बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्काउट प्रकरणमा खड्काकाे सचिवालयले भन्याे– विचाराधीन मुद्दालाई तोडमोड गरी चरित्रमा आक्रमण गर्नु न्यायिक प्रक्रियामाथिकाे हस्तक्षेप

शुक्रबार, २१ कात्तिक २०८२, १७ : ५३
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता दीपक खड्काले नेपाल स्काउटको विषयमा आएका भ्रामक समाचारको खण्डन गरेका छन्।
  • खड्काको सचिवालयले खड्का ल्याण्ड प्रालिसँग उनको कुनै सम्बन्ध नरहेको र मुद्दा अदालतमा विचाराधीन रहेको जनाएको छ।
  • सचिवालयले स्काउट नेतृत्वले खड्कालाई लक्षित गरी गलत प्रचार गरेको आरोप लगाएको छ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको विषयमा आफूलाई जोडेर आएको भ्रामक समाचारप्रति स्पष्टीकरण दिएका छन् । 

नेता खड्काको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री खड्कालाई जोडेर विभिन्न सञ्चार माध्यममा भ्रामक, अतिरञ्जित र चरित्रहत्या गर्ने उद्देश्यका समाचारहरू प्रकाशित तथा प्रसारित भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“हामी स्पष्ट पार्न चाहन्छौँ कि खड्का ल्याण्ड प्रालिसँग सम्बन्धित सम्पूर्ण शेयर स्वामित्व पूर्व मन्त्री खड्काले धेरै पहिले नै हस्तान्तरण गरिसक्नुभएको छ, र हाल सो कम्पनीसँग उहाँको कुनै पनि आर्थिक, व्यवस्थापकीय वा कानुनी संलग्नता छैन,“विज्ञप्तिमा भनिएको छ ।

नेपाल स्काउट र खड्का ल्याण्ड प्रालिबिच भएको लेनदेन तथा जरिवानासम्बन्धी विवाद सम्मानित काठमाडौँ अदालतमा विचाराधीन अवस्थामा अदालतले जे निर्णय गर्छ, त्यसको पालना गर्न सबै पक्ष बाध्य रहेको सचिवालयले जनाएको छ ।

सचिवालयले विचाराधीन मुद्दालाई तोडमोड गरी व्यक्तिगत चरित्रमाथि आक्रमण गर्नु न्यायिक प्रक्रियामाथि हस्तक्षेप र राजनीतिक दुर्भावनाको उदाहरण भएको बताएको छ ।

नेपाल स्काउटको नेतृत्वले सङ्गठनको विकासमा ध्यान दिनुको सट्टा कमिसन र स्वार्थको खेलमा संलग्न भई जानाजानी पूर्व मन्त्री खड्कालाई लक्षित गर्दै गलत प्रचार गर्दै आएको सचिवालयले जनाएको छ ।

यस्तै, कम्पनीले बुझाउनुपर्ने रकममा कोभिड – १९ सम्बन्धी छुटको हिसाबकिताब स्पष्ट नगरी, उल्टै पूर्वमन्त्री खड्कामाथि आरोप लगाउने प्रवृत्तिले सत्य तथ्य ढाकछोप गर्ने प्रयास गरेको सचिवालयको भनाई छ ।

स्काउटले गलत नियतका साथ विभिन्न सञ्चार माध्यमहरूमा असत्य समाचार सम्प्रेषण गरी दीपक खड्काको व्यक्तिगत र राजनीतिक छविलाई हानि पुर्‍याउने प्रयास गरेको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयले खड्का ल्याण्ड प्रालिको स्वामित्वमा रहेको नेपाल स्काउटको जग्गामा कम्पनीले विगतमा विभिन्न संस्थाहरूलाई कानुनी रूपमा भाडामा सेवा प्रदान गर्दै आएको र भाडामा लिएका संस्थामध्ये केहीले कोभिड–१९ को समयमा बिना जानकारी स्थल छोड्ने र भाडा नतिर्ने कार्य गरेको र जसको बारेमा कम्पनीले नेपाल स्काउटलाई आधिकारिक रूपमा जानकारी गराइसकेको बताएको छ । उक्त जानकारीलाई बेवास्ता गर्दै स्काउट नेतृत्वले बिजुली काट्ने, धम्की दिने, तालाबन्दी गर्ने र असभ्य व्यवहार गर्ने कार्यहरू गरेको सचिवालयले जनाएको छ ।

खड्का ल्याण्ड प्रालिबाहेक अन्य तेस्रो पक्ष कम्पनीहरू माई च्वाइस रेस्टुरेन्ट र लैनचौर बैंक्वेटलाई पनि बिना जानकारी रातको समयमा आइ दबाब सिर्जना गर्ने, तालाबन्दी गर्ने र धम्की दिने जस्ता असभ्य कार्यहरू भएको पुष्टि भएको सचिवालयले जनाएको छ ।

यस्ता गतिविधिले नेपालमा सकारात्मक, स्थायी र विश्वासिलो व्यावसायिक वातावरण सृजना गर्न गम्भीर असर पुर्‍याइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप