शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पार्टी एकीकरण ‘खेलौना’ होइन, गम्भीर र महत्त्वपूर्ण विषय हो’

एकीकृत समाजवादीको चारवर्षे यात्राको समीक्षा आवश्यक : झलनाथ खनाल
बुधबार, १२ कात्तिक २०८२, १२ : ४१
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • झलनाथ खनालले चार वर्षअघिको विद्रोहको औचित्यमाथि प्रश्न उठाएका छन्।
  • उनले वाम एकता कार्यगत तहमा हुनुपर्ने बताएका छन्, सबै वामपन्थीहरू एकताबद्ध हुनुपर्छ भन्ने उनको धारणा छ।
  • खनालले पार्टी एकीकरणलाई गम्भीर विषयका रूपमा लिनुपर्ने र विद्रोहलाई पुष्टि गर्नुपर्ने बताए।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चार वर्षअघि नेकपा एमालेबाट गरिएको विद्रोहको औचित्य माथि प्रश्न उठाएका छन्। खनालले अहिलेको अवस्थामा सबैभन्दा ठुलो प्रश्न चार वर्षअघि विद्रोह किन गरियो, त्यसको उद्देश्य के थियो र त्यो उद्देश्य पूर्ति भयो कि भएन भन्ने रहेको बताएका हुन्। 

पार्टीको केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘उद्देश्य पूर्ति भयो भने विद्रोह ठिकै होला र पूर्ति भएन भने त विद्रोह नै ठिक हो कि होइन भन्ने प्रश्न उठ्छ अब। ’ उनले यस प्रश्नको जवाफ पार्टीले खोज्नुपर्नेमा जोड दिए।

वाम एकता कार्यगत तहमा
नेता खनालले आफू पहिलेदेखि नै सम्पूर्ण वामपन्थीहरू एकताबद्ध हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे। उनले दुईवटा वामपन्थी मात्र एकीकृत भएर नपुग्ने भन्दै सबै वामपन्थी एक हुनुपर्ने र अहिलेको चरण कार्यगत एकता रहेको बताए।

उनी भन्छन्, ‘सबै विचारमा, नीतिमा, सिद्धान्तमा, सङ्गठनमा, सबै कुरामा एकीकरण भयो, एउटै समानता भयो भने चाहिँ एकीकृत हुनुपर्छ। तर, हामीले यो चार वर्षको यात्राको जुन समीक्षा गरेका छैनौँ, किन विद्रोह गरेका थियौँ?’ उनले कार्यगत एकताका लागि मैदान खुल्ला रहेको र कसैले पनि यसलाई रोक्नु नहुने बताए।

खनालले पार्टी एकीकरणलाई ‘खेलौना’ नभई गम्भीर र महत्त्वपूर्ण विषयको रूपमा लिनुपर्ने बताए। उनका अनुसार एकीकरण हुन वैचारिक कुरा, राजनीतिक कुरा, सङ्गठनात्मक कुरा, कार्यदिशा लगायत सम्पूर्ण नीति, सिद्धान्तमा एकरूपता हुनुपर्छ र त्यही अनुसारको पार्टीभित्र पनि एकताको स्थिति हुनुपर्छ। यी सबै कुरा मिलेमा मात्र एकीकरण सम्भव हुने उनको धारणा छ।

उनले आफ्नो पार्टीले चार वर्षको अवधिमा गरेको विद्रोहलाई पार्टी नेतृत्वले पुष्टि गर्ने काम नगरेको आरोप लगाए। ‘विद्रोहलाई पुष्टि गर्ने काम हाम्रो लिडरसिपले गरेकै छैन। पुष्टि भएकै छैन। पुष्टि हुँदा नहुँदै अनि अर्कोतिर जाने स्थिति बन्यो भने, त्यो विद्रोह किन गरेको भन्ने प्रश्न उठ्छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप