बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नाइजेरियालाई पेनाल्टीमा पन्छाउँदै मोरक्को फाइनलमा

बिहीबार, ०१ माघ २०८२, ०६ : १५
बिहीबार, ०१ माघ २०८२

सारांश

  • मोरक्कोले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान पक्का गर्यो।
  • खेल गोलरहित बराबरीमा टुंगिएपछि मोरक्कोका गोलकिपर यासिन बोनोले पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गरे।
  • फाइनलमा मोरक्कोले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ, जुन खेल आइतबार हुनेछ।

रबात । आयोजक मोरक्को सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै मोरक्कोले उपाधि भिडन्त पक्का गरेको हो। 

निर्धारित र थप गरिएको समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। रबातमा भएको तनावपूर्ण खेलमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने। 

उनले नाइजेरियाका सामुएल चुकवुएजे र ब्रुनो ओन्येमाएचीको प्रहारलाई उत्कृष्ट बचाउ गरे। मोरक्कोका लागि युसेफ एन–नेसरीले अन्तिम पेनाल्टीलाई जाली चुमाउँदै घरेलु समर्थकलाई खुसीको मौका दिए।

खेलको सुरुवातदेखि नै दुवै टोलीले निकै सतर्कता अपनाएका थिए। जारी प्रतियोगिताका सर्वाधिक गोलकर्ता ब्राहिम डियाजले खेलको ३०औँ मिनेटमा गोल गर्ने सुवर्ण मौका गुमाएका थिए। अच्रफ हाकिमीको क्रसमा डियाजले हेडिङ गर्न खोज्दा बल काँधमा लागेर बाहिरिएको थियो। 

उता नाइजेरियाका स्टार स्ट्राइकर भिक्टर ओसिमहेन र एडेमोला लुकम्यानले भने मोरक्कोको बलियो रक्षापंक्ति तोड्न सकेनन्।

यो जितसँगै वालिद रेग्रागुईको टोली सन् २००४ पछि पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको छ। मोरक्को अब सन् १९७६ पछि पहिलो पटक यो प्रतिष्ठित ट्रफी उचाल्ने दाउमा छ।

अब आइतबार हुने फाइनल भिडन्तमा मोरक्कोले साडियो मानेको नेतृत्वमा रहेको सेनेगलको सामना गर्नेछ। सेनेगलले बुधबार नै भएको पहिलो सेमिफाइनलमा इजिप्टलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ। 

घरेलु मैदान र दर्शकको साथ पाएको मोरक्कोका लागि यो ५० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने ऐतिहासिक अवसर हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप