बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीको क्षेत्र नं २ र ३ मा स्वतन्त्र उम्मेदवारकै ओइरो

मङ्गलबार, ०६ माघ २०८२, २१ : ५९
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
  • निर्वाचन क्षेत्र नं २ मा विष्णुप्रसाद पौडेल र चुन्नुप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ, जसमा ३६ जनाले उम्मेदवारी दर्ता गराए।
  • निर्वाचन क्षेत्र नं ३ मा वासुदेव घिमिरे, सुशील गुरुङ, डा. लेखजङ्ग थापा र गौरव बोहराबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयहरूका अनुसार जिल्लाका सबै क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ। विशेष गरी निर्वाचन क्षेत्र नं २ र ३ मा उम्मेदवारहरूको सङ्ख्या उल्लेख्य रहेको छ।

निर्वाचन क्षेत्र नं २ मा १९ राजनीतिक दल र १७ जना स्वतन्त्र गरी कुल ३६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए। यस क्षेत्रबाट नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले पुनः उम्मेदवारी दिएका छन्। २०६४ सालदेखि लगातार चार पटक चुनाव जितिसकेका पौडेल यसपटक पाँचौँ जित निकाल्ने दाउमा छन्।

उनलाई नेपाली कांग्रेसका व्यवसायी पृष्ठभूमि भएका चुन्नुप्रसाद पौडेलले चुनौती दिँदैछन्। यस्तै, सोही क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टीका सुवास पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कर्भिका थापाले पनि मनोनयन दर्ता गराएका छन्। मनोनयनपछि नेता पौडेलले जिल्लाको विकासका अधुरा योजना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए।

यसैगरी निर्वाचन क्षेत्र नं ३ मा पनि दलीय र स्वतन्त्र गरी ३६ जनाकै उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार १७ जना दलीय र १९ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

यहाँ एमालेका वासुदेव घिमिरे, कांग्रेसका सुशील गुरुङ, रास्वपाका डा. लेखजङ्ग थापा र राप्रपाका पाइलट गौरव बोहराबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उता क्षेत्र नं १ मा एमालेका दधिराम न्यौपाने, कांग्रेसका हीराबहादुर केसी, राप्रपाका प्रज्ज्वल बोहरा र रास्वपाका सुनील लम्सालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप