बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोक–२ मा नेकपाबाट प्रदेश संसद् दुलालले पाए टिकट

आइतबार, ०४ माघ २०८२, १० : ४७
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेकपाले सिन्धुपाल्चोक-२ मा युवराज दुलाल 'शरद'लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
  • दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिई माघ ६ गते मनोनयन दर्ता गर्नेछन्।
  • दुलालले अघिल्लो निर्वाचनमा कांग्रेससँगको गठबन्धनका कारण प्रदेशमा झर्नु परेको थियो।

सिन्धुपाल्चोक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ मा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ लाई उम्मेदवार बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक–२ का लागि दुलाललाई टिकट प्रदान गरेका हुन् ।

सिन्धुपाल्चोक २ (क)बाट २ पटक प्रदेशसभा सदस्य निर्वाचित भएका दुलालले टिकट पाएसँगै प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेर माघ ६ गते हुने प्रतिनिधिसभा सदस्य पदकका लागि मनोनयन दर्ता गर्नेछन् । दुलाल २०७४ र २०७९ मा सो क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

दुलाल लामो समय सरकारमा रहे । प्रदेशको सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी टिकट पाउनु अघि नै निर्वाचन क्षेत्रमा सक्रिय भइसकेका छन् । उनको नाम क्षेत्रीय समिति र जिल्ला कमिटिबाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको थियो ।

प्रदेशसभाको पहिलो कार्यकालमा दुलाल २०७४ फागुनदेखि २०७७ पुस ५ सम्म र दोस्रो कार्यकालमा २०७९ पुस २५ देखि २०८१ साउनसम्म प्रदेशको मन्त्री बनेका थिए । उनले पहिलो कार्यकालमा प्रदेशको सामाजिक विकास मन्त्रालय र दोस्रो कार्यकालमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

दुलालले प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा रहँदा कार्यान्वयन ल्याएको एक विद्यालय एक नर्स, विद्यालय बस तथा मुख्यमन्त्री जनता कार्यक्रम प्रभावकारी देखिएको थियो भने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रादेशिक सडक गुरु योजना तयारी गरी कार्यान्वयनमा ल्याएका थिए । 

गुरु योजना अन्तर्गत प्रदेशका रणनीतिक सडकका रूपमा २५० वटा बाटोहरूलाई प्रादेशिक लोक मार्ग र प्रदेश मार्गको रूपमा निर्धारण गरेर स्तरोन्नतिका लागि स्रोत समेत व्यवस्था गरेका थिए ।

२०७९ को निर्वाचनमा संघमा प्रतिस्पर्धा गर्ने तयारी गरेका दुलाल गठबन्धनका कारण प्रदेशमा नै झरेका थिए । कांग्रेससंगको गठबन्धनका कारण मोहन बहादुर बस्नेतलाई सो क्षेत्र छाडेर प्रदेशमा आएका दुलाल आगामी निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग र कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् । कांग्रेसका बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ भने बस्नेतले हराएका तामाङले एमालेबाट टिकट पाइसकेका छन् । गत निर्वाचनमा बस्नेतलाई सो क्षेत्रमा चुनाव जिताउन दुलालको भूमिका बारे अहिले पनि चर्चा हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप