नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शन भएपछि बारामा कर्फ्यु जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मध्यान्ह १२ः२० देखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको जानकारी दिए।
काठमाडौँ । नेकपा एमाले नेता महेश बस्नेतलगायत नेता बारा जाने भएपछि त्यसको विरोधमा जेनजीले प्रदर्शन गरेसँगै सिमरा क्षेत्रमा बुधबार तनाव भएको छ । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आनै जारी गर्नुपर्यो ।
यसैबीच घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले समेत बाराको अराजकता मच्चाइएको भन्दै यस किसिमको कार्य अस्वीकार्य भएको बताएकी छन् । तनावका कारण एमालेका नेताहरु काठमाडौँस्थित विमानस्थलबाटै फर्किनुपरेको थियो ।
बुधबार बाराको सिमरामा एकाएक तनाव, झडप र कर्फ्युको अवस्था निम्तियो । नेकपा एमालेका नेता महेश बस्नेत लगायतको पूर्वनिर्धारित राजनीतिक कार्यक्रमलाई लक्षित गरी ‘जेनजी’ प्रदर्शनकारीहरूले गरेको विरोधले उग्र रूप लिँदा उक्त क्षेत्र नै अस्तव्यस्त मात्रै बन्न पुगेको केन्द्रीय राजनीतिमा समेत हलचलको स्थिति बनेको छ ।
विमानस्थल क्षेत्रमा प्रहरीसँग झडप, अश्रुग्यास प्रहार र अन्ततः कर्फ्युको घोषणा जस्तो घटनाक्रम केवल एक ठाउँको शान्ति सुरक्षाको मामिला मात्र होइनन्, यो देशको वर्तमान तरल राजनीतिको एउटा प्रतिबिम्ब पनि हो।
लोकतन्त्रमा हरेक राजनीतिक दललाई देशको कुनै पनि भूभागमा आफ्ना शान्तिपूर्ण कार्यक्रम गर्न पाउने नैसर्गिक अधिकार हुन्छ। त्यसैगरी, कुनै पनि विचार वा व्यक्तिप्रति असहमति राख्ने र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार पनि नागरिकमा सुरक्षित हुन्छ। तर, सिमरामा यी दुवै अधिकारको अभ्यासमा गम्भीरता देखिएन, बरु एकअर्कालाई निषेध गर्ने अराजक प्रवृत्ति हाबी भयो। तर यहाँनेर बुझ्नपर्ने के विषय के हाे भने अहिलेको तरल स्थितिमा सबैपक्ष संयम बन्नुपर्नेमा त्यसतर्फ ध्यान पुगेको देखिएन।
काठमाडौँ । बाराको सिमरामा आज उत्पन्न तनाव र हिंसात्मक गतिविधिप्रति प्रधानमन्त्री सुशीला कार्कीले टिप्पणी गरेकी छन् । अराजक व्यवहार लोकतान्त्रिक प्रणालीमा स्वीकार्य नहुने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले भनेकी छन्, बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन।'
युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताइन्। तर अभिव्यक्ति स्वतन्त्रताको सम्मान राज्यको प्रतिबद्धता भएको उल्लेख गर्दै उनले सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध सिर्जना गर्ने गतिविधि वा कानुन हातमा लिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिइन्।
काठमाडौँ । एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको भन्दै कार्की ट्र्याकमा आएको बताएका छन् ।
बुधबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले दलका नेताहरूलाई स्थान हद तोक्ने, पासपोर्ट रद्द गर्ने जस्ता काम भइरहेको प्रति आपत्ति जनाउँदै बस्नेतले आयोग अध्यक्ष कार्की पछिल्लो समय भने नरम भएको बताएका हुन् ।
‘म गौरीबहादुर कार्कीजीलाई धन्यवाद दिन चाहन्छु । हिजो उहाँको भाषा अलिकति सफ्ट आयो’, बस्नेतले भने, ‘केपी ओलीलाई किन रोकेको भन्दा भ्यालीभन्दा बाहिर जाँदा असुरक्षित हुन्छ कि भनेर रोक्या, विदेश जाँदा पनि उहाँहरूको आलोचना होला कि भनेर रोक्या । एमालेको मात्र होइन उहाँ सबैको नेता हो । अहिले उहाँ ठिक ट्र्याकमा आउनुभयो ।’
बारा । स्थानीय प्रशासनले जीतपुर सिमरा क्षेत्रमा कर्फ्यु जारी गरेपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय बाराले साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
बाराको परवानीपुरमा आयोजना गरिएको युवा जागरण कार्यक्रममा सहभागी हुन एमाले नेता महेश बस्नेतलगायत आउने जानकारीपछि बाराका जेनजी युवाहरूले सिमरा चोकमा विरोध कार्यक्रम आयोजना गरेका थिए। त्यसपछि सो समूहले सिमरा विमानस्थल घेराउ गर्दा झडपको अवस्था सिर्जना भई प्रशासनले कर्फ्यु जारी गर्नुपरेको हो।
कर्फ्युपछि जीतपुर सिमराका शैक्षिक संस्था, वित्तीय संस्था तथा यातायात क्षेत्र आकस्मिक रूपमा बन्द भएका छन्। यता, जेनजी युवाहरूले सिमरा चोकमा शान्तिपूर्ण रूपमा टायर दहन गरी विरोध जारी राखेका छन्।
काठमाडौँ । बारामा असहज स्थिति भएसँगै एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फकिएका छन् । उक्त जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन बुधवार बिहान महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरू विमानस्थल पुगेका थिए ।
तर, उनीहरू सिमरा आउने खबर पाएर जेनजीहरुले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति अशान्त बनेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेसँगै विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । जहाज नचलेपछि आफूहरू घर फर्किएको बस्नेतले बताए ।
काठमाडौँ । बारास्थित सिमरा विमानस्थलको गेट तोडफोड गरिएको छ । बाराको परवानीपुरमा आयोजना गरिएको एमाले प्रदेश जागरण कार्यक्रममा एमाले नेताहरू सहभागी हुने जानकारी पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न बुधबार सिमरा विमानस्थल बाहिर प्रदर्शन गरेका थिए । सो क्रममा विमानस्थलको बाहिरको गेट समेत तोडफोड गरिएको छ ।
प्रदर्शनकारी रोक्न प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सुरक्षा जोखिम रोक्न कर्फ्यु आदेश समेत जारी गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको केहि क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजी युवा र एमाले कार्यकर्ताबिच झडप भएपछि सिमरा विमानस्थल आसपास क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरिएको बारा प्रशासनले जनाएको छ ।
काठमाडौँ । बाराको सिमरा क्षेत्र अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत नेताहरु सिमरा आउने भएसँगै जेनजी समूह उनीहरुविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो। तर, प्रदर्शनका कारण पोखरेल र बस्नेतलगायत गएनन्, बरु स्थिति तनावपूर्ण बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
यस्तै हाल सिमरा विमानस्थल बन्द गरिएको छ। कर्फ्युपछि पनि प्रदर्शनमा उत्रिएका जेनजी समूहले सडकमा टायर बालेका छन् ।
बारा । बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ । काठमाडौँबाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए। आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो।
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबिच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ।
काठमाडौँ । बाराको सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको घटनापछि नेकपा (एमाले) नेता महेश बस्नेतले सरकारप्रति कटाक्ष गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नकै उद्देश्यले जेनजीको नाममा अराजक भिड उतारेको आरोप उनले लगाएका छन्।
सभा हुन नदिन जेनजीको नाममा विभिन्न दल–आवद्ध समूहलाई सडकमा उतारेर विमानस्थल अवरोध गराइएको र ५०–६० जनाको सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यु लगाउनु नैतिक रूपले गलत कार्य भएको उनले फेसबुकमार्फत बताए ।
उनले संविधानले सुनिश्चित गरेको सभा–सम्मेलन गर्ने अधिकार, स्वतन्त्र अभिव्यक्ति र राजनीतिक गतिविधिमा सहभागी हुने मौलिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक अभ्यासमै हस्तक्षेप गरेको आरोप लगाए।
बारा । नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् ।
एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारा आइपुग्ने कार्यक्रम तय भएपनि यो समाचार तयार पर्दासम्म आइपुगेका भने छैनन् ।
सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा विमानस्थल घेराउ गरेका छन् । विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको छ ।