बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिमको पीडा

दिनरात हात्तीको त्रास

बिहीबार, १३ कात्तिक २०८२, ०६ : ३६
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • कञ्चनपुरको लालझाडी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
  • हात्तीको डरले स्थानीयवासी साँझ परेपछि घरबाट निस्कन डराउँछन् र कृषिमा ठूलो क्षति भएको छ।
  • स्थानीय बासिन्दाहरूले हात्तीबाट बचाउनका लागि विद्युतीय तारबार, बत्ती र उद्धार टोलीको माग गरेका छन्।

धनगढी । कञ्चनपुरको दक्षिणी सिमानामा रहेको लालझाडी गाउँपालिका–४, जाईखल्ला गाउँका २८ वर्षीय रामकिशन रानाले गत वर्षमात्रै आफ्ना बुवा रामदललाई जंगली हात्तीको आक्रमणमा गुमाए । गत वर्ष असोज १३ को त्यो रात जाईखल्लाका लागि भयावह थियो ।

करिब ८ बजेको समय गाउँको उखुबारीमा हात्ती पसेको खबरले कोलाहल मच्चियो । आफ्नो बाली र ज्यान जोगाउन गाउँलेहरू एकजुट भए । हातमा टर्च, आगोको राँको र ड्रम, जर्किन, थालजस्ता जे भेटिन्छ, त्यही बजाउँदै ५५ जनाको समूह हात्ती धपाउन निस्कियो । एकपटक त उनीहरू सफल पनि भए । त्यो सफलता क्षणिकमात्र थियो । केहीबेरमै त्यो हात्ती पहिलेभन्दा बढी आक्रमक भएर फर्कियो ।

त्यही क्रममा मच्चिएको भागदौडमा ५९ वर्षीय रामदल त्यो जंगली जनावरको निशानामा कुनबेला परे भन्ने कसैले पत्तै पाएन । हात्तीले आफ्नो सुँडले फनफनी घुमाउँदै उनलाई भुइँमा पछार्‍यो । केहीबेरपछि भिड शान्त हुँदा रामदल त्यहाँ थिएनन् । एकातिर हात्ती फर्किने डर, अर्कोतिर आफ्नो साथी हराएको पीडाले गाउँलेहरूलाई बेचैन बनायो । रातभरि खोज्दा पनि उनी भेटिएनन् । भोलिपल्ट बिहान सात बजे प्रहरी र स्थानीयको टोलीले खोज्दा उखुबारीमा उनको शव भटियो ।

‘बुवाको मुखबाट रगत बगेको थियो, छाती र कम्मरमा गहिरो चोट थियो,’ रामकिशन त्यो घटना सम्झिन्छन्, ‘घरको मूल खम्बा नै ढल्यो । बुवाले नै दुई बिघा जमिनको सबै खेतीपाती सम्हाल्नुहुन्थ्यो, लगानी गर्नुहुन्थ्यो । उहाँ गएपछि हामी टुहुरा भएका छौँ । अब यो गह्रौँ जिम्मेवारी कसरी उठाउने ! केही थाहा छैन । गरिबलाई त पीडामाथि पीडामात्रै रहेछ ।’

हात्तीका कारण रामकिशनको परिवारले भोगेजस्तै पीडा जाईखल्लाका अन्य परिवारले पनि भोगेका छन् । यही गाउँमा आफ्नो जीवनका सात दशक बिताइसकेका ७० वर्षीय पदम रानाका अनुसार २० वर्षअघिसम्म गाउँमा हात्ती पसेको उनले कहिल्यै देखेका थिएनन् । उनको परिवार तीन पुस्तादेखि यही माटोमा बाँचिरहेको छ ।

‘त्यो बेला खेतबारी सुन फलाउने सुन्दर भूमि थियो, अहिले युद्धभूमि जस्तो लाग्छ,’ उनले भने ।

लालझाडी गाउँपालिकाका जाई, नन्दगाउँ, शिकलपट्टी, डुंगा र पर्सियाजस्ता दर्जनौँ गाउँ पूर्ण रूपमा कृषिमा निर्भर छन् । ती सबै हात्तीको त्रासमा छन् । अवस्था यतिसम्म भयावह छ कि साँझ परेपछि एक घरबाट अर्को घर जान पनि मानिस डराउँछन् ।

२०६४ साल यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा राष्ट्रिय निकुञ्जबिचको जैविक मार्गमा पर्ने यो गाउँमा हात्तीको आतङ्क हरेक वर्ष बढ्दो छ । ‘पहिले यस्तो थिएन, तर जब हात्तीले धान, गहुँ र उखुको स्वाद थाहा पायो, तबदेखि हाम्रो विनाश सुरु भयो,’ पदम आफ्नो भोगाइ सुनाउँछन् ।

उनी आफ्नो सात बिघा जमिनमा गरेको लगानीको आधा पनि घर भित्र्याउन पाउँदैनन् । उनले भने, ‘यसपालि दुई लाख लगानी गरेँ, तर हात्तीले दुई–तीन बिघाको बाली सधैँ नष्ट गर्छ । नोक्सान नभएको भए एक सिजनमा तीन लाखसम्म बच्थ्यो, तर अहिले मुस्किलले दुई लाख हात लाग्छ । हाम्रो मेहनत र पसिना बालुवामा पानी खन्याएजस्तै भएको छ ।’

लालझाडी गाउँपालिकाका जाई, नन्दगाउँ, शिकलपट्टी, डुंगा र पर्सियाजस्ता दर्जनौँ गाउँ पूर्ण रूपमा कृषिमा निर्भर छन् । ती सबै हात्तीको त्रासमा छन् । अवस्था यतिसम्म भयावह छ कि साँझ परेपछि एक घरबाट अर्को घर जान पनि मानिस डराउँछन् ।

‘पहिले रातिमात्रै डर थियो, अचेल त दिउँसै पनि हात्ती गाउँ पस्न थालेको छ,’ स्थानीय ४२ वर्षीय खेमराज रानाले भने, ‘साँझ परेपछि बालबालिकालाई आँगनमा खेल्न दिन सकिँदैन, अलि परको छिमेकीकहाँ जानुपर्दा पनि दश पटक सोच्नुपर्छ ।’

दुई वर्षअघि हात्तीले दुई वटा घर भत्काउँदा ती परिवारको लामो समयसम्म बिचल्ली भएको थियो । खुला आकाशमुनि रात बिताउन बाध्य उनीहरूले सरकारी निकायबाट कुनै सहयोग पाएनन् । दुःख–सुख गरेर उनीहरूले आफ्नो घर त बनाए । मनभित्र डरको घर कहिल्यै भत्किएन ।

राष्ट्रिय निकुञ्जले बालीनाली क्षतिको लागि सबै कागजात पूरा गरेमा प्रतिबिघा १० हजार रुपैयाँ राहत दिने व्यवस्था गरेको छ, तर यो रकम किसानको लगानी र मेहनतको अगाडि केही होइन ।

स्थानीयले हात्तीको आतङ्कबाट बचाउन बारम्बार सम्बन्धित निकायलाई गुहार्ने गर्छन् । हात्ती प्रभावित क्षेत्रमा विद्युतीय तारबार, राति उज्यालोको लागि बत्तीको व्यवस्था, हात्ती आएको सूचना दिन साइरन जडान र तत्काल उद्धारका लागि एक टोलीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

‘हात्ती आउने ठाउँमा पक्की बाटो भइदिए पनि राति भाग्न सजिलो हुन्थ्यो । हिलो बाटोमा लडिन्छ,’ खेमराजले भने, ‘गाउँपालिकादेखि प्रहरीसम्म हामीलाई बचाइदिनुस् भनेर निवेदन दियौँ, तर हाम्रो आवाज कसैले सुनेन ।’

राष्ट्रिय निकुञ्जले बालीनाली क्षतिको लागि सबै कागजात पूरा गरेमा प्रतिबिघा १० हजार रुपैयाँ राहत दिने व्यवस्था गरेको छ, तर यो रकम किसानको लगानी र मेहनतको अगाडि केही होइन ।

‘यो रकम किसानको आँसु पुछ्न पनि पर्याप्त छैन, घाउमा मलम लगाउनु त परको कुरा,’ स्थानीय भागरथी रानाले भनिन् ।

चुनावका बेला भोट माग्न आउने नेताहरूलाई यहाँको अवस्थाबारे राम्ररी थाहा छ । उनीहरू आश्वासनको पोको बाँडेर जान्छन् । चुनाव जितेपछि भने कहिल्यै फर्केर हेर्दैनन् । वर्षौंदेखिको वन्यजन्तुसँगको द्वन्द्वमा पिसिएका लालझाडीका यी गाउँका स्थानीय हरेक समय त्रासमै बित्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप