‘सामाजिक विषय’ को पुस्तक परिमार्जन गरिने, ८४ सालदेखि लागू हुने
सारांश
- सरकारले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने प्रक्रिया सुरु गरेको छ।
- पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले २०८४ सालदेखि नयाँ पुस्तक कार्यान्वयनमा ल्याइने बताए।
- अन्तरक्रियामा पाठ्यपुस्तक बालमैत्री, लैङ्गिकमैत्री भए/नभएको विषयमा अध्ययन प्रतिवेदन प्रस्तुत गरियो।
काठमाडौँ । सरकारले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने प्रक्रिया सुरु गरेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले परिमार्जन गरिएका यी नयाँ पुस्तकहरू वि.सं. २०८४ सालदेखि कार्यान्वयनमा लगिने जानकारी दिए ।
सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले राजधानीमा आयोजना गरेको ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबिचको तादात्म्यता’ विषयक अन्तरक्रियामा बोल्दै महानिर्देशक पौडलले पुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल र लेखकहरूलाई अभिमुखीकरण गरिने बताए । पाठ्यपुस्तक लेख्दा विविधताबिच एकता खोजिने तथा राष्ट्रियताको भाव, नागरिकको भूमिका र असल समाज निर्माण जस्ता विषयमा विशेष ध्यान दिइने उनले उल्लेख गरे ।
कार्यक्रममा शिक्षा पत्रकार समूहका तर्फबाट हाल कार्यान्वयनमा रहेका पाठ्यपुस्तकहरूको सूक्ष्म अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त अध्ययनमा पाठ्यपुस्तकहरू बालमैत्री र लैङ्गिकमैत्री भए/नभएको, अपाङ्गता एवं यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ र भाषाको प्रयोग कस्तो छ भन्ने विषय समेटिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाजको बहुलवादी स्वरूप कक्षाकोठामा प्रतिबिम्बित हुने बताए । उनले पाठ्यसामग्रीहरू विज्ञ टोलीमार्फत विभिन्न चरण पार गरेर बनाइने र हरेक पाठलाई समावेशी बनाउने प्रयास गरिएको जानकारी दिए ।
सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम डेभलपमेन्ट एन्ड क्वालिटी एडभाइजर डा। लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबिचको खाडल र कार्यान्वयन तहमा देखिएका समस्याबारे चर्चा गरिन् । पाठ्यपुस्तकले विद्यालय र घरलाई जोड्न नसकेको तर्क गर्दै उनले पुस्तकको अभाव पूर्ति गर्न परिपूरक पाठ्यसामग्री निर्माण गर्नुपर्ने धारणा राखिन् ।
शिक्षाविद् डा। विद्यानाथ कोइरालाले पाठ्यपुस्तक तयार पार्नुअघि समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूको सूची तयार पार्नुपर्ने सुझाव दिए । उनले आवश्यकता अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक दुवैमा परिवर्तन गर्न सकिने बताए ।
शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावहरूलाई समेटेर पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा प्रतिवेदन बुझाइने प्रतिबद्धता व्यक्त गरिन् । उनले यस्ता सुझावहरू आगामी पाठ्यसामग्री निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण