सिर्जना निङ्लेखुलाई प्रश्न : तीनवटै फिल्ममा दयाहाङसँग काम गर्नु संयोग कि रोजाइ ?
सारांश
- अभिनेत्री सिर्जना निङ्लेखुको नयाँ फिल्म 'मिरमिरे' प्रदर्शनमा आएको छ, जसमा उनी शिक्षिकाको भूमिकामा छिन्।
- निङ्लेखुले 'मिरमिरे' सहित तीन फिल्ममा अभिनेता दयाहाङ राईसँग काम गरेकी छिन्, जसलाई उनी आफ्नो 'आइडल' मान्छिन्।
- 'मिरमिरे' बाबु र छोरीको कथामा आधारित छ, जसले बाल मनोविज्ञानलाई उजागर गर्छ र दर्शकलाई भावनात्मक अनुभव दिने लक्ष्य राखेको छ।
काठमाडौँ । सिर्जना निङ्लेखुलाई नेपाली फिल्म क्षेत्रले राम्रैसँग तानिरहेको छ । ‘कार्साङ’ डेब्यु यी अभिनेत्रीले त्यसपछि ‘जारी २’ खेलिन् । अब उनी तेस्रो फिल्म ‘मिरमिरे’ मार्फत दर्शकमाझ आएकी छिन् ।
डियो, टेलिभिजन, म्युजिक भिडियो हुँदै थिएटर पुगेकी सिर्जना अनुप बरालको एक्टर्स स्टुडियोबाट १८ महिनाको थिएटर (रंगमञ्च) कोर्स पूरा गरेपछि फिल्ममा होमिएकी हुन् । संयोग कस्तो छ भने उनले हालसम्म अभिनय गरेका तीनवटै फिल्मको को-एक्टर दयाहाङ राई छन् ।
उनी दयाहाङलाई आफ्नो ‘आइडल’ मान्छिन् । सानैदेखिको रुचिले अभिनय रोजेको बताउने सिर्जना निङ्लेखुलाई रातोपाटीका दर्जन प्रश्न :
अहिले केमा व्यस्त हुनुहुन्छ ?
फिल्म ‘मिरमिरे’कै प्रचारप्रसारमा व्यस्त छु । यो मेरो अभिनय रहेको तेस्रो फिल्म पनि हो । बिहीबारबाट प्रदर्शनमा आएकाे फिल्मलाई सफल बनाउन लागिपरेकी छु । अन्य केही फिल्ममा काम गर्ने कुरा त भइरहेका छन् । तर फाइनल भएको छैन ।
‘मिरमिरे’ प्रदर्शनमा आएसँगै कस्तो महसुस भइरहेको छ ?
म त एकदमै खुसी छु । दर्शकहरूले फिल्मलाई कसरी लिनुहुन्छ होला भन्ने उत्सुकता छ । यो मेरो लागि एउटा टर्निङ पोइन्ट पनि हो । फिल्म राम्रो भयो भने अझ धेरै काम गर्ने हौसला मिल्छ, राम्रो भएन भने अब के गर्ने भन्ने अन्योल पनि हुनसक्छ । तर म धेरै आशावादी छु ।
फिल्ममा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?
फिल्ममा म ‘नुमा मिस’ नामक एउटा शिक्षिका (टिचर)को भूमिकामा छु । वास्तविक जीवनमा टिचरको अनुभव नभएकाले फिल्ममा यो भूमिका निर्वाह गर्दा एकदमै रमाइलो भयो । तर टिचर हुन गाह्रै हुने रहेछ भन्ने महसुस पनि गरे । टिचर बन्न मैले खासै ठुलो रिसर्च त गर्नु परेन, तर बच्चाहरूसँग डिल गर्दा र उनीहरूसँग नजिक भएर काम गर्दा अलि चुनौतीपूर्ण नै हुँदो रहेछ । त्यो महसुस गरें ।
विद्यार्थी हुँदाको टिचरप्रतिको बुझाइ र अहिले अभिनय गर्दामा के भिन्नता पाउनुभयो ?
धेरै फरक पाएँ । विद्यार्थी हुँदा टिचरलाई हेर्ने दृष्टिकोण एउटा हुन्थ्यो । कहिलेकाहीँ रिस पनि उठ्यो । अहिले टिचर बनेर विद्यार्थीहरूलाई गाइड गर्दा र उनीहरूको चक्चक्याइँ सम्हाल्दा निकै गाह्रो हुने रहेछ । टिचर के हो ? टिचरको महत्त्व के रहेछ ? लगायत धेरै विषय महसुस भयो । टिचरहरूले विद्यार्थीलाई सम्हाल्न कति मेहनत गर्नुपर्ने रहेछ भन्ने कुराको अनुभव भयो । फिल्म अभिनयपछि टिचरप्रतिको सम्मान झन् बढेर आयो ।
डेब्यु फिल्म ‘कार्साङ’देखि ‘मिरमिरे’सम्म तीन फिल्ममा अभिनय गर्नुभयो । तीनै फिल्म दयाहाङसँग छ । यो रोजाइ कि संयोग ?
दयाहाङ दाई मेरो पहिलो प्राथमिकता र रोजाइ त हो नै, तर यसलाई संयोग पनि भन्न सकिन्छ । उहाँसँग मेरो यो तेस्रो फिल्म हो । यसअघि ‘कार्साङ’ र ‘जारी २’ मा पनि मैले उहाँसँगै काम गरिसकेकी छु ।
दयाहाङ राईसँग लगातार काम गर्दा तपाईंलाई के फाइदा भयो ?
दयाहाङ अभिनयमा मेरो ‘आइडल’ नै हुनुहुन्छ । उहाँसँग काम गर्दा धेरै कुरा सिक्न पाइन्छ । अभिनयलाई कसरी गहिरो गरी बुझ्ने र कसरी रिसर्च गर्ने भन्ने कुरा उहाँको सङ्गतबाट सिक्ने मौका पाएँ । पहिला अभिनयलाई अलि सजिलो सोच्थेँ, तर दया दाइसँगको कामले यो धेरै गम्भीर र रिसर्च गर्नुपर्ने विषय रहेछ भन्ने बुझाएको छ । उहाँसँग काम गर्दा धेरै कुरा बुझ्ने र सिक्ने अवसर मिल्यो । मलाई त उहाँसँग काम गर्दा फाइदै-फाइदा भएको छ ।
_bvGK5pTpkM.jpg)
कतिपय कलाकार एउटै फिल्मबाट ठुलो चर्चा बटुल्छन् । तपाईंले तीनवटा फिल्म खेलिसक्दा पनि खासै चर्चामा छैन । किन ओझेलमा ?
म यो क्षेत्रमा चर्चा कमाउन भन्दा पनि काम गर्न आएकी हुँ । चर्चाका लागि त अरू धेरै कुरा गर्न सकिन्थ्यो होला, तर मलाई कामको हिसाबले मात्र दर्शक र मेकरसम्म पुग्नु छ । मैले पहिलो फिल्मबाटै ‘बेस्ट डेब्यु एक्ट्रेस’को अवार्ड पाइसकेकी छु, त्यो मेरो कामको चर्चा हो । बाहिर देखिने व्यक्तिगत चर्चामा म त्यति धेरै रुचि राख्दिनँ, मेरो कामको चर्चा होस् भन्ने चाहन्छु । जुन भइरहेको छ ।
अबका दिनमा कस्ता फिल्म वा भूमिका गर्ने इच्छा छ ?
मलाई सुहाउने र मैले न्याय गर्न सक्ने जुनसुकै भूमिका खेल्न तयार छु । व्यक्तिगत रूपमा चाहिँ महिलाको कथामा केन्द्रित भएका फिल्महरूमा काम गर्ने विशेष रुचि छ ।
किन रोज्नु भयो कलाकारिता ?
कलाकारिता मेरो सानैदेखिको रुचि हो । मेरो यात्रा मिडियाबाट सुरु भएको हो । एसएलसीपछि रेडियोमा काम गरेँ, त्यसपछि टेलिभिजन, म्युजिक भिडियो हुँदै अनुप बराल सरको ‘एक्टर्स स्टुडियो’मा थिएटर पनि गरेँ । १८ महिनाको कोर्ष गरेपछि फिल्ममा आउने रहर थियो, तर हाम्रा कथाहरू नदेखिएकाले अलि समय ओझेलमै रहेँ । केही वर्ष बाहिर बसेर फर्किएपछि बल्ल ‘कार्साङ’ मार्फत यो क्षेत्रमा प्रवेश गरेँ । अहिले कथा र कलाकारको अनुहार त्यस्तै खोजिन थालेको छ । अभिनयको कुरा गर्ने हो भने यो मेरो नसा–नसामा छ, यो मेरो प्यासन हो ।
कलाकारितामा आफ्नो भविष्य कति देख्नुहुन्छ ?
देख्छु, किन नदेख्नु नि । यदि राम्रो काम पाइराखेँ भने मेरो आजीवन यसैमा काम गरिरहने सोच छ । एउटा–दुइटा फिल्म चलेन भन्दैमा फ्रस्ट्रेसन भएर छोड्ने मान्छे म होइन । मेरो परिवारको पनि राम्रो सपोर्ट छ र म व्यक्तिगत रूपमा पनि सेटल नै छु । त्यसैले मलाई काम पाइञ्जेल अभिनयमै लागिरहनु छ ।
_diirQeoUir.jpg)
कलाकारिता बाहेक अरू पेसामा पनि आवद्ध हुनुहुन्छ कि ?
मेरो बुटिक व्यवसाय पनि छ । त्यो पनि निरन्तर चलिरहन्छ ।
‘मिरमिरे’को विषयमा दर्शकलाई केही भन्नु छ नि ?
‘मिरमिरे’ मुख्यतया बाबु र छोरीको कथामा आधारित फिल्म हो । यसले बच्चाको मनोविज्ञानलाई समेटेको छ । घामजस्तै न्यानो र मिठो माया बाबु–छोरीको सम्बन्ध र अरू पात्रहरूसँगको सम्बन्ध फिल्ममा देखाइएको छ । फिल्मले विशेषगरी अभिभावकलाई बच्चाको साइकोलोजी बुझ्न सजिलो गर्छ । दर्शकलाई फिल्म एकपटक हेरेर राम्रो नराम्रो जे लाग्छ भनिदिनुहोला । फिल्ममा बाल कलाकारले पनि निकै राम्रो काम गरेका छन् । बाबु–छोरीको प्रेम र भावनात्मक सम्बन्धले धेरैको मन छुनेछ । हलमा जाँदा मन दह्रो बनाएर जानुहोला । नत्र फिल्म हेरेर रुन सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण