्केको यथार्थसँग जीवनको हारजितको कथावस्तु थियो दसैँ । 

फेरिएको दसैँ

दसैँको यो अन्तर्य उभिएको जगमा आएको परिवर्तनपछि अहिले क–कसलाई के के याद आउँछ ? सम्झन र मनन गर्न जरुरी छ । पुरानो समयमा दसैँ मनाउने तरिका अहिलेको भन्दा निकै फरक थियो । प्रायः घरगाउँमा आधारित र गाउँघरमै केन्द्रीत, प्राकृतिक र सामूहिक स्वरूपमा दसैँ मनाइन्थ्यो ।

एकातिर ढिँकीमा चिउरा कुट्ने समयको सामूहिक उद्घोष र सामाजिक रूपमै शंखघोष हुन्थ्यो भने अर्कोतिर घरगाउँमा दसैँको तयारीस्वरुप सरसफाई हुन्थ्यो । दसैँ आउनु केही दिनअघि नै गाउँभरि, घरभरि सफाई गर्ने चलन हुन्थ्यो । मौलिक ढंगले लिपपोत आदि गरिन्थ्यो । झकिझकाउ समाज बनाउन सामुहिक जिम्मेवारीबोध हुन्थ्यो । सार्वजनिक महत्त्वका दिवालदेखि लिएर प्रत्येक घरका भित्तामा गोबर र माटोले लिपपोत गर्ने, रङ्गीचंगी चित्रहरू बनाउने चलन थियो । यी सबै महत्त्वलाई ध्यानमा राखेर दसैँ बिदा दिइने र दसैँ बिदा लिइने चलन थियो ।

नवरात्र आरम्भ भएसँगै जमरा राख्ने र पूजाआजा प्रारम्भ गर्ने गरिन्थ्यो । असोज शुक्ल प्रतिपदादेखि नै धान, मकै, जौँ आदि दाना जमिनमा वा माटोको भाँडोमा रोपेर जमरा उमार्ने प्रथा थियो । प्रत्येक घरमा घरको शोभास्वरुप गोठ हुन्थे । गोठ, आँगन र खेतबारीमा प्रतिमूर्तिस्वरुप देवी–देवताको पूजा गर्दै दसैँ सुरु हुने गर्दथ्यो । बालीघरे दर्जीले घरमै आएर कपडा सिलाउनुहुन्थ्यो । हातहतियार साँध लगाउने चलन थियो । जोगीभोगीहरू बग्रेल्ती धाउने र आउने–जाने गर्दथे । 

दसैँमा सामूहिकता चासो र जिम्मेवारीका साथ झल्कन्थ्यो । दसैँ भित्र्याउने र दसैँ मनाउने कर्मलाई गाउँमा सामूहिक रूपमा मेलापात झैँ दसैँ मनाइन्थ्यो । नजिकका आफन्त मात्र होइन, टाढाटाढाबाट आफ्नाजनहरू पनि भेटघाटका लागि बडाजनआश्रित घर फर्किन्थे । गाउँमा को आयो ? को आएन ? चियोचर्चो हुन्थ्यो । घरघरमा मालश्री धुन बजाउने र गाउने र गाउँमा वाद्यवादन, ढोल, नगारा बजाएर हर्षोल्लास प्रकट गर्ने चलन हुन्थ्यो । 

हिउँद आरम्भको संकेत पनि दसैँले नै दिन्थ्यो । नयाँ नयाँ परिकारमा खानेकुरा खाने र विशेष भोजनका रूपमा सीप शिल्पकारितासहित बनाउने र पस्कने गरिन्थ्यो । जुन कुनै आर्थिक अवस्था भएको मानिसको घरमा पनि दसैँ परिकार पाकेको हुन्थ्यो । आफ्नाआफन्त आएकै हुन्थे, समाजको मानिस जुटेको हुन्थ्यो । हुनेलाई दसैँ र नहुनेलाई दशा भनिए पनि दसैँको मुख्य आकर्षण– नयाँ अन्न, मीठा परिकार र मासु हुन्थ्यो । प्रायशः घरघरमा बोका खसी काट्ने र परिकार (खसीको मासु, सेल रोटी, ढकनी, घ्यू–चिउरा आदि) बनिन्थ्यो, बनाइन्थ्यो । शहरजस्तो बजारमा किनमेलको सहजता नभएकाले प्रायः आफ्नै स्थानीय र रैथाने उत्पादनमा आधारित पकवान बनिन्थ्यो, बनाइन्थ्यो र पाहुनालाई सत्कारसाथ खुवाइन्थ्यो । 

विजयोत्सवस्वरुप विजयादशमीका दिन टीका–जमरा थापिन्थ्यो, लगाइन्थ्यो । घरमा उपलब्ध ठूला र ज्येष्ठ व्यक्तित्वले आशीर्वादसहित टीका–जमरा लगाइदिनुहुन्थ्यो । आशीर्वचनमा अभिव्यक्ति हुने आशीर्वाद, दीर्घायू र सम्पन्नताको कामना गर्दै टिका लगाउने संस्कार पीढीगत रूपमा हस्तान्तरण हुन्थ्यो । 

दसैँ मेलापातमा पनि हुन्थ्यो र मनोरञ्जनमय हुन्थ्यो । गाउँमा पिङ (लिँगा पिङ, रोटे पिङ) हाल्ने परम्परा अनिवार्यजस्तै थियो । स्थानीय विशेषता र जातिगत समुदायका आधारमा गाउने, नाच्ने, देउसी–भैलो गर्ने, लाठे खेल्ने प्रचलन थियो । छिमेक र आफन्तबीच मेलमिलाप र भलाकुसारी हुने अवसर पनि यही चाडमा पाइन्थ्यो । वर्षभरिको थकान मेट्नेदेखि बिग्रिएको सम्बन्धलाई सुधार्ने र पूनर्जीवन प्रदान गर्ने अवसरका रूपमा दसैँलाई लिइन्थ्यो । 

दसैँ मनाइरहँदा यसभित्र लुकेको सामूहिकता, स्वदेशी उत्पादनमा आधारित वस्तुको उपयोग, परम्परागत संस्कृति र धार्मिक विधिसँग जोडिएको हाम्रो जीवन व्यवस्थापन, प्राकृतिक सहिष्णुता र आत्मीय भावनाले भरिपूर्ण चाड थियो दसैँ । 

फेरिँदै यो दसैँ

परदेशी भएको कुनै सन्तान पनि दसैँमा घर फर्किनैपर्ने, आफ्नाआफन्तकहाँ जानुपर्ने मान्यता फितलो भएको छ । गोबर–माटोले लिपपोत, कमेरो माटोको सहाराले रङ्गीचंगी चित्र बनाउने, घरआँगन सफा गर्ने चलनले प्रतिनिधित्व गर्ने दसैँ अहिलेको दसैँ सिमेन्ट र टायल्सको घरमा आएसँगै पेन्ट गर्ने वा सजावटका सामान खरिद गर्नेमा परिणत भएको छ ।

आफ्नै श्रम र आफ्नै खेतको धान–मकै–जौँ रोपेर जमरा उमार्ने प्रचलन रहेको यथार्थपरक दसैँ अहिले शहरबजारमा यसको सजिलोको लागि मकै वा केही दाना मात्र रोप्ने र कतिपयले यसलाई पनि बजारमै किन्नेमा आइपुगेको छ । आफ्नै खेतमा श्रमपछि उत्पादित धान, मकै, तरकारी आदि खाने र खसी बोका पालेर काट्ने चलन रहेको दसैँ बजारिया भएको छ । मासु, तरकारी, चामल, मिठाई खरिद गर्ने चलन बढेको छ । 

पैदल हिँडेरै वा बैलगाडी र घोडा चढेर टाढा–टाढा घर फर्किने, पुग्ने दसैँ अहिले सहज भएको छ । कतिपय ठाउँमा बस, मोटरसाइकल, कार, विमानजस्ता साधन प्रयोग हुने भएकाले शहर–गाउँ आवतजावत सजिलो भएको छ । 

आयू द्रोर्ण सुते ... जयन्ती मंगला काली ... जस्ता कालजयी संस्कृत श्लोक उच्चारणसहित अग्रज, बडाजन र ज्येष्ठसमक्ष आशीर्वाद लिँदै दिँदै टिका लगाइदिने प्रचलनबाट हुर्किएको दसैँ अहिले दीर्घायू होओस्, समृद्धि होओस् आदि भनेर कतिपयको हकमा त परिवारमा सीमित हुन पुगेको छ । 

पिङ हाल्ने, पिङ खेल्ने, देउसी–भैलो, लोकगीत, लाठे खेल, सामूहिक नाचगानसहित मनोरञ्जनपूर्ण रहने दसैँ अहिले मोबाइल र इन्टरनेटमार्फत गीत–संगीत, टेलिभिजन कार्यक्रम, कन्सर्ट, घुमफिर आदिमा सीमित हुन पुगेको छ । 

प्रविधिमा पहुँच बढेसँगै भित्रिएको तडकभडक र देखासिकीका कारण आफ्नै उत्पादनमा आधारित रहने हुनाले कम खर्चिलो हुने दसैँ अहिले बजारमा महंगो किनमेल, नयाँ लुगा, गहना, गाडी, इलेक्ट्रोनिक्स आदि उपहार आदानप्रदानमा खर्चिलो बन्न पुगेको छ । यसरी हेर्दा हिजो हामीले मनाएको दसैँ आत्मनिर्भर, सामूहिक र धार्मिक–सांस्कृतिक केन्द्रीत थियो भने आज परिस्कृत हुँदै आउदा फेरिएको दसैँ अलिकबढी बजारमुखी, आधुनिक र व्यक्तिगत–सुखसुविधा केन्द्रीत भएको छ । नियन्त्रण र सन्तुलनमा ध्यान दिइएन भने खर्चिलो भएकै कारण दसैँ दशा बन्ने र यसको मर्मस्पर्शी महत्त्व र महिमा पनि सकिने हो कि भन्ने खतरा पनि सँगसँगै विकास भएको छ ।

आ–आफ्नो गच्छेअनुसार दसैँ मानौँ र मनाऔँ अपिलसहित सम्बद्ध सबैलाई हार्दिक शुभकामना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

युवराज बास्कोटा
युवराज बास्कोटा
लेखकबाट थप