शङ्कास्पद गाडी तेर्स्याइनु लोकतन्त्रका लागि शुभसंकेत होइन: बाबुराम भट्टराई
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सञ्चारमाध्यम, प्रतिपक्षी दलका नेताको निवास र व्यवसायीका कार्यस्थलअगाडि शङ्कास्पद गाडी राख्नु लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् ।
- भट्टराईले यो कार्य सरकार पक्षबाट भएको भए लोकतन्त्रको घाँटी रेट्ने दुष्प्रयत्न भएको र यदि यो कुनै अदृश्य शक्तिको षड्यन्त्र हो भने सबै एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
- देश लोकतान्त्रिक स्थिरता र समृद्धितिर गइरहेका बेला राजनीतिक द्वन्द्व र अस्थिरताका बादल मडारिनु लोकतान्त्रिक गणतन्त्रका लागि राम्रो नभएको उनको भनाइ छ ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सञ्चारमाध्यम, प्रतिपक्षी दलका नेताको निवास तथा व्यवसायीका कार्यस्थल अगाडि नियोजित रूपमा शङ्कास्पद गाडीहरू राख्नु देशको लोकतान्त्रिक स्थिरता र समृद्धिका लागि शुभसंकेत नभएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस घटनाको गहिराइमा पुगेर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न सरकार तथा सरोकारवालाहरूसँग माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्, ‘प्रमुख सञ्चार माध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी(व्यवसायीका कार्यस्थल अगाडि नियोजित रूपले शङ्कास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो, त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरुरी भएको छ । ’
उनले यदि यो कार्य सरकार पक्षबाट गरिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुष्प्रयत्न भएको उल्लेख गर्दै त्यसको विरुद्ध सबै दल र जनसमुदाय एकताबद्ध भई सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन् । अर्कोतर्फ, यदि यो नयाँ निर्वाचित सरकारलाई बदनाम गर्ने र दलहरूबिच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो भने सरकार, प्रतिपक्षी दल र आम जनता एकजुट भएर त्यस्ता कुतत्वलाई बेनकाब र परास्त गर्नुपर्ने उनको धारणा छ ।
देशले लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धि खोजिरहेको बेला पुनः राजनीतिक द्वन्द्व र अस्थिरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुखसमृद्धिका लागि पटक्कै राम्रो संकेत नभएको भट्टराईले उल्लेख गरेका छन् । उनले राज्यपक्षलाई विशेष जिम्मेवार बन्न र घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न आग्रह समेत गरेका छन् ।
सोमबार राजधानीका तीन प्रमुख सञ्चारमाध्यमहरु कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटैमा तथा नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शङ्कास्पद रूपमा सवारी साधनहरू पार्किङ गरिएका फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण