बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाल्पावासीको दबाब थेग्न नसकेर उम्मेदवार बनेँ : सोमप्रसाद पाण्डे

शुक्रबार, ०९ माघ २०८२, १६ : ४५
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • सोमप्रसाद पाण्डेले पाल्पा क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियान सुरु गरेका छन्, सिद्धबाबा मन्दिरमा पूजा गरेर प्रचार थाले।
  • उनले पाल्पावासीको आग्रहमा उम्मेदवार बन्न बाध्य भएको र विकास निर्माणमा जोड दिने बताए, साथै सुरुङमार्ग निर्माणमा आफ्नो भूमिकाको दाबी गरे।
  • पाण्डेले सुशासनको मुद्दाप्रति पार्टीको प्रतिबद्धता व्यक्त गर्दै युवाहरूलाई पार्टीमा जोडिन आग्रह गरे, र मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसका उम्मेदवारहरूसँग हुने बताए।

बुटवल । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोमप्रसाद पाण्डेले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले शुक्रबार सिद्धबाबा मन्दिरमा पूजाअर्चना गर्दै औपचारिक रूपमा प्रचारप्रसार थालेका हुन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यसपटक व्यक्तिगत रूपमा चुनावी मैदानमा ओर्लिने इच्छा नभए पनि पाल्पावासीको आग्रहका कारण उम्मेदवार बन्न बाध्य भएको बताए । २०७९ सालको निर्वाचनमा पराजित भएपछि जिल्लाको विकास निर्माणले गति लिन नसकेको गुनासो स्थानीयबाट आएपछि आफू पुनः जनतामाझ आएको उनको दाबी छ । उनले आफू सांसद वा मन्त्री नहुँदा पनि पाल्पाको विकासका लागि निरन्तर खटिरहेको जिकिर गरे ।

पाण्डेले सिद्धबाबा सुरुङमार्ग निर्माणमा आफ्नो भूमिका निर्णायक रहेको दाबी गरे । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सुरुङमार्गका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत नपुग्ने बताएपछि आफूले अनसन बस्ने चेतावनी दिएको उनले स्मरण गरे । सडक बनेयता झण्डै एक हजार जनाले ज्यान गुमाइसकेको भन्दै उनले नागरिकको जीवनभन्दा ठुलो केही नहुने अडान लिएपछि मात्र बजेट सुनिश्चित भएको बताए ।

पछिल्लो समय ‘जेनजी’ ले उठाएको सुशासनको मुद्दाप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै पाण्डेले युवाहरूलाई पार्टीमा जोडिन आग्रह गरे । पाल्पा–२ मा पाण्डेको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका ठाकुर गैरे र नेपाली कांग्रेसका हिमाल दत्त श्रेष्ठसँग हुनेछ । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट एमालेका ठाकुर गैरे विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप