नेपालमा लोकप्रियतावाद : जनताको नाममा अराजकता
सारांश
- लोकप्रियतावाद जनताको नाममा सत्ता प्राप्त गर्ने राजनीतिक प्रवृत्ति हो, जसले भावना र असन्तुष्टिलाई आधार बनाउँछ।
- लेखमा नेपालमा केपी शर्मा ओली, रवि लामिछाने र बालेन शाहको लोकप्रियतावादी शैलीको चर्चा गरिएको छ, जसले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाएको छ।
- लेखमा लोकप्रियतावादको अन्त्य लोकतन्त्रको संस्थागत क्षयीकरणमा हुने र यसबाट बच्न इमानदार नेतृत्व, संविधानको पालना र नागरिक सचेतना आवश्यक रहेको उल्लेख छ।
लोकप्रियतावाद जनताको नाममा सत्ता प्राप्त गर्ने, भावना र असन्तुष्टिलाई आधार बनाउने राजनीतिक प्रवृत्ति हो । यसको मूल सोच ‘सफा जनता बनाम भ्रष्ट अभिजात वर्ग’ हो । लोकप्रिय नेताहरू जनताको पीडा र राष्ट्रप्रेमलाई भावनात्मक भाषामा प्रस्तुत गर्छन् र संस्थागत नियमभन्दा ‘जनताको इच्छा’लाई अगाडि राख्छन् ।
यसले जनताको आवाज सुन्ने अवसर दिन्छ र पुरानो राजनीतिलाई चुनौती दिन्छ । तर भावना र व्यक्तिपूजाले लोकतान्त्रिक संस्था कमजोर बनाउँछ । यो जनभावनाबाट जन्मिन्छ तर संस्थागत मर्यादा नमान्दा लोकतन्त्र नै संकटमा पर्न सक्छ ।
तर यही पवित्र नारा पछिल्ला वर्षहरूमा ‘पपुलिजम’ अर्थात् ‘लोकप्रियतावाद’को नाममा विकृत हुँदै गएको छ । लोकप्रियतावादले जनताको असन्तोष, निराशा र भावनालाई साधन बनाउँछ । तर्क, नीति र संस्थालाई होइन, यस्तो प्रवृत्तिमा नेता आफैँ राष्ट्रको प्रतीक बन्न खोज्छ, संविधान र संस्थाभन्दा माथि उभिन्छ । फलस्वरूप, लोकतन्त्रका मेरुदण्ड विचार, विवेक र संस्थागत संरचना क्रमशः क्षीण हुँदै जान्छन् ।
विश्व नै लोकप्रियतावादको गोलचक्करमा
सन् २०१० पछि विश्व राजनीतिमा लोकप्रियतावादको एक प्रकारको सुनामी आयो । अमेरिकामा डोनाल्ड ट्रम्पले ‘मे अमेरिका ग्रेट अमेरिका’ को नारा दिएर सत्तामा पुगे । तर संस्थामाथि विश्वास तोड्दै संसद् आक्रमणसम्मका घटना घटे । ब्राजिलका बोल्सोनारोले ‘एलिट विरोधी राष्ट्रवाद’ का नाममा वातावरण र प्रशासनिक संस्थाको क्षति गरे ।
भारतका नरेन्द्र मोदीले ‘हिन्दु गौरव’ को भावना प्रयोग गरी धार्मिक ध्रुवीकरणलाई राजनीतिक लाभमा रूपान्तरण गरे । हंगेरीका भिक्टर ओर्बान र फिलिपिन्सका रोड्रिगो डुटर्टेले मिडिया नियन्त्रण र विपक्षको दमनमार्फत जनमतलाई दिग्भ्रमित पारे ।
यी सबैमा साझा लक्षण एउटै छ, जनताको नाममा सत्ता केन्द्रित गर्ने, भावनामार्फत विवेकमाथि प्रभुत्व जमाउने र संस्थालाई कमजोर पार्ने प्रवृत्ति ।
नेपालमा लोकप्रियतावाद
केपी शर्मा ओली : राष्ट्रवादको आवरण
नेपालमा लोकप्रियतावादको पहिलो सशक्त रूप केपी शर्मा ओलीसँगै देखा पर्यो । नाकाबन्दीको संकटमा उनले भारतविरोधी राष्ट्रवादलाई राजनीतिक पुँजी बनाए । ‘स्वाभिमान र सार्वभौमसत्ताको नारा’ बोकेर उनी नायकको रूपमा उदाए ।
तर त्यो राष्ट्रवाद विचारभन्दा बढी प्रचारमा आधारित थियो। ‘रामको जन्मस्थान ठोरीमा छ’ वा ‘शिव चामलिङका देवता हुन्’ जस्ता वक्तव्यहरूले धार्मिक मिथक र सांस्कृतिक भावनालाई राजनीतिमा मिसाउने प्रयास गरे ।
लिपुलेकको विवादमा कूटनीतिक संवादभन्दा नाराबाजीलाई प्राथमिकता दिँदै उनले अन्तर्राष्ट्रिय कूटनीतिक संयमता भन्दा लोकप्रिय भावनाको सहारा लिए । संसद् दुई पटक भङ्ग गरेर न्यायालय र संसद्सँग टकराव गरे । उनको शैलीमा नीति होइन, प्रचार हाबी रह्यो, जसले संस्थागत लोकतन्त्रलाई दुर्बल बनायो । यसरी ओलीले नेपालमा लोकप्रियतावादको बीउ रोपे, जसबाट आजका नयाँ रूपहरू उम्रिरहेका छन् ।
रवि लामिछाने : ‘इमानदार’ नाराको भावनात्मक राजनीति
ओलीपछिको लोकप्रियतावादको दोस्रो अध्याय रवि लामिछानेसँग जोडिन्छ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनले ‘इमानदार राजनीति’ र ‘दलहरू सबै बिग्रेका छन्’ भन्ने नारा दिए । यो नारा जनताको असन्तोषको स्वर थियो, तर त्यसमा नीति भन्दा बढी भावनात्मक आवेग मिसिएको थियो । सत्तामा पुगेपछि उनले आलोचना सहन नसक्ने प्रवृत्ति देखाए । मिडिया, न्यायपालिका र प्रशासनसँग टकराव गरे ।
संविधानले तोकेको सन्तुलनलाई ‘जनताको विरोध’ भनेर अस्वीकार गर्ने र आफूलाई नै ‘जनताको स्वरूप’ ठान्ने सोच लोकप्रियतावादकै परिचायक हो । उनको लोकप्रियता पारदर्शिताभन्दा बढी उग्र शैली र भावनात्मक संवादमा टिकेको छ । तर संस्थागत स्थायित्व र नीतिगत संयमताविना त्यो लोकप्रियता क्षणिक बन्ने सम्भावना बढेको छ।
बालेन शाह : व्यवस्था विरोधको सांकेतिक विद्रोह
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लोकप्रियतावादको नयाँ प्रतीक बने । उनको विजयले पुराना दलहरूप्रतिको आक्रोशलाई अभिव्यक्ति दियो । तर शासनशैलीमा पनि लोकप्रियतावादी तत्व स्पष्ट देखिन्छ ।
कसैसँग समन्वय नगर्ने, मिडियालाई अविश्वसनीय ठहराउने र आफूलाई मात्र ‘सही र इमानदार’ ठान्ने प्रवृत्ति । लोकतन्त्रमा व्यक्ति होइन, संस्था र प्रक्रिया प्रधान हुन्छन् । बालेनले जनताको भावनालाई सम्बोधन गरे, तर संस्थागत संयम र प्रक्रियागत विधिको बेवास्ता गरेर लोकप्रियतावादको नयाँ अध्याय सुरु गरे ।
जेनजी विद्रोह : डिजिटल लोकप्रियतावाद
आजको नेपालमा जेनजी विद्रोह लोकप्रियतावादको डिजिटल रूप हो । टिकटक, युट्युब र फेसबुकमा ‘सिस्टम नै फालौँ’, ‘सबै पुराना बिग्रिएका छन्’ जस्ता नाराहरूले तातो लहर पाएका छन् । यो असन्तोष स्वाभाविक भए पनि यसको स्वरूप भावनात्मक प्रतिक्रियामा आधारित छ, समाधानमुखी होइन ।
जेनजी पुस्ता परिवर्तन खोज्दैछ, तर त्यसका औजारहरू नारा, भिडियो र भिड हुन्, तर्क, नीति र दृष्टिकोण होइन । यसले राजनीतिक चेतनाभन्दा बढी डिजिटल भिडको मनोविज्ञान निर्माण गरिरहेको छ । जहाँ विवेकभन्दा ह्यासट्याग र दृश्य प्रभाव हाबी हुन्छ । यो पुस्ता व्यक्तिमुखी नायक खोज्ने मानसिकतामा विकसित हुँदैछ, जुन लोकप्रियतावादकै मनोवैज्ञानिक विस्तार हो ।
परिणाम
लोकप्रियतावादको अन्त्य प्रायः एउटै ढाँचामा हुन्छ, त्यो लोकतन्त्रको संस्थागत क्षयीकरण । संविधानभन्दा ठुलो नेता, विधिभन्दा ठुलो भावना र मिडिया तथा विपक्षमाथि आक्रमण यसका विशेषता हुन् । नेपालमा पनि यही संकेत देखिँदैछ ।
ओलीको कृत्रिम राष्ट्रवाद, रविको भावनात्मक इमानदारी र बालेनको व्यवस्था विरोधी शैली । यी सबैले मिलेर लोकतान्त्रिक संरचनामाथि अघोषित चुनौती सिर्जना गरेका छन् । जनताको असन्तोषलाई समाधान गर्न होइन, ‘मात्र म ठीक छु’ भन्ने दम्भमा रूपान्तरण गरिएको छ । दीर्घकालमा यस्तो अवस्था संवैधानिक अराजकताको ढोका खोल्न सक्छ ।
अबको बाटो
लोकतन्त्रलाई लोकप्रियतावादको जालबाट बचाउन तीन आधार अनिवार्य छन् ।
-नेतृत्व इमानदार मात्र होइन, विचारशील, विवेकशील र संस्थामुखी हुनुपर्छ ।
-संविधानको पालना, संसद, न्यायपालिका र मिडियाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्छ ।
-नागरिकले भावनाभन्दा बढी विचार, नीति र दृष्टिकोणमा आधारित निर्णय गर्न सक्षम हुनुपर्छ ।
त्यसैले लोकप्रियतावाद त्यहीँ बढ्छ, जहाँ निराशा, अविश्वास र मौनता हुन्छ । सचेत नागरिकको मौनता नै लोकप्रियतावादको आधार हो ।
विश्वका धेरै देशले यसको क्षणिक चमत्कार र दीर्घकालीन क्षति भोगिसकेका छन् । ट्रम्प विश्वमा एक्लिँदैछन् । बोल्सोनारो हटे । डुटर्टे ओझेलमा परे । जेलेन्स्की युद्धको राजनीतिक भार व्यहोर्दैछन् । नेपालमा ओलीले यसको जग बसाले, रविले त्यसलाई ‘इमानदार क्रान्ति’को नाम दिए, बालेनले ‘नयाँ पुस्ताको विद्रोह’का रूपमा पुनर्जन्म दिए र जेनजीले त्यसलाई डिजिटल आवेगको ब्यानरमा बोकेको छ ।
तर लोकप्रियतावाद सही विकल्प होइन । यो भावनाको आगोमा जलेको फुलझडी जस्तै हो, क्षणभर चम्किन्छ, अन्ततः निभ्छ ।
नेपाललाई अहिले चाहिएको लोकप्रियतावाद होइन, उत्तरदायित्व र दृष्टिकोणसहितको नेतृत्व, सही नीति र संस्थागत दृढता हो । लोकप्रियतावादको भविष्य क्षणिक हुन्छ, तर त्यसले लोकतन्त्रलाई जलाएर खरानी बनाउन सक्छ । त्यसैले देशको भविष्य लोकप्रियतावाद होइन, विचार, नीति र विवेकको राजनीतिले निर्धारण गरोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण