विभाजनको सङ्घारमा रहेको कांग्रेस जोगाउन भण्डारी र शर्माको अभियान
सारांश
- नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले पार्टी फुटबाट जोगाउन एकताको वकालत गरेका छन्।
- महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि नेताहरूले दुवै पक्षलाई सहमतिमा ल्याउन दबाब दिएका हुन्।
- नेताहरूले पार्टी सभापति देउवालाई सम्मानजनक बिदाइ गर्ने र एकता कायम राख्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षबिचको विवाद उत्कर्षमा पुगेर पार्टी फुटको डिलमा पुगेका बेला प्रभावशाली नेताहरूले एकताको वकालत सुरु गरेका छन्। पार्टी निर्णयविपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि उत्पन्न सङ्कट टार्न नेता डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मासहितका नेताहरूले सक्रियता बढाएका हुन्।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले कांग्रेसलाई फुटबाट जोगाएर मुलुकको नेतृत्व गर्ने शक्तिका रूपमा स्थापित गर्न दुवै पक्षलाई दबाब दिएका छन्। पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने कित्तामा आफूहरू उभिएको स्पष्ट पार्दै नेता चन्द्र भण्डारीले आइतबारबाट सुरु हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा ग्रहण गर्न आग्रह गरे।
उनले यस कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका संस्थापन पक्षका नेताहरूलाई पनि सहभागी हुन आह्वान गरेका छन्। मुलुकको वर्तमान सङ्कट समाधानका लागि पनि कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिँदै भण्डारीले नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरे। पार्टीभित्रको आन्तरिक कलहले लोकतन्त्र नै कमजोर हुन सक्नेतर्फ संकेत गर्दै उनले सबै नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास भइरहेको बताए।
यस्तै, अर्का नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू सहभागी हुने विश्वास व्यक्त गरे। उनले आफूहरू सभापति देउवालाई अपमानित गर्ने पक्षमा नभई सम्मानजनक बिदाइको पक्षमा रहेको प्रष्ट पारे। पार्टीको एकता नै मुख्य प्राथमिकता भएको बताउँदै शर्माले डा. शेखर कोइराला पनि एकताकै पक्षमा रहेको दाबी गरे। पार्टीलाई विभाजन गरेर कसैको पनि हित नहुने निष्कर्ष निकाल्दै मध्यमार्गी नेताहरूले दुवै पक्षलाई सहमतिमा ल्याउन अन्तिम कसरत गरिरहेका छन्।
भोलिबाट सुरु हुने भनिएको विशेष महाधिवेशनले कांग्रेसभित्रको शक्ति सन्तुलन र एकताको भविष्य निर्धारण गर्ने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण