बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नवीकरणीय ऊर्जाको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउन आवश्यक : उपराष्ट्रपति यादव

आइतबार, ०४ माघ २०८२, ११ : ४९
आइतबार, ०४ माघ २०८२

सारांश

  • उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऊर्जा आयात घटाउन नवीकरणीय ऊर्जाको सदुपयोग गर्नुपर्ने बताए।
  • इप्पानको वार्षिकोत्सवमा बोल्दै उनले ऊर्जा आत्मनिर्भरतालाई जोड दिँदै विकासका लागि पर्याप्त ऊर्जा आवश्यक रहेको उल्लेख गरे।
  • उनले नेपालले छिमेकी मुलुकमा विद्युत निर्यात गरी क्षेत्रीय ऊर्जा व्यापारमा भूमिका खेल्न सक्ने सम्भावना औंल्याए।

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नवीकरणीय ऊर्जाको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउन आवश्यक रहेको बताएका छन्। 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्‍याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे।

उपराष्ट्रपति यादवले नेपाल जलविद्युत तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए। 

ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले पर्याप्त ऊर्जा बिना विकास सम्भव नहुने स्पष्ट पारे। उनका अनुसार सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुनेछ।

उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत गर्ने बताए। 

ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने माध्यमसमेत भएको उनको भनाइ थियो। 

साथै, नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बङ्गलादेशलगायत छिमेकी मुलुकहरूमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

उनले ऊर्जा उत्पादनमा गुणस्तर, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आधुनिक प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई आत्मसात गर्नुपर्ने बताए। 

ऊर्जा परियोजनाबाट प्रभावित समुदायलाई लाभान्वित हुने व्यवस्था गर्न र उत्पादनदेखि वितरण, भण्डारण तथा निर्यातसम्म दीर्घकालीन रणनीति आवश्यक रहेको उनले औँल्याए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप