बैंककमा भव्य रूपमा मनाइयो भानु जयन्ती, ‘भानु–२०८३’ सहित ४ साहित्यिक कृतिको लोकार्पण
सारांश
- थाइल्यान्डको बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ ।
- कार्यक्रममा ‘भानु–२०८३’ स्मारिका सहित चार साहित्यिक कृतिको संयुक्त लोकार्पण गरियो ।
- विभिन्न उमेर समूहका कविता प्रतियोगिता, खुला कविता प्रतियोगिता, कविता वाचन र पुस्तक लोकार्पण कार्यक्रमका मुख्य आकर्षण थिए ।
काठमाडौँ। नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ । नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्यान्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा ‘भानु–२०८३’ विशेष स्मारिका (कृति) सहित चार साहित्यिक कृतिको संयुक्त लोकार्पण गरिएको छ ।
कार्यक्रममा थाइल्याण्डभर रहेका करिब २५० भन्दा बढी नेपाली समुदायका सदस्य, साहित्यकार, बुद्धिजीवी, विद्यार्थी, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको थियो । नेपाली राजदूतावाससँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्ड, थाई नेपाली संघ, पीपुल अफ नेपाली ओरिजिन (पीएनओ), थाई नेपाली फ्रेन्डसिप एसोसिएसन, मगर गुरुङ संघ, तामाङ समाज, नेवार संघ, किराँत साहित्यिक तथा सांस्कृतिक समाज, नेपाल एयरलाइन्सलगायतका संस्थाको सहकार्यमा लगातार तेस्रो वर्ष भानु जयन्तीलाई उत्सवका रूपमा मनाइएको हो ।
कार्यक्रमको उद्घाटन थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी नेपाल र थाइल्यान्ड दुवै देशको राष्ट्रिय गान प्रस्तुतसँगै गरेका थिए । कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष मुन गुरुङले स्वागत मन्तव्य राख्दै भानु जयन्तीले प्रवासमा रहेका नेपालीलाई भाषा, साहित्य र संस्कृतिको साझा सूत्रमा बाँध्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताए ।

यस वर्षको कार्यक्रममा विभिन्न उमेर समूहका कविता प्रतियोगिता, खुला कविता प्रतियोगिता, कविता वाचन, वरिष्ठ साहित्यकारद्वारा सिर्जना वाचन, पुस्तक लोकार्पण तथा ‘वर्ष व्यक्तित्व–२०८३’ सम्मान मुख्य आकर्षण बने । प्रतियोगिताका लागि प्राप्त करिब ८० मौलिक कवितामध्ये उत्कृष्ट रचनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरी साहित्यिक गुणस्तर, मौलिकता, भाषा, भाव, प्रस्तुति र वाचनकलाका आधारमा मूल्याङ्कन गरिएको थियो ।
६ देखि १२ वर्ष उमेर समूहमा सन्जना सुतार प्रथम, बिन्दिया बराल द्वितीय तथा अस्मिता खड्का तृतीय भए भने १३ देखि २० वर्ष समूहमा गोमा बुढाथोकी प्रथम, फूलप्रसाद ओझा द्वितीय तथा ज्योति पोखरेल तृतीय स्थान हसिल गरे । खुला कविता प्रतियोगितामा राहुल भट्टराई प्रथम, रिना खड्का द्वितीय तथा केशव आचार्य तृतीय भए भने कविता वाचन प्रतियोगितामा सन्दीप कार्की प्रथम, रोहन सुवेदी द्वितीय र आकाश गुरुङ तृतीय भए । विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार थाई भाट नगदसहित सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा ‘भानु–२०८३’ स्मारिका, कवयित्री रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’, कवि तिलक पोखरेलको ‘आनन्द उपहार’ तथा कृष्ण प्रसाईंको ‘घामको वर्षा’ संस्करण संयुक्त रूपमा लोकार्पण गरिएको थियो । साथै थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीद्वारा रचित गीत ‘त्यहीँ हुन्छ नेपाल’ पनि सार्वजनिक गरिएको थियो । ‘भानु–२०८३’ मा थाइल्यान्डस्थित नेपाली स्रष्टाका कविता, नेपाली समाजको इतिहास तथा विविध साहित्यिक सामग्री समेटिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत धनबहादुर वलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई साझा सम्पर्क भाषाका रूपमा स्थापित गर्न खेलेको ऐतिहासिक भूमिकाको स्मरण गरे । उनले भानु जयन्ती विश्वभर छरिएका नेपालीलाई भाषा, संस्कृति र राष्ट्रिय पहिचानको साझा सूत्रमा जोड्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, मातृभाषा र संस्कृतिसँग जोडेर राख्नु सम्पूर्ण नेपाली समुदायको साझा दायित्व भएको बताए।
एनआरएनए एसिया–प्यासिफिकका डीआरसी तथा एनआरएनए थाइल्यान्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेतले नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा प्रवासी नेपाली समुदायको एकता नै सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पुस्तान्तरण हुँदै गएको नेपाली पहिचानलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, साहित्यकार, स्वयंसेवक, प्रायोजक तथा सहभागी सबैप्रति आभार व्यक्त गरे ।
एनआरएनए पीएनओका संयोजक तथा थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीले भानु जयन्ती केवल औपचारिक समारोह नभई प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जीवन्त राख्ने साझा अभियान भएको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, नेपाली समुदाय तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित कार्यक्रम आयोजना गरिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण