मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

शङ्कास्पद पार्किङ गरिएका ५ वटा गाडी जरिवाना गरेर चालकको जिम्मा

सोमबार, २९ असार २०८३, २२ : २५
सोमबार, २९ असार २०८३

सारांश

  • शङ्कास्पद रूपमा पार्किङ गरिएका ५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना गरेर चालकको जिम्मा लगाएको छ ।
  • कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको घरको गेट तथा अनामनगरस्थित भाटभटेनी सुपर मार्केटमा शङ्कास्पद पार्किङ गरिएको थियो ।
  • अनधिकृत पार्किङ गरिएका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार जरिवाना गरिएको छ ।

काठमाडौँ । शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारी साधनलाई जरिवाना गरेर ट्राफिक प्रहरीले चालकको जिम्मा लगाएको छ । सोमबार कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको घरको गेटमा शङ्कास्पद रूपमा गाडी पार्किङ गरेर छाडिएको थियो । अनामनगरस्थित भाटभटेनी सुपर मार्केटमा पनि गाडी पार्किङ गरेर छाडिएको थियो ।

अनधिकृत रूपमा पार्किङ गरिएका गाडीलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याएर राखेको थियो । साँझ जरिवाना गरेर ५ वटै गाडीहरू सवारी धनी र चालकको जिम्मा लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘चिट काटेर ५ वटा गाडी चालकलाई जिम्मा लगाइएको छ ।’

भाटभटेनीमा अनधिकृत रूपमा पार्किङ गरिएको बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी नीराजन पराजुलीले जिम्मा लिएर लगेका छन् । साँझ ६ बजेर ३० मिनेटमा उनले गाडी जिम्मा लिएर गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिए । ती अधिकृतले भने, ‘मिडिया हाउस र गगन थापाको घर अगाडी अनधिकृत पार्किङ गरिएका गाडीहरूलाई जरिवाना गरेर पठाइएको छ ।’

अनधिकृत रूपमा पार्किङ गरेको सवारी साधनलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार जरिवाना गरेको छ । सो कसुरमा अरूलाई बाधा पुग्ने गरी सार्वजनिक स्थलमा सवारी पार्किङ गरेमा जरिवाना गर्न सक्ने व्यवस्था छ ।

शङ्कास्पद पार्किङ गरेको बाहेक सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गर्ने थप ९ वटा सवारीका चालकलाई जरिवाना गरेको छ । पहिलो पटक कारबाहीमा परेकाले ५ सय, दोस्रो पटक परेकाले १ हजार र तेस्रो पटक कारबाहीमा परेकाले १५ सय जरिवाना तिर्नुपर्छ ।

मिडिया हाउसका अगाडी किन पार्किङ गरियो भन्नेबारे ट्राफिक प्रहरीले आफ्नो कार्यक्षेत्र नपरेको हुनाले अनुसन्धान नगरेको अधिकृतहरू बताउँछन् । त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

अनलाइन खबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ ।

कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानिमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ ।

हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा.१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको यातायात व्यवस्था विभागका एक जना अधिकृतले बताए । सो अटो मोटिभ्सको ठेगाना धुम्बाराही काठमाडौँ उल्लेख छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप