बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रोफाइल

ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका ईश्वर : कोकेदेखि वरिष्ठ उपाध्यक्षसम्म

सोमबार, २९ मङ्सिर २०८२, १९ : ३८
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । पूर्णकालीन राजनीतिमा लागेको ५० वर्षमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भावी नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका छन् । एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र समर्थकमा गोकर्ण विष्ट रहेका छन् । 

२०३२ सालमा नेपाल कम्युनिस्ट पार्टीका पूर्णकालीन सदस्य भएका पोखरेलले सधैंभरि पार्टी संस्थापनलाई साथ दिँदै आएका थिए । यसपटक उनी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । एमालेको ११औं महाधिवेशनमा पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरणमा ओलीले रोक लगाएपछि पोखरेललाई अगाडि सारिएको चर्चा चलेको छ । यद्यपि पोखरेलले पार्टीलाई विधि, विधान र पद्धति अनुसार अपग्रेड गर्न आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको दाबी गरेका छन् ।

‘मेरो उम्मेदवारीले पार्टीलाई कमजोर बनाउँदै एकताबद्ध र बलियो बनाउँछ । पार्टीलाई विधि, पद्धति र विधानसम्मत रुपमा अपग्रेड गराउन उम्मेदवारी दिएको हुँ’, उनले भने ।

एमालेको दुई कार्यकाल महासचिव र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका पोखरेलले जीवनको उत्तरार्धमा राजनीति दाउमा लगाएका छन् । प्रतिस्पर्धामा पराजित भएपनि परिणामलाई स्वीकार गरी एमालेमै रहने यसअघि दृढता व्यक्त गरेका थिए ।

२०४७ साल पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर नेकपा (एमाले) बनेपछि २०५४, २०६९, २०७८ सालमा पार्टी विभाजन भएको थियो । त्यतिबेला पोखरेल संस्थापनको पक्षमा दृढतापूर्वक उभिएका थिए । पोखरेल तिनै व्यक्ति हुन्, जसले एमालेको नवौँ महाधिवेशनमा ओलीको पक्षमा दृढतापूर्वक उभिएका थिए । सोही महाधिवेशनले नेतृत्वको विषयमा दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था गरेको थियो । नेतृत्वमा पूर्वमहासचिव माधव नेपाललाई हराएर ओली विजयी भएका थिए । २०७८ सालमा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा विशेष पद सिर्जना गरी पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।

तर गत असार १५ गते एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउन्डेसन’ले आयोजना गरेको कार्यक्रममा विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । अध्यक्ष ओली समेत उपस्थिति सोही कार्यक्रममा पोखरेलले भण्डारीको पक्षमा वकालत गरेका थिए । एमालेको भदौ २०–२२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा राख्ने निर्णय गर्‍यो ।

दुई कार्यकाल र ७० वर्षे उमेरहद खारेज गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायत नेताहरू ओलीसँग रुष्ट देखिएका थिए । उमेरले ७० वर्ष उमेर पार गरेका शाक्य र ज्ञवालीले यो महाधिवेशनमा कुनै पदमा नरहने गरी सक्रिय राजनीतिबाट बिदा लिएका छन् । पोखरेलले आफ्नो छुट्टै प्यानल बनाएका छन् ।

नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा पोखरेलले जोड दिँदै आएका छन् ।

यस्तो छ पोखरेलको राजनीतिक यात्रा

ओखलढुंगा (साविक माम्खा गाविस रुपनालु) मा २०१० साल चैत २५ गते जन्मिएका हुन् पोखरेल । पहाडमा जीविका चलाउन धौ–धौ भएपछि उनको परिवार झापा बसाइँ सरेको थियो । उनी २०३३ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी ‘समन्वय समिति केन्द्र’को संस्थापक सदस्यमा निर्वाचित हुँदा केपी शर्मा ओली फौजदारी अभियोगमा जेलमा थिए । 

२०३५ सालमा नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य बने । महासचिव सीपी मैनालीलाई साथ दिएका पोखरेलले २०३९ सालमा झलनाथ खनाललाई साथ दिए । मैनालीलाई हटाएर खनाल महासचिव भएका थिए । २०४६ सालमा भएको चौथो महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भए । त्यतिबेला पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर नेकपा एमाले बन्यो । एकीकृत पार्टीको पनि उनी केन्द्रीय सदस्य भए । २०४९ सालमा भएको पाँचौँ महाधिवेशनमा पुनः भण्डारी नै महासचिवमा निर्वाचित भए । यी दुवै महाधिवेशनमा पोखरेलले भण्डारीलाई साथ दिए । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा भण्डारीको निधन भयो । त्यसपछि एमालेको महासचिव माधव नेपाल भए ।

करिब १५ वर्ष महासचिव भएका नेपालको पक्षमा पोखरेल उभिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोगेको र आफूले पनि काठमाडौँ र रौतहट दुवै क्षेत्रबाट पराजित भएपछि नेपालले राजीनामा दिए । २०६५ सालमा भएको आठौँ महाधिवेशनमा झलनाथ खनाल अध्यक्षमा निर्वाचित हुँदा उनी महासचिवमा निर्वाचित भएका थिए । २०६६ सालमा प्रचण्ड नेतृत्वको सरकार प्रधानसेनापति रुकमाङ्गत कटुवाल प्रकरणमा ढल्यो । त्यसपछि उनी खनालको साथ छोडेर ओलीतिर लागेको लामो समय पोखरेल निकट रहेर काम गरेका एमालेका एक नेताले जिकिर गरे ।

‘ईश्वर पोखरेलको कुनै स्थायी गुट रहेन । हरेक महाधिवेशनमा जो नेतृत्वमा आउँछ, त्यसकै पक्षमा उभिनुभयो । मालेको स्थापनाकालतिर झलनाथ खनालको पक्षमा उभिनुभयो । त्यसपछि मदन भण्डारी, माधव नेपाललाई साथ दिनुभयो’, रातोपाटीसँग ती नेताले भने, ‘आठौँ महाधिवेशनमा फेरि झलनाथ समूहबाट महासचिव बन्नुभयो । नवौं महाधिवेशनमा झलनाथबाट पार्टी चल्दैन जस्तो देखिएपछि ओलीतिर लाग्नुभयो । यसपटक विद्या भण्डारीलाई अगाडि सार्नुभयो, तर अध्यक्ष नहुने देखिएपछि आफैं अगाडि सर्नुभयो ।’

पोखरेल २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीका राजनीतिक सल्लाहकार थिए । २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भए । २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा १२ दिन उपप्रधानमन्त्री भए । २०७४ सालमा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भए । उनी २०७० र २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ मा पराजित भए ।

पटक–पटक गरी तीन वर्ष जेल जीवन बिताएका पोखरेलले २०३२ देखि २०४६ सालसम्म निरंकुश पञ्चायती व्यवस्था विरुद्ध भूमिगत जीवन बिताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप