बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अदुवाको मूल्य खस्कियो: दाङका किसान मारमा, लगानी उठाउनै मुस्किल

मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ४८
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • दाङको तुलसीपुरका किसानले अदुवाको उचित मूल्य नपाउँदा चिन्ता व्यक्त गरेका छन्।
  • बजारमा भारतीय अदुवाको आयातले गर्दा स्थानीय किसानको उत्पादन बिक्री हुन सकेको छैन।
  • अदुवाको मूल्य घटेका कारण किसानहरूले लगानी उठाउन नसक्ने अवस्था आएको छ।

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ। यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने भए पनि बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन्।

गत वर्ष यही याममा प्रतिकिलो रु ५५ देखि ६० मा अदुवा बेचेका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ। बजार भाउ रु ३० देखि ३५ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनले बताए।

अन्य कृषि बाली छोडेर अदुवा रोपेका उनी यो वर्ष भाउ नपाउँदा निराश छन्। खड्काले भने, ‘यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन।’ बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उनी बताउँछन्। गत वर्ष उनले रु दुई लाखको अदुवा बिक्री गरेका थिए।

छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर रु ५० हजारको बीउ किनेर अदुवा लगाएका थिए। तर अहिले अदुवाको भाउ सुनेर उनी पनि निराश छन्। बीउ किन्दा लिएको ऋणको सावाँब्याज अहिले रु ६५ हजार पुगेको छ। अहिलेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि नपुग्ने पिरलो उनलाई छ।

बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था आएको किसानहरू बताउँछन्। पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन्। तर, मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउँछन्।

उनका अनुसार यहाँका स्थानीय ३०/३५ घरले अदुवाखेती गर्ने गरेका छन् र छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ। अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने किसानहरूको आशा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप