शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भेनेजुएलामा अमेरिकाले गरेको कारबाहीमा ३२ क्युवाली अधिकारीको मृत्यु

सोमबार, २१ पुस २०८२, ११ : १६
सोमबार, २१ पुस २०८२

सारांश

  • ट्रम्प प्रशासनको कारबाहीमा ३२ जना क्युवाली अधिकारीको मृत्यु भएको क्युबा सरकारले जनाएको छ।
  • क्युवाली अधिकारीहरू भेनेजुएला सरकारको अनुरोधमा मिसनमा खटिएका थिए।
  • अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको थियो।

भेनेजुएला । भेनेजुएलामाथि ट्रम्प प्रशासनको कारबाहीको क्रममा ३२ क्युवाली अधिकारी मारिएको खबर बाहिर आएको छ । क्युबा सरकारले आइतबार भेनेजुएलामा अमेरिकी हमलाहरूमा भएको मृत्युको पहिलो आधिकारिक गणनापछि यस्तो बताएको हो ।

भेनेजुएला सरकारको अनुरोधमा त्यहाँ क्युवाली सेना र प्रहरी अधिकारीहरू मिसनमा थिए । कारबाहीका क्रममा मिसनमा रहेको अधिकारीहरूको मृत्यु भएको आइतबार राती सरकारी टिभी च्यानलले जानकारी दिएको छ ।

ती अधिकारीहरू भेनेजुएलामा के गर्न गएका थिए वा कारबाहीको समयमा उनीहरूले के गरिरहेका थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन । तर, क्युबा भेनेजुएलाको नजिकको सहयोगी हो । वर्षौँदेखि अपरेसनहरूमा सहयोग गर्न क्युबाले त्यहाँ सैन्य र प्रहरी बल पठाउँदै आएको छ । 

‘तपाईंलाई थाहा छ, हिजो धेरै क्युवालीहरू मारिएका थिए,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राति फ्लोरिडाबाट वाशिङ्गटन फर्कने क्रममा एयर फोर्स वनमा सवार पत्रकारहरूलाई भनका थिए । भेनेजुएलातर्फ धेरै जनाको मृत्यु भएको भए पनि अमेरिकातर्फ कसैको मृत्यु नभएको उनको भनाइ थियो ।

शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई घरभित्रै छिरेर पक्राउ गरेको थियो । लागूऔषध–आतंकवाद षड्यन्त्रमा संलग्न भएको आरोपमा मुद्दा चलाउन मादुरो दम्पतीलाई पक्राउ गरिएको अमेरिकाको भनाइ छ । 

भेनेजुएलाको सरकारले अमेरिकी विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको स्वीकार गरेको छ । तर यस क्रममा कति जना मारिए भन्ने पुष्टि गरेको छैन । क्युबा सरकारले मारिएका क्युवाली अधिकारीहरूको लागि दुई दिनको शोकको घोषणा गरेको छ तर मृतकहरूको नाम र उनीहरूको पद सार्वजनिक गरिएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप