छुर्पीमा फट्को : ४ किलोबाट सुरु, सवा लाख किलो निर्यात
सारांश
- मनराम हिमालयन ह्यान्डी क्राफ्टले १८ वर्षदेखि कोशी प्रदेशबाट 'डग च्यु' (कुकुरको आहार) निर्यात गर्दै आएको छ।
- कम्पनीले आर्थिक वर्ष २०७०/७१ मा २ लाख ३८ हजार रुपैयाँको छुर्पी निर्यात गरेकोमा गत वर्ष ४ अर्ब ५१ करोड रुपैयाँको निर्यात गरेको छ।
- युरोपियन बजारमा पहुँचको लागि खोरेत रोग र अन्तर्राष्ट्रिय प्रमाणीकरण आवश्यक रहेको छ।
विराटनगर । झापामा मुख्य कार्यालय रहेको मनराम हिमालयन ह्यान्डी क्राफ्टले कोशी प्रदेशबाट ‘डग च्यु’ (कुकुरको आहार) का रूपमा छुर्पी उत्पादन तथा सङ्कलन गर्न थालेको १८ वर्ष भयो । उक्त कम्पनीले सन् २००७ मा नमुनाका रूपमा जम्मा ४ किलो छुर्पी सङ्कलन गरेर अमेरिका पठाएको थियो । तर अहिले कम्पनीले १ लाख २५ हजार किलोसम्म छुर्पी निर्यात गर्दै आएको छ ।
उसले डीडीसीसँग ठुलो परिमाणमा ‘छेना’ (दुध फटाएर बनाइने वस्तु) खरिद गर्न थालेको छ । यसले बजार गुमाउँदै गएको डीडीसीलाई पनि राहत मिलेको छ भने डीडीसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन गर्ने र त्यसलाई फटाएर छेना बनाउने प्रोसेसिङको झन्झट र खर्च कम्पनीलाई बचत भएको छ । कम्पनीका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार कम्पनीले सिजनमा मासिक डेढ लाख किलोसम्म छुर्पी सङ्कलन गर्छ ।
यतिबेला कोशी प्रदेशबाट उत्पादन भएर निर्यात हुने प्रमुख वस्तु बनेको छ डग च्यु (छुर्पी) । छुर्पी निर्यातको इतिहास लामो भए पनि निर्यात तथ्यांकलाई हेर्दा १२ वर्षयता यसले गुणात्मक फड्को मारेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा २ लाख ३८ हजार रुपैयाँ बराबरको १६५ किलो छुर्पी निर्यात भएको थियो । त्यतिबेला छुर्पी थाइल्यान्ड, भारत, अमेरिका र अस्ट्रेलिया गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७१/०७२ मा २५ करोड २१ लाख ४५ हजारको २ लाख २६ हजार ४५३ किलो निर्यात भयो । आर्थिक वर्ष २०७२/०७३ मा छुर्पी ४२ करोड ६९ लाख ८८ हजार रुपैयाँ बराबरको ३ लाख १६ हजार २५९ किलो निर्यात भयो । त्यसयता लगातार छुर्पी निर्यातको ग्राफ बढिरहेको छ ।
गत आर्थिक वर्ष भने ४ अर्ब ५१ करोड ४० लाख ९७ हजार मूल्य बराबरको २६ लाख १० हजार ६७ किलो छुर्पी निर्यात भएको थियो । चालू आर्थिक वर्षको कार्तिकसम्ममा छुर्पी १ अर्ब ३ करोड ५७ लाख २२ हजार मूल्य बराबरको ८ लाख ६७ हजार ६८१ किलो निर्यात भएको छ ।
सुरुका वर्षहरुमा दुई चार वटा मुलुकमा निर्यात हुने छुर्पी अहिले विश्वका धेरै मुलुकहरुमा निर्यात हुन्छ । छुर्पी सबैभन्दा धेरै अमेरिका, जापान र क्यानडा निर्यात हुन्छ । यस्तै अष्ट्रेलिया, बोस्निया हर्जगोभिना, ब्राजिल, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, गबोन, जर्मनी, ग्रिस, हङकङ, इटली, कोरिया, लेवनान, मलेसिया, म्यानमार, नेदरल्याण्ड, न्यूजिल्याण्ड, सिंगापुर, स्लोभाकिया, साउथ अफ्रिका, ताइवान, थाइल्याण्ड, साउदी अरब र यूके रहेका छन् ।
_HUMislo4PR.jpg)
अमेरिकामा नेपाली छुर्पीको उच्च माग रहे पनि युरोपियन बजारमा भने अझै पहुँच पुग्न सकेको छैन । युरोपियन युनियनको कडा मापदण्ड र नेपालमा पशुहरूमा देखिने खोरेत रोग बाधकको रुपमा देखिएको छ । ‘नेपालका पशुहरू खोरेत मुक्त छन् भन्ने अन्तर्राष्ट्रिय स्तरको ल्याब टेस्टिङ रिपोर्ट र प्रमाणीकरण नभएसम्म युरोपले दुग्धजन्य पदार्थ लिँदैन,’ उद्योगका सञ्चालक श्रेष्ठले भने, ‘सरकारले इलाम र झापा क्षेत्रलाई खोरेत मुक्त क्षेत्र घोषणा गर्न खोप कार्यक्रम त चलाएको छ, तर यसलाई छिटो प्रमाणीकरण गरेर सहजीकरण गरिदिए हाम्रो बजार अझै फराकिलो हुने थियो ।’ सरकारसँग आर्थिक सहयोग भन्दा पनि नीतिगत सहजीकरण, क्वारेन्टाइन र ल्याब टेस्टिङको सहज सुविधाको अपेक्षा उद्योगले गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण