सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिहारको पाँचौँ दिनः विधिपूर्वक गरियो गाई पूजा

बुधबार, ०५ कात्तिक २०८२, १२ : ०६
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • आज तिहारको पाँचौँ दिनमा गाईको विधिपूर्वक पूजा आराधना गरिएको छ, जुन वैदिक सनातन कालदेखि चल्दै आएको परम्परा हो।
  • गाईलाई माताको रूपमा पूजा गर्ने चलन छ र गाईको दूध स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ, जसलाई आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ।
  • आज गाईको पूजा गर्नाले र गाईको पुच्छरमा रक्षाबन्धन बाँध्नाले मृत्युपछि स्वर्ग जान पाइने धार्मिक विश्वास छ।

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैले गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा रक्षाबन्धनको डोरो पनि बाँधिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप