शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बालेन शाह : भावनात्मक लोकप्रियता बनाम संरचनागत यथार्थ

बालेन झापाबाट निर्वाचित हुन खोज्नु संरचनागत राजनीतिक यथार्थको कसीमा ठिक कि बेठिक ?
बुधबार, ३० पुस २०८२, १० : ३९
बुधबार, ३० पुस २०८२

सारांश

  • लेखमा निर्वाचनमा जनमतको व्याख्या, राजनीतिक दल र मतदाताको सम्बन्धबारे चर्चा गरिएको छ।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजनीतिक भूमिका र उनको सम्भावित निर्वाचन क्षेत्रको विश्लेषण गरिएको छ।
  • बालेन शाहको पराजयले परिवर्तनको ऊर्जा कमजोर हुने र पुराना शक्तिलाई नैतिक बल मिल्ने विश्लेषण गरिएको छ।
00:00 / NaN:NaN
Audio By AI

लोकतान्त्रिक सिद्धान्तअनुसार चुनाव जनइच्छाको अभिव्यक्ति हो । आदर्श अवस्थामा मतदाताले उम्मेदवारको क्षमता, दृष्टि र नीतिगत स्पष्टताको आधारमा निर्णय गर्छन् । तर व्यावहारिक राजनीति सधैँ सिद्धान्तअनुरूप चल्दैन । विशेषगरी विकासोन्मुख लोकतन्त्रहरूमा निर्वाचन व्यवहारलाई केवल ‘जनप्रियता’ का आधारमा मात्र व्याख्या गर्न सकिँदैन । 

संगठनात्मक शक्ति, दलीय संरचना, क्याडरको निष्ठा, स्थानीय सामाजिक सम्बन्ध तथा ऐतिहासिक राजनीतिक संस्कारहरूले निर्वाचनमा निर्णायक भूमिका खेल्ने गर्छन् । नेपाल यसको ज्वलन्त उदाहरण हो ।

नेपालको बहुदलीय राजनीतिक संरचनामा क्याडरमा आधारित मतदान आज पनि उत्तिकै प्रभावशाली छ । ग्रामीण तथा अर्ध–सहरी क्षेत्रहरूमा मतदाता प्रायः पार्टी–पहिचानसँग गहिरो रूपमा जोडिएका हुन्छन् । उम्मेदवार परिवर्तन हुन सक्छ, तर भोट परिवर्तन हुँदैन । 

राजनीतिक समाजशास्त्रले यसलाई ‘पार्टिसन एलाइन्मेन्ट’ को रूपमा व्याख्या गर्छ । यही यथार्थका कारण स्वतन्त्र वा गैर–परम्परागत राजनीतिक व्यक्तित्वका लागि केही निर्वाचन क्षेत्र संरचनागत रूपमै प्रतिकूल हुने गर्छन् ।

यस सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको राजनीतिक भूमिकालाई विश्लेषण गर्नु आवश्यक छ । बालेन शाह कुनै सामान्य स्थानीय तहका जनप्रतिनिधि मात्र होइनन् । उनी परम्परागत राजनीतिक दलहरूको कार्यशैलीप्रतिको जनआक्रोशबाट जन्मिएका एक प्रतीकात्मक नेतृत्व हुन् । 

उनको उदयले सहरी मध्यम वर्ग, युवा पुस्ता र निराश मतदातामा राजनीति फरक तरिकाले पनि सम्भव छ भन्ने विश्वास जगाएको छ । यस अर्थमा, बालेन व्यक्ति मात्र होइनन्; उनी परिवर्तनको राजनीतिक विम्ब हुन् ।

तर राजनीतिक प्रतीकहरू जोगाउन भावनात्मक समर्थन मात्र पर्याप्त हुँदैन; तिनलाई रणनीतिक रूपमा स्थापित गर्न सक्नुपर्छ । हाल सार्वजनिक बहसमा आएको झापा–५ जस्तो निर्वाचन क्षेत्रबाट बालेन शाहलाई उम्मेदवार बन्न प्रेरित गर्ने प्रवृत्तिलाई यही कोणबाट विश्लेषण गर्नुपर्छ ।

झापा क्षेत्र ऐतिहासिक रूपमा संगठित दलीय राजनीतिले प्रभुत्व जमाएको क्षेत्र हो । यहाँ क्याडर नेटवर्क बलियो छ, पार्टी संरचनाले जरा गाडेको छ र मतदाताको व्यवहार दीर्घकालीन दलीय निष्ठाबाट निर्देशित छ । यस्ता क्षेत्रमा व्यक्तिगत लोकप्रियता प्रभावशाली भए पनि निर्णायक बन्न कठिन हुन्छ । 

राजनीतिक विज्ञानमा यसलाई ‘स्ट्रक्चरल डिसएडभान्टेज’ अर्थात् संरचनागत हानी भनिन्छ; जहाँ उम्मेदवारको व्यक्तिगत गुणभन्दा राजनीतिक संरचना भारी पर्छ ।

यही यथार्थ बुझेका केही राजनीतिक शक्ति वा दलका कार्यकर्ताहरूले बालेन शाहलाई सोही क्षेत्रबाट उम्मेदवार बन्न उक्साइरहेका छन् भन्ने आशङ्का निराधार छैन । सतहमा हेर्दा यो समर्थन जस्तो देखिए पनि, गहिरो रूपमा हेर्दा यसमा उनलाई निर्वाचनमा पराजित गर्ने रणनीतिक स्वार्थ लुकेको हुन सक्छ । 

यदि बालेन शाह जस्तो व्यक्ति पराजित हुन्छ भने त्यसले पुराना शक्तिहरूलाई नैतिक बल प्रदान गर्छ र आम नागरिकमा फैलिएको परिवर्तनको ऊर्जालाई यसले कमजोर पार्छ ।

यदि बालेन शाह पराजित भए भने त्यसको राजनीतिक अर्थ केवल एउटा निर्वाचनको हारमा मात्र सीमित रहने छैन । त्यसलाई वैकल्पिक राजनीति असफल भयो भन्ने कथानकसँग जोडेर पस्किइने छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ राजनीतिक शक्तिहरूको भूमिकालाई पनि यसै सन्दर्भमा हेर्नुपर्छ । नयाँ दलहरूको मुख्य पुँजी नै परिवर्तनको आशा हो । यदि परिवर्तनको प्रतीक मानिएका व्यक्तिहरू रणनीतिक भूलका कारण पराजित हुन्छन् भने त्यसले दलभन्दा बाहिर व्यापक ठुलो हलचल ल्याउने निश्चित छ । 

त्यसैले राजनीतिक परिपक्वता भनेको भावनात्मक उत्साह मात्र होइन, वस्तुगत यथार्थको सूक्ष्म मूल्याङ्कन पनि हो ।

इतिहासले देखाएको छ कि नेपालमा धेरै सम्भावनाशील राजनीतिक पात्रहरू गलत समय र गलत निर्णयका कारण ओझेलमा परेका छन् । रणनीतिबिना लडिएको चुनाव साहस होइन, जोखिम हो । बालेन शाहको राजनीतिक भविष्य केवल उनको व्यक्तिगत करियरको प्रश्न होइन; यो देशमा संस्थागत सुधार, सुशासन र उत्तरदायी शासनको एजेन्डासँग प्रत्यक्ष जोडिएको विषय हो ।

यदि बालेन शाह जस्तो व्यक्ति पराजित हुन्छ भने त्यसले पुराना शक्तिहरूलाई नैतिक बल प्रदान गर्छ र आम नागरिकमा फैलिएको परिवर्तनको ऊर्जालाई यसले कमजोर पार्छ । त्यसैले आजको बहस कसलाई रोक्ने भन्दा पनि कसरी जित्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।

निष्कर्षमा भन्दा बालेन शाह कुनै पनि बहकाउमा लाग्नु हुँदैन । निर्वाचन क्षेत्र चयन राजनीतिक रणनीतिको सबैभन्दा संवेदनशील पक्ष हो । जित्ने सम्भावना उच्च भएको, संरचनागत रूपमा अनुकूल र परिवर्तनको सन्देश फैलाउन सकिने क्षेत्रबाट उम्मेदवार बन्नु नै दीर्घकालीन रूपमा देश र लोकतन्त्र दुवैका लागि हितकर हुनेछ । 

भावनाले प्रेरित राजनीति क्षणिक हुन सक्छ, तर विवेक र रणनीतिले निर्देशित राजनीति मात्र दिगो परिवर्तनको आधार बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर ढकाल
महेश्वर ढकाल
लेखकबाट थप