शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संयुक्त राष्ट्रसङ्घले ‘काम गर्न छोडेको छ’ : ब्राजिलका राष्ट्रपति लुला

शनिबार, ०८ कात्तिक २०८२, १९ : ४६
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले संयुक्त राष्ट्रसङ्घ निष्क्रिय भएको आरोप लगाए।
  • उनले गाजा युद्धपीडितको संरक्षणमा असफल भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई मानवताको पक्षमा उभिन आग्रह गरे।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति व्यंग्य गर्दै लुलाले नोबेल पुरस्कारभन्दा नेताको हैसियत महत्त्वपूर्ण रहेको बताए।

क्वालालम्पुर । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले शनिबार संयुक्त राष्ट्रसङ्घ (युएन) र अन्य बहुपक्षीय संस्थाहरूले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने कठोर टिप्पणी गर्दै गाजाका युद्धपीडितहरूको संरक्षणमा असफल भएको आरोप लगाएका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लुलाले भने– ‘गाजा पट्टीमा यति लामो समयदेखि भइरहेको नरसंहारलाई कसरी स्वीकार गर्न सकिन्छ ? ती संस्थाहरू, जसलाई यस्ता अत्याचार रोक्नका लागि स्थापना गरिएको थियो, आज निष्क्रिय बनेका छन् । संयुक्त राष्ट्रसङ्घ र यसको सुरक्षा परिषद् अब काम गर्दैनन् ।’

उनले मलेसियासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे र अन्तर्राष्ट्रिय समुदायले मानवताको पक्षमा ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उक्त अवसरमा राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति समेत व्यङ्ग्य गर्दै भने, ‘एकजना नेताका लागि नोबेल पुरस्कारभन्दा टाउको उठाएर हिँड्न सक्नु धेरै महत्त्वपूर्ण कुरा हो ।’

ट्रम्प हाल एसियाली भ्रमणमा रहेका छन् । उनले आफ्नो भ्रमणको अन्तिम दिन बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्नेछन् । यसअघि, उनी आइतबार थाइल्यान्ड र कम्बोडियाबिच हुने शान्ति सम्झौतामा हस्ताक्षर साक्षी बन्ने अपेक्षा गरिएको छ, जसमा अमेरिकी मध्यस्थता रहेको बताइएको छ ।

नर्वेको नोबेल समितिले भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई यस वर्षको शान्ति पुरस्कार प्रदान गरेपछि ट्रम्पलाई बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले असन्तोष जनाएको थियो ।

जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि ट्रम्पले आफूले विश्वका धेरै द्वन्द्वहरू समाधान गर्न योगदान दिएको भन्दै नोबेल पुरस्कारको योग्य भएको दाबी गर्दै आएका थिए । यद्यपि विश्लेषकहरूले त्यसलाई अतिरञ्जित ठानिरहेका छन् ।

यसबिच ट्रम्प र लुलाबिच पछिल्ला महिनाहरूमा सम्बन्ध पुनःस्थापनाको सङ्केत देखिएको छ । दुवै नेताबिचको सम्बन्ध अघिल्लो वर्षका तिक्त घटनाहरूका कारण तनावपूर्ण बनेको थियो—विशेषतः ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको मुद्दा र सजायका विषयमा । ट्रम्पले बोल्सोनारोप्रति सहानुभूति देखाएपछि लुला प्रशासनसँगको सम्बन्ध बिग्रिएको थियो ।

ट्रम्प प्रशासनले ब्राजिलका धेरै उत्पादनमा ५० प्रतिशत कर वृद्धि गरेको थियो र ब्राजिलका सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।

सेप्टेम्बरमा ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि गरिएको असफल ‘कू प्रयास’ मा संलग्नताको आरोपमा २७ वर्षको जेल सजाय सुनाएको थियो ।

तर संयुक्त राष्ट्र महासभाको साइडलाइनमा दुवै ७९ वर्षीय नेताहरूबिच भएको छोटो भेटपछि सम्बन्ध पुनः सामान्य बन्दै गएको देखिन्छ । त्यसयता उनीहरूले अक्टोबर ६ मा टेलिफोन वार्ता गरेका थिए र आसन्न आसियान शिखर सम्मेलनमा प्रत्यक्ष भेट हुने सम्भावना रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप