शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

शनिबार, १९ पुस २०८२, १५ : ५८
शनिबार, १९ पुस २०८२

सारांश

  • पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
  • मोरङ, धनुषा, नवलपरासी, कपिलवस्तु, भक्तपुर र सिराहामा भएका दुर्घटनामा पैदलयात्री र चालकको ज्यान गएको हो।
  • प्रहरीले अधिकांश दुर्घटनाका चालक र सवारी साधनलाई नियन्त्रणमा लिएको छ, भने सिराहामा फरार स्कार्पियो चालकको खोजी भइरहेको छ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको ज्यान गएको छ। मोरङ, धनुषा, नवलपरासी, कपिलवस्तु, भक्तपुर र सिराहामा भएका यी दुर्घटनामा पैदलयात्रीदेखि चालकसम्मले ज्यान गुमाएका हुन्।

मोरङको बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गमा झापाबाट विराटनगरतर्फ जाँदै गरेको हायसको ठक्करबाट ५५ वर्षीय पैदलयात्री सुग बहादुर धिमालको मृत्यु भएको छ। 

यस्तै, धनुषाको जनकपुरधाम–१९ जमुनियामा भारतीय नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा पटनाका ७५ वर्षीय विजय प्रकाशको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

नवलपरासी पश्चिमको सुनवल–३ कीर्तिपुरमा टिपरको ठक्करबाट ३५ वर्षीय साइकलयात्री दिलीप कुमार क्षेत्री र कपिलवस्तुको बुद्धभूमि–९ इमिलियामा टिपरकै ठक्करबाट ८२ वर्षीय पैदलयात्री खिम बहादुर सुनारको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–३ फसिदेबलमा जिपको ठक्करबाट ४ वर्षीया बालिका हर्षिका शाहीले ज्यान गुमाएकी छिन्। 

नवलपरासी पूर्वको मध्यबिन्दु–१० मा ट्याक्टर दुर्घटना हुँदा ६९ वर्षीय दल सिंह थापाको मृत्यु भएको छ भने सिराहाको बरियारपट्टीमा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा २३ वर्षीय नदिन अन्सारीको ज्यान गएको छ।

प्रहरीले अधिकांश दुर्घटनाका चालक र सवारी साधनलाई नियन्त्रणमा लिएको छ। सिराहामा दुर्घटना गराई फरार रहेका स्कार्पियो चालकको भने खोजी भइरहेको छ। यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप