मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन
सारांश
- मुग्लिन-पोखरा सडकखण्ड विस्तारको क्रममा तनहुँको दमौली बजारमा अपाङ्गतामैत्री पूर्वाधार नभएको गुनासो आएको छ।
- अपाङ्गता भएका व्यक्तिहरूले जेब्राक्रसिङ, फुटपाथ र अन्य संरचनाहरूमा सुधारको माग गरेका छन्।
- अपाङ्गता अधिकारकर्मीहरूले सडक नालीमाथिको ग्याप र बिजुलीका पोलहरूले दुर्घटनाको जोखिम बढाएको बताएका छन्।
तनहुँ । विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका हुन् ।
अपाङ्गाता भएका व्यक्तिहरूले शनिबार दमौली बजारको सडक अपाङ्गतामैत्री भए/नभएकोबारे परीक्षण गरेका छन् । तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन अपाङ्गता भएकाहरूलाई समस्या भएको बताए । रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्सटाइलजस्ता क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए ।
व्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले ह्वीलचियर प्रयोगकर्तालाई सडक अपाङ्गतामैत्री नभएको गुनासो गरे । उनले भने, “ह्वीलचियर प्रयोगकर्ताले कतिपय ठाउँमा जेब्राक्रसको प्रयोग गर्न मिल्ने अवस्था छैन । जेब्राक्रस त छ तर सडक पहुँचयुक्त छैन ।”
अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियानले मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा निर्माण गरिएको जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री बनाउन माग गर्दै सरोकारवालालाई हालै ज्ञापनपत्रसमेत बुझाएको छ ।
दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म पहुँचयुक्ततासम्बन्धी अनुगमनका क्रममा जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री नभएको देखिएकाले सो स्थानलाई अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको अपाङ्गता अधिकारकर्मी एवं अभियानका संयोजक मदन पौडेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अति भिरालो र तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ भिरालो भएकाले अपाङ्गतामैत्री नदेखिएको जनाइएको छ ।
दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथ मध्यभागमा पर्ने गरी बिजुलीका पोल राखिएकाले ह्वीलचियर प्रयोगकर्ता र सेतोछडी प्रयोगकर्ताहरू फुटपाथको प्रयोगबाट वञ्चित भएको उल्लेख गरिएको छ ।
दुर्गा मन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथको मध्यभागमा पर्नेगरी बिजुलीका पोल राखिएकाले सेतोछडी प्रयोगकर्ताको सहजताका लागि राखिएको टेक्सटायलको प्रयोग गर्दा सिधै बिजुलीको पोलमा ठोक्किने समस्या रहेको जनाइएको छ ।
सफासडक चोकमा रहेको जेब्राक्रस पार गरी सडकको दुवैतर्फका फुटपाथहरुमा उक्लने र्याम्प नबनाउँदा समस्या भएको उल्लेख गरिएको छ । बागबजारमा बनाइएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइर राखिएको साथै दुवैतर्फका फुटपाथहरूमा उक्लने र्याम्प नबनाइएको जनाइएको छ । बुल्दीखोला पुल नजिकै भएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्नेगरी डिभाइडर राखिएको उल्लेख गरिएको छ ।
अपाङ्गता अधिकारकर्मी पौडेलले भने, “उल्लेखित सडकखण्डमा रहेको सडक नालीमाथि राखिएको स्लाबबीचको ग्याप अधिक रहेकाले अपाङ्गता भएका व्यक्तिहरू दुर्घटना पर्ने अत्यधिक सम्भावना देखिएको छ ।”
जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको साझा मञ्चका रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँ क्रियाशील छ । यस अभियानले पहुँचयुक्तता, जनचेतना, पैरवी, सञ्जालीकरणमार्फत अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका निम्ति काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण