बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सिलिया फ्लोरेस

भेनेजुएलाकी शक्तिशाली प्रथम महिलाको राजनीतिक यात्रा

सोमबार, २१ पुस २०८२, १८ : ००
सोमबार, २१ पुस २०८२

सारांश

  • भेनेजुएलाकी प्रथम महिला सिलिया फ्लोरेसलाई अमेरिकाले लागुपदार्थ र हतियार तस्करीको आरोप लगाएको छ।
  • सन् १९९२ मा ह्युगो चाभेजको कू प्रयास असफल भएपछि फ्लोरेसले उनको राजनीतिक यात्रा सुरु गरिन्।
  • फ्लोरेस र मादुरोमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ र उनीहरूमाथि मुद्दा चलाइँदै छ।
00:00 / NaN:NaN
Audio By AI

वासिङटन डीसी । भेनेजुएलाकी प्रथम महिला सिलिया फ्लोरेसलाई उनका समर्थकहरूले ‘पहिलो योद्धा’ भन्छन् । राष्ट्रपति निकोलस मादुरोकी श्रीमती सरकारमा सामेल भएका सबैभन्दा प्रमुख महिलामध्ये एक हुन् ।

सन् १९५६ मा जन्मेकी फ्लोरेसले आफ्नो पतिसँगै आफ्नो राजनीतिक पहिचान बनाइन् । प्रायः उनी मादुरोभन्दा उच्च पदमा रहिन् । २०१३ मा मादुरो राष्ट्रपति बनेपछि सिलियाले देशको राजनीतिक दिशालाई आकार दिन सक्रिय भूमिका खेलेकी थिइन् । 

गएको शनिबार अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेर सिलिया र मादुरोलाई हिरासतमा लियो । त्यसपछि अमेरिका लगिएका मादुरो दम्पतीमाथि अमेरिकाले लागुपदार्थ र हतियार तस्करी गरेको आरोपमा न्युयोर्कको अदालतमा मुद्दा चलाउँदै छ । फ्लोरेस र मादुरो स्वर्गीय भेनेजुएली नेता ह्युगो चाभेजसँग नजिकै थिए । चाभेजको मृत्युपछि सन् २०१३ को राष्ट्रपति चुनाव अभियानको क्रममा मादुरोले आफैंले फ्लोरेसलाई प्रथम महिलाको सट्टामा ‘पहिलो योद्धा’ भने । सेप्टेम्बर २०१८ मा अमेरिकी अर्थ मन्त्रालयले भेनेजुएलाका राष्ट्रपतिका नजिकका व्यक्तिहरूलाई लक्षित गर्ने अभियानको एक भागको रूपमा फ्लोरेसमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो । 

सामान्य सुरुवात 

फ्लोरेसको जन्म राजधानी काराकसबाट लगभग २०० किलोमिटर पश्चिममा रहेको टिनाक्विलो सहरमा भएको थियो । फ्लोरेस चार वर्षकी हुँदा उनको परिवार बसाइ सरेर काराकसमा आए । ६ भाइबहिनीमध्ये कान्छी फ्लोरेस आफ्नो परिवारसँग कराकसको पश्चिमी भागमा रहेका दुई घना जनसंख्या भएका क्षेत्रहरू क्याटिया र बोकेरोनमै हुर्किइन् । ३२ वर्षको उमेरमा उनले सान्ता मारियाको निजी विश्वविद्यालयमा कानुनको अध्ययन पूरा गरिन् र पछि फौजदारी एवम् श्रम कानुनमा विशेषज्ञता हासिल गरिन् । 

सन् १९९२ को फेब्रुअरीमा ह्युगो चाभेजको नेतृत्वमा 'कू' प्रयास असफल भएपछि उनको जीवनले नयाँ मोड लियो । फ्लोरेस कूको योजना बनाउने सैन्य अधिकारीहरूको बचाउ गर्ने वकिलहरूको टोलीमा सामेल भइन् । पछि उनी चाभेजको राजनीतिक परियोजनामा जोडिइन् । यही समयतिर फ्लोरेसले मादुरोलाई भेटिन् । त्यस समयका तस्बिरहरूमा मादुरो प्रायः सार्वजनिक कार्यक्रमहरूमा चाभेजसँगै सुरक्षा गार्डका रूपमा काम गरिरहेका देखिन्छन् । 

Cilia-Flores2

‘जिन्दगीको यात्राले मलाई सिलियासँग भेटाइदियो । उनी सरकारले जेलमा थुनेका कैयौं देशभक्त सैन्य अधिकारीहरूको वकिल थिइन् । यसबाहेक उनी कमान्डर चाभेजको वकिल पनि थिइन् र जेलमा कमान्डर चाभेजको वकिल हुनु गाह्रो काम थियो,’ मादुरोले भनेका छन् । सिलिया र आफू संघर्षका वर्षहरूमा भेटिएको र त्यसपछि विस्तारै एकअर्काको नजिक आए उनले बताएका थिए । त्यसबेलादेखि दुवैको भाग्य चाभेज र उनको राजनीतिक आन्दोलन 'चाभेजवाद'सँग गाँसियो । 

सांसद र वकिल 

सन् १९९० को दशकमा फ्लोरेसले चाभेजसँग सम्बन्धित धेरै संस्थाहरूमा काम गरिन् । सन् १९९८ को राष्ट्रपति चुनावबाट चाभेज सत्तामा आएसँगै उनी धेरै महत्त्वपूर्ण पदहरूमा पुगिन् । सन् २००० मा फ्लोरेस राष्ट्रिय सभामा निर्वाचित भइन् र २००६ मा चाभेजले दोस्रो कार्यकाल जित्दा सिलिया संसद्को अध्यक्षता गर्ने पहिलो महिला बनिन् । ६ वर्षसम्म उनले लगभग एकदलीय संसदको नेतृत्व गरिन् । फ्लोरेसले आफूलाई चाभेजको एक कट्टर सहयोगी साबित गरिन् । राष्ट्रिय सभाको अध्यक्षका रूपमा उनको कार्यकाल विवादमुक्त भने थिएन् । उनले प्रेसलाई संसद् कक्षमा प्रवेश गर्नबाट पनि रोक लगाइन् । यो प्रतिबन्ध सन् २०१६ जनवरीसम्म कायम रह्यो । भेनेजुएलाको विपक्षी दलहरूले नयाँ चुनावपछि राष्ट्रिय सभामा बहुमत पाएपछि भने यो प्रतिबन्ध हट्यो । 

फ्लोरेसमाथि नातावादको आरोप पनि छ । उनले आफ्नो परिवारका धेरै सदस्यहरू सहित लगभग ४० जनाको नियुक्तिमा हस्तक्षेप गरेको कर्मचारी संगठनहरूको आरोप छ । सन् २०१२ को सुरुमा चाभेजले सिलियालाई देशको महान्यायाधिवक्ता नियुक्त गरे । उनले २०१३ मार्चमा चाभेजको मृत्यु हुँदासम्म यो पद सम्हालिन् । 

मादुरो राष्ट्रपति निर्वाचित भएको तीन महिनापछि अर्थात् २०१३ को जुलाईमा दुवैको बिहे भयो र फ्लोरेस प्रथम महिला बनिन् । यसले उनीहरूको लामो समयदेखिको सम्बन्धलाई औपचारिकता दियो । यस समयमा उनीहरूले आ–आफ्ना अघिल्ला विवाहबाट जन्मिएका सन्तानलाई एकसाथ हुर्काएका थिए । अघिल्लो बिहेबाट फ्लोरेसका तीन र मादुरोको एक सन्तान थिए । सन् २०१५ को चुनावमा फ्लोरेस राष्ट्रिय सभामा पुनः निर्वाचित भइन् । यद्यपि यस पटक उनी १५ वर्षमा पहिलो पटक अल्पसंख्यकमा थिइन् । दुई वर्षपछि सन् २०१७ को अगस्टमा उनले संसद्बाट राजीनामा दिइन् र नवनिर्वाचित विवादास्पद राष्ट्रिय संविधान सभाको सदस्य बनिन् । 

Cilia-Flores4

सन् २०१५ को मेमा फ्लोरेसले सार्वजनिक नेटवर्कमा ‘विथ सिलिया, एज अ फेमिली’ नाम गरेको टीभी कार्यक्रम सुरु गरिन् । एक वर्षपछि उनले सरकारी रेडियोमा ‘डिसिजन्स’ नामक कार्यक्रम चलाउन थालिन् । तर हालैका वर्षहरूमा सञ्चारमाध्यमको ध्यान सिलियामाथि नभएर उनको परिवारमा केन्द्रित रह्यो । सन् २०१५ को नोभेम्बरमा न्युयोर्कका एक अभियोजकले सिलियाका दुई भतिजाहरूलाई लागुपदार्थको तस्करी आरोप लगाए । उनीहरूलाई हैटीमा पक्राउ गरेर अमेरिकी औषधि प्रवर्तन प्रशासन (डीईए)लाई बुझाइयो । 

यस घटनापछि फ्लोरेसले अमेरिकी अधिकारीहरूलाई आफ्ना भतिजाहरूलाई अपहरण गरेको आरोप लगाएकी थिइन् । सन् २०१७ को डिसेम्बरमा एक न्यायाधीशले फ्लोरेसका दुई भतिजालाई लागुपदार्थको तस्करीको लागि १८ वर्षको जेल सजाय सुनाए । यी दुईले काराकासको मैक्वेटिया विमानस्थलमा रहेको राष्ट्रपतिको ह्याङ्गर प्रयोग गर्ने षड्यन्त्र गरिरहेको अभियोजकहरूको आरोप थियो, त्यहाँबाट ८०० किलोग्राम कोकेन होन्डुरस र अमेरिका पठाउन लागिएको उनीहरूको आरोप थियो । 

सन् २०२२ को अक्टोबरमा सम्झौताको एक भागको रूपमा दुई जनालाई रिहा गरियो । तत्कालीन राष्ट्रपति जो बाइडेनले भेनेजुएलामा कैद गरिएका सात अमेरिकी नागरिकहरूलाई फिर्ता गरेको बदलामा सिलियाका भतिजाहरूलाई माफी दिइएको थियो, तर ट्रम्प ह्वाइट हाउस फर्किएसँगै सिलियाका यी दुई भतिजा र परिवारका अन्य सदस्यहरूमाथि प्रतिबन्धहरू पुनः लगाइयो । यतिबेला मादुरो र फ्लोरेस दुवै समस्यामा छन् । यी दुई माथि सोमबार अमेरिकाले लागु औषध तस्करी र आतंकवादसम्बन्धी मुद्दा चलाउँदै छ । –बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप