शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेसुङ्गा महापोखरीमा दर्शनार्थीको घुइँचो

शनिबार, १५ कात्तिक २०८२, २२ : ४०
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • गुल्मीको रेसुङ्गा महापोखरीमा हरिबोधिनी एकादशीको अवसरमा भक्तजनको घुइँचो लागेको थियो।
  • भक्तजनहरूले पाप नष्ट हुने विश्वासका साथ पोखरीमा स्नान गरे र पूजाअर्चना गरे।
  • रेसुङ्गा क्षेत्र धार्मिक र पर्यटकीय स्थलको रूपमा महत्त्वपूर्ण छ, जहाँ मेला लाग्ने गर्दछ।

गुल्मी । शनिबार परेको हरिबोधनी एकादशीका अवसरमा गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा महापोखरीमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । उक्त पोखरीमा विशेष मेला तथा पूजाअर्चनाका लागि भक्तजनहरू पुग्ने गर्दछन् । पोखरीमा हरेक वर्ष हरिबोधनी एकादशीको दिन ठुलो मेला लाग्ने गर्दछ । 

पोखरीमा स्नान गरेमा आफूले जीवनमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यही मान्यताका कारण पोखरीमा स्नान गर्न एकादशीका अवसरमा जिल्लाका विभिन्न स्थानका साथसाथै अर्घाखाँची, पाल्पा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्लाबाट समेत श्रद्धालुहरू रेसुङ्गा पुगेका रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।  

“भुलवश गरेका पाप नष्ट हुने विश्वास छ, त्यसैले बिहानै आएर पोखरीमा स्नान गर्‍यौँ”, धुर्कोटबाट आउनुभएकी मीना पोखरेलले भनिन्, “यस पटक गाउँका महिला दिदीबहिनी सवारी भाडामा लिएर यहाँ आएका हौँ ।” 

रेसुङ्गा नगरपालिका–६ की माया पन्थीले यहाँ पुगेर आफूले गौदान गरेको बताइन् । गौदान गरेको खण्डमा पाप नष्ट हुने र मनले चिताएको पुग्ने विश्वास रहेकाले पूजाआजा गरिएको उनको भनाइ छ । उनले भुलवश भएका पाप नष्ट हुने विश्वासका साथ पोखरीमा स्नान गरेको बताइन् । 

रेसुङ्गा क्षेत्रमा शुद्ध मनले पाठ–पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ । उनले रेसुङ्गामा पहिलेभन्दा यस पटक व्यवस्थित रूपले मेला लागेको बताइन् । 

त्रेतायुगमा ऋष्यशृङ्गले रेसुङ्गा क्षेत्रमा तपस्या गरेका थिए भन्ने वेद(पुराणहरूमा उल्लेख गरेको पाइन्छ । अयोध्याका राजा दशरथलाई सन्तान नहुँदा ऋष्यशृङ्गलाई अयोध्या बोलाई पुत्रेष्टि महायज्ञ सम्पन्न गराइएको थियो । सो यज्ञको प्रभावले दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मिएका थिए भन्ने धार्मिक कथा पुराणहरूमा उल्लेख छ । यही कारणले रेसुङ्गा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मानिन्छ । 

रेसुङ्गा क्षेत्रको उच्च भूभागबाट धवलागिरिबाट मनास्लुसम्मका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यो क्षेत्र विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण, घरबास र ग्रामीण पर्यटनका दृष्टिले पनि उपयुक्त मानिन्छ । यस मन्दिरमा दैनिकी रूपमा पूजाअर्चना हुने गर्छ भने साउन महिनाभर मेला लाग्ने गर्दछ । साथै औँसी, ठूली एकादशीलगायत पर्वहरूमा ठुलो मेला लाग्ने परम्परा रहिआएको रेसुङ्गा संरक्षण समितिका सदस्य रामलाल पाण्डेले बताए । 

ऋषिशृङ्गेश्वर, यदुकानन्द, रामचन्द्रलगायत अनेक ऋषि(महर्षिहरूले तपस्या गरेको स्थल भएकाले रेसुङ्गाको धार्मिक महत्त्व धेरै भएको वेद(पुराणमा उल्लेख पाइन्छ । द्वापरयुगदेखि सिद्ध स्थल मानिएको रेसुङ्गा विभिन्न युगहरू पार गर्दै अहिले सुन्दर, पुण्य भूमिका रूपमा स्थापित भएको छ । ऋष्यशृङ्गले तपस्या गरेको स्थानमा ब्रह्मचारी तदर्थानन्दले विगत धेरै वर्षदेखि केवल काँचो आहार ग्रहण गर्दै तपस्या गरिरहेका छन् । 

हरिबोधिनी एकादशीका अवसरमा जिल्लाको पवित्र तीर्थस्थल रुद्रवेणी, रिडी र गण्डकी नदीमा पनि बिहानदेखि बेलुकी अबेरसम्म स्नान तथा पूजाआजाका लागि श्रद्धालुको घुइँचो लागेको थियो । ठूल एकादशीका रूपमा चिनिने हरिबोधनी एकादशी पर्वलाई गुल्मीमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप