बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

१३ दिनसम्म राष्ट्रपति कार्यालय पुगेन भूमिसम्बन्धी अध्यादेश

आइतबार, २१ मङ्सिर २०८२, १५ : ५१
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • सरकारले मंसिर ८ गते भूमिसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
  • आइतबारसम्म उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छैन र मुख्यसचिवले प्रक्रियामा रहेको बताए।
  • अघिल्लो सरकारले ल्याएको विधेयक निष्क्रिय भएपछि, अहिलेको सरकारले अध्यादेशमार्फत पुनः ल्याउन खोजेको हो।

काठमाडौँ । सरकारले गत मंसिर ८ गते भूमिसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेर जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको त्यसदिन सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पत्रकारहरूलाई बताएका थिए ।  

तर, आइतबार(१३ दिन)सम्म त्यो अध्यादेश राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छैन ।मुख्यसचिव सुमनराज अर्यालले अध्यादेश राष्ट्रपति कार्यालयमा पठाउनका लागि प्रक्रियामा रहेको जानकारी दिए । 

‘भूमिसम्बन्धी अध्यादेश ल्याउने निर्णय म मुख्यसचिव हुनुभन्दा अगाडि मन्त्रिपरिषद् बैठकले गरेको थियो,’ अर्यालले रातोपाटीसँग भने, ‘अहिलेसम्म हामीले राष्ट्रपति कार्यालय पठाइसकेका छैनौँ । पठाउने प्रक्रियामा छ ।’

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गरेको थियो । त्यो विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो । त्यही विधेयकलाई सक्रिय बनाउन अध्यादेश ल्याउने निर्णय सुशीला कार्की नेतृत्वको सरकारले गरेको हो ।

प्रतिनिधिसभामा पेस गर्नुअघि ओली नेतृत्वको सरकारले पनि २०८१ पुसमा भूमि अध्यादेश जारी गर्न मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

राष्ट्रपतिले जारी गरेको अध्यादेश त्यो बेला सत्ता समर्थनमै रहेका दलले  विरोध गरेपछि अघि बढेको थिएन । अध्यादेशलाई कानुन बनाउन संसद्मा विधेयकका रूपमा दर्ता गरिए पनि अगाडि बढ्न नसक्दा ६० दिनपछि विधेयक स्वतः खारेज भएको थियो ।

त्यही अध्यादेशलाई ओली नेतृत्वकै सरकारले २०८२ वैशाख २३ प्रतिनिधिसभामा विधेयक दर्ता गराएको थियो । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभामा हुँदा संसद् विघटन भएको थियो । त्यही विधेयकलाई ब्युताउन कार्की नेतृत्वको सरकारले अध्यादेश ल्याउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप