बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

ईश्वरको राजनीतिक यात्रा : आधा शताब्दी संस्थापनसँगै, जीवनको उत्तरार्ध विपक्षमा

बुधबार, २४ मङ्सिर २०८२, २० : ००
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । पूर्णकालीन राजनीतिमा लागेको ५० वर्षमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । २०३२ सालमा नेपाल कम्युनिस्ट पार्टीका पूर्णकालीन सदस्य भएका पोखरेलले अनवरत् रुपमा संस्थापनलाई साथ दिँदै आएका थिए । एमालेको ११औं महाधिवेशनमा पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउने दौडमा रहेका उनी पार्टीले ‘ब्रेक’ ओलीविरुद्ध आफैं प्रतिस्पर्धामा उत्रिने घोषणा गरिसकेका छन् । 

महाधिवेशनको तयारी सम्बन्धमा बुधबार काठमाडौँमा सम्पादकहरूसँग छलफल गरेका पोखरेलले महाधिवेशन हलमा अध्यक्ष ओलीले भावी नेतृत्व प्रस्ताव गरे मात्र सहमति हुन सक्ने स्पष्ट पारेका छन् । ‘अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिकामा बस्ने र उहाँले महाधिवेशन हलमा औपचारिक ढंगले अबको नेतृत्व फलानो हो भन्नुभयो भने सहमति हुनसक्छ । नत्र अरु हिसाबमा सहमति हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । 

एमालेको दुई कार्यकाल महासचिव र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका पोखरेलले जीवनको उत्तरार्धमा राजनीति दाउमा लगाएका छन् । सधैंभरि नेतृत्वलाई साथ दिएका पोखरेलले यसपटक नेतृत्वकै विरुद्धमा मैदानमा उत्रिने तयारी गरेपछि पार्टी फेरि विभाजन हुने हो कि भन्ने चिन्ता नेता तथा कार्यकर्तामा छाएको छ । यद्यपि प्रतिस्पर्धामा पराजित भएपनि परिणामलाई स्वीकार गरी एमालेमै रहने दृढता व्यक्त गरे ।

‘हामी प्रतिस्पर्धामा जित्दा मात्रै खुसी हुने होइनौँ । जित्न नसक्दा पनि परिणामलाई स्वीकार गर्नुपर्छ । यस मानेमा हामी सचेत छौँ । भीम रावलजी र माधव नेपालजीको कुरा दृष्टान्त बनेको छ’, उनले भने, ‘त्यस्तो दृष्टान्त हाम्रो हकमा लागु हुँदैन । प्रतिस्पर्धा गरेर हामी विजयी हुन्छौं भन्ने विश्वास छ । विजयी नभएमा पनि हामी नेकपा एमालेको पक्षमा रहिरहन्छौँ । त्यसमा तलमाथि हुँदैन ।’

२०४७ साल पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर नेकपा (एमाले) बनेपछि २०५४, २०६९, २०७८ सालमा पार्टी विभाजन भएको थियो । त्यतिबेला पोखरेल संस्थापनको पक्षमा दृढतापूर्वक उभिएका थिए । पोखरेल तिनै व्यक्ति हुन्, जसले एमालेको नवौँ महाधिवेशनमा ओलीको पक्षमा दृढतापूर्वक उभिएका थिए । सोही महाधिवेशनले नेतृत्वको विषयमा दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था गरेको थियो । नेतृत्वमा पूर्वमहासचिव माधव नेपाललाई हराएर ओली विजयी भएका थिए । २०७८ सालमा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा विशेष पद सिर्जना गरी पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।

तर गत असार १५ गते एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउन्डेसन’ले आयोजना गरेको कार्यक्रममा विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । अध्यक्ष ओली समेत उपस्थिति सोही कार्यक्रममा पोखरेलले भण्डारीको पक्षमा वकालत गरेका थिए । एमालेको भदौ २०–२२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा राख्ने निर्णय गर्‍यो । दुई कार्यकाल र ७० वर्षे उमेरहद खारेज गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायत नेताहरू ओलीसँग रुष्ट देखिएका छन् ।

Ishwor Pokhrel

सोमबार मात्र उनले पार्टीको ११औं माहाधिवेशनका लागि आफ्नो पक्षबाट अवधारणा पत्र सार्वजनिक गर्दै नेतृत्वको कमजोरीबारे औंल्याएका थिए । पोखरेलले कम्युनिस्ट पार्टीहरुमा नेतृत्व हस्तान्तरणको विषय समस्याको रूपमा बताएका थिए ।

‘पार्टीमा स्वेच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकारी पदको कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको बाध्यात्मक प्रबन्ध नहुनु आदि कारणले नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म (कतिपय सन्दर्भमा आजीवन पनि) नेतृत्वमा टिकिरहन चाहने र पदमा टिकिरहन अनेकौँ वाञ्छित /अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि बैध/अबैध उपायहरू अवलम्बन गर्ने स्थिति देखापरेको छ’, उनले भनेका छन् ।  यसले नेतृत्वको सहज हस्तान्तरणमा बाधा पुर्‍याएको मात्र नभइ नेतृत्व परिवर्तनका लागि अस्वस्थ होडबाजी, गुटबन्दी र षड्यन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको पोखरेलले बताए । 

नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा पोखरेलले जोड दिएका छन् । 

यस्तो छ पोखरेलको राजनीतिक यात्रा

ओखलढुंगा (साविक माम्खा गाविस रुपनालु) मा २०१० साल चैत २५ गते जन्मिएका हुन् पोखरेल । पहाडमा जीविका चलाउन धौ–धौ भएपछि उनको परिवार झापा बसाइँ सरेको थियो । उनी २०३३ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी ‘समन्वय समिति केन्द्र’को संस्थापक सदस्यमा निर्वाचित हुँदा केपी शर्मा ओली फौजदारी अभियोगमा जेलमा थिए । २०३५ सालमा नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य बने । महासचिव सीपी मैनालीलाई साथ दिएका पोखरेलले २०३९ सालमा झलनाथ खनाललाई साथ दिए । मैनालीलाई हटाएर खनाल महासचिव भएका थिए । २०४६ सालमा भएको चौथो महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भए । त्यतिबेला पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर नेकपा एमाले बन्यो । एकीकृत पार्टीको पनि उनी केन्द्रीय सदस्य भए । २०४९ सालमा भएको पाँचौँ महाधिवेशनमा पुनः भण्डारी नै महासचिवमा निर्वाचित भए । यी दुवै महाधिवेशनमा पोखरेलले भण्डारीलाई साथ दिए । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा भण्डारीको निधन भयो । त्यसपछि एमालेको महासचिव माधव नेपाल भए ।

करिब १५ वर्ष महासचिव भएका नेपालको पक्षमा पोखरेल उभिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोगेको र आफूले पनि काठमाडौँ र रौतहट दुवै क्षेत्रबाट पराजित भएपछि नेपालले राजीनामा दिए । २०६५ सालमा भएको आठौँ महाधिवेशनमा झलनाथ खनाल अध्यक्षमा निर्वाचित हुँदा उनी महासचिवमा निर्वाचित भएका थिए । २०६६ सालमा प्रचण्ड नेतृत्वको सरकार प्रधान सेनापति रुकमाङ्गत कटुवाल प्रकरणमा ढल्यो । त्यसपछि उनली खनालको साथ छोडेर ओलीतिर लागेको लामो समय पोखरेल निकट रहेर काम गरेका एमालेका एक नेताले जिकिर गरे ।

‘ईश्वर पोखरेलको कुनै स्थायी गुट रहेन । हरेक महाधिवेशनमा जो नेतृत्वमा आउँछ, त्यसकै पक्षमा उभिनुभयो । मालेको स्थापनाकालतिर झलनाथ खनालको पक्षमा उभिनुभयो । त्यसपछि मदन भण्डारी, माधव नेपाललाई साथ दिनुभयो’, रातोपाटीसँग ती नेताले भने, ‘आठौँ महाधिवेशनमा फेरि झलनाथ समूहबाट महासचिव बन्नुभयो । नवौं महाधिवेशनमा झलनाथबाट पार्टी चल्दैन जस्तो देखिएपछि ओलीतिर लाग्नुभयो । यसपटक विद्या भण्डारीलाई अगाडि सार्नुभयो, तर अध्यक्ष नहुने देखिएपछि आफैं अगाडि सर्नुभयो ।’ 

पोखरेल २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीका राजनीतिक सल्लाहकार थिए । २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भए । २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा १२ दिन उपप्रधानमन्त्री भए । २०७४ सालमा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भए । उनी २०७० र २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ मा पराजित भए ।

पटक-पटक गरी तीन वर्ष जेल जीवन बिताएका पोखरेलले २०३२ देखि २०४६ सालसम्म निरंकुश पञ्चायती व्यवस्था विरुद्ध भूमिगत जीवन बिताए । 

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले ओली नेतृत्वको सरकार सत्ताच्युत भयो । त्यसपछि नेतृत्व छाड्न पोखरेल पक्षले दबाब दिँदै आएका छन् । पार्टीभित्र र बाहिर चर्को दबाबका सामु ओलीले नेतृत्व सहज रुपमा हस्तान्तरण गर्छन् वा प्रतिस्पर्धा नै नगरी पोखरेल पक्ष पछाडि हट्छन्, त्यसको फैसला महाधिवेशन हलले नै गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप