बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अग्नि खरेललाई कानुनमन्त्री सिन्हाको जवाफ : संविधान पढेरै मन्त्री बनेको हुँ

मङ्गलबार, २५ कात्तिक २०८२, १७ : १४
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायाधीशलाई मन्त्री वा सांसद बन्न नरोकेको दाबी गरे।
  • उनले आफू मन्त्री बन्ने दिन संविधान पढेको र निर्वाचनमा भाग लिने अधिकार रहेको बताए।
  • सिन्हाले आगामी दिनमा चुनाव लड्ने वा मन्त्री बन्ने इच्छा नरहेको र निर्वाचनको वातावरण बनाइरहेको बताए।

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायाधीशलाई मन्त्री वा सांसद बन्न नरोकेको दाबी गरेका छन्। उनले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताएका छन्।

नेपाल कानुन समाजले आयोजना गरेको 'आगामी प्रतिनिधिसभाको निर्वाचन: चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले एमाले नेता अग्नि खरेलले उठाएको पूर्वन्यायाधीश मन्त्री बन्नु असंवैधानिक भएको भन्ने प्रश्नको जवाफ दिएका थिए। उनले आफू मन्त्री बन्ने दिन पनि एक घण्टा संविधान पढेको बताए।

उनले भने, ‘असंवैधानिक किन रे भन्दाखेरी त्यो चाहिँ सरकारी पदमा बस्नको निम्ति न्यायाधीशलाई बन्देज लगाएको भनेर भन्नुभयो। म सरकारी पद हो कि होइन यसो हेरेँ, मैले संविधान पल्टाएर हेरेँ। नपढीकन चाहिँ गएको होइन होला म त्यो दिन त्यहाँ। मैले देखेँ मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरूले वञ्चित गर्नुभएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार, स्वतन्त्र होस् या पार्टी समातेर होस्, म उम्मेदवार बन्ने मेरो अधिकार छ कि छैन? मसँग अधिकार छ।’

मन्त्री सिन्हाले आफूहरू अप्ठ्यारो अवस्थामा मात्र सरकार चलाउन आएको बताउँदै आगामी दिनमा चुनाव लड्ने वा मन्त्री बन्ने इच्छा नरहेको स्पष्ट पारे।

उनले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको र हरेक राजनीतिक दलका जिम्मेवार नेताहरूसँग छलफल गरिरहेको पनि दाबी गरे। उनले राजनीतिक दलहरू निर्वाचनबाट पछाडि नफर्कने विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप