बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

शनिबार, १२ पुस २०८२, २१ : १५
शनिबार, १२ पुस २०८२

मलेसिया । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ ।

नाजिबलाई राज्य लगानी कोष १– मलेसिया डेभलपमेन्ट बरहाद (१–एमडिबी) बाट अवैध रूपमा २.२ अर्ब मलेसियन रिङ्गिट (करिब ५४ करोड ३० लाख अमेरिकी डलर) आफ्नो व्यक्तिगत बैंक खातामा हस्तान्तरण गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ । अदालतले उहाँलाई शक्तिको दुरुपयोग गरेको चार वटा आरोप र सम्पति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर गरेको छ ।

फैसला सुनाउँदै न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले यो मुद्दा राजनीतिक रूपमा सञ्चालित भएको भन्दै नाजिबको बचाउलाई अस्वीकार गरेका छन् ।

उनले “अभियुक्त आफूमाथि लगाइएका आरोपहरूमा राजनीतिक रूपले प्रेरित भन्ने तर्कलाई निर्विवाद खारेज गर्दै अभियुक्तले १–एमडिबीमा आफ्नो शक्तिशाली पदको दुरुपयोग गरी कसुरदार ठहर भएको बताएका छन् ।

नाजिबले प्रधानमन्त्री, अर्थमन्त्री र १–एमडिबीको सल्लाहकार बोर्डको अध्यक्षको रूपमा आफ्नो भूमिकाको दुरुपयोग गरी एक दशक भन्दा पहिले सार्वजनिक कोषलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको अल जजिराले जनाएको छ ।

१–एमडिबी काण्डसँग सम्बन्धित नाजिबको यो दोस्रो सजाय हो । यस अघि सन् २०२० मा कोषबाट करिब एक करोड अमेरिकी डलरको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरी १२ वर्षको जेल सजाय सुनाइएको थियो भने पछि सजाय घटाएर छ वर्षमा झारेको थियो ।

गत वर्ष नाजिबले १–एमडिबी विवादमा आफ्नो भूमिकाका लागि मलेसियालीहरूसँग माफी मागेको समेत जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप