दक्षिण कोरिया जान प्रतिक्षारतका मागबारे सरकार गम्भीर, उच्चस्तरीय टोली पठाइँदै
सारांश
- श्रम मन्त्रालयले दक्षिण कोरिया जान प्रतिक्षारत व्यक्तिका मागप्रति गम्भीरता देखाएको छ।
- मन्त्रालयले समस्या समाधानका लागि कोरिया सरकारसँग छलफल गरिरहेको र वार्ता समिति गठन गरेको छ।
- कोरियाले रोष्टर अवधि थप र सेक्टर परिवर्तन गर्न नसकिने जनाएको छ, र छिट्टै उच्चस्तरीय टोली कोरिया जानेछ।
काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मागहरु राखी दक्षिण कोरिया जान प्रतिक्षारत व्यक्तिहरुकाे मागप्रति मन्त्रालय गम्भीर एवं संवेदनशील रहेको जनाएकाे छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपाल सरकारका तर्फबाट समस्याहरु समाधानका लागि पहल एवं प्रगति भइरहेबारे जानकारी समेत गराएकाे छ।
मागकर्ताहरुले राखेका मागका विषयमा वार्ता समिति समेत गठन गरी ई. पि. एस. कोरिया शाखाले नियमितजसो मन्त्रालय, विभाग, EPS Center Nepal (HRD Korea Nepal), मागरत पक्ष, नेपाली राजदूतावास, सिओल र कोरियाको (मानव संसाधन विकास केन्द्र) सँग अनलाइन मार्फत समस्या सामाधानको पहलका लागि निरन्तर पत्राचार, बैठक, संवाद एवं छलफल गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले मागकर्ताको माग सम्बोधनका सम्बन्धमा कोरिया सरकारका सम्बन्धित निकायसँग छलफल भइरहेको समेत बताएकाे हाे ।
मन्त्रालयबाट समस्या समाधानको पहल भइरहेकोले दक्षिण कोरियासँगको सुमधुर सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने कुनै पनि गितिविधि नर्गन आग्रह गरिएकाे छ ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएकाे छ,'भविष्यमा नेपाली श्रमिकको रोजगारीमा नकारात्मक असर पर्न सक्ने भएको हुँदा अनावश्यक दवाव सिर्जना लगायतका गतिविधि नगर्न नगराउनु हुन सम्बद्ध सबैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ।'
मन्त्रालयबाट समस्या सामाधानका लागि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा औंल्याइएका सुझावहरु सम्बन्धित निकायबाट क्रमशः कार्यान्वयनमा गइरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
मागकर्ताका प्रतिनिधिहरुसँग मन्त्रालयमा भएको सहमति/ निर्णय अनुरुप मन्त्रालयले दक्षिण कोरिया सरकारसँग कुटनितिक पहलका लागि पत्राचार गरी वार्ताको विषयबस्तु समेत निर्धारण भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
साथै कोरियन पक्षबाट आमन्त्रण सहितको जानकारी आए लगत्तै एक उच्च स्तरीय टोली दीर्घकालीन रुपमा समस्या समाधानार्थ छिट्टै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको प्रवक्ता घिमिरेले बताए ।
- मागकर्ताले राखेका विभिन्न मागहरु जस्तैः रोष्टर अवधी थप, रोष्टरमा भएको ९०% पासरहरुको रोजगारी सुनिश्चितता, First Come First Serve अनुसार Issue को प्रबन्ध मिलाउने, रोष्टरमा रहेकालाई प्रथम प्राथमिकता दिनुपर्ने, Sector परिवर्तन गराउनु पर्ने र हरेक पासरहरुको कम्तिमा २० देखि २५ पटक सम्म रोजगारदाताको मागसँग Profile Matching को सुनिश्चितता हुनुपर्ने लगायतका मागहरुका बारेमा मिति २०८२।०९।१८ गते मागकर्ताका प्रतिनिधिहरुसँग मन्त्रालयमा भएको सहमती / निर्णय अनुरुप मन्त्रालयले दक्षिण कोरिया सरकारसँग कुटनितिक पहलका लागि पत्राचार गरी वार्ताको विषयबस्तु समेत निर्धारण भइसकेको र कोरियन पक्षबाट आमन्त्रण सहितको जानकारी आए लगत्तै एक उच्च स्तरीय टोली दीर्घकालीन रुपमा समस्या समाधानार्थ छिट्टै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको ।
- मन्त्रालयबाट समस्या सामाधानका लागि गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा औंल्याइएका सुझावहरु सम्बन्धित निकायबाट क्रमशः कार्यान्वयनमा गइरहेको ।
- यसै सन्दर्भमा मागकर्ताले उठाएका विषयवस्तु तथा समस्या समाधानको सम्बोधनका लागि नेपाली राजदुतावास, सिओल र कोरियाको रोजगार तथा श्रम मन्त्रालय बीच भएको बैठकमा छलफल भएको र सोही विषय HRD Korea को प्राप्त पत्र र प्रेस विज्ञप्ति मार्फत यो प्रणाली लागु भएका विश्वका सबै मुलुकहरुमा एकरुपतापूर्वक लागु भएकोले नेपालको लागि मात्र नियम परिवर्तन गरी हाललाई रोष्टर अवधि थप गर्न नसकिने, Sector परिवर्तन गर्न नसकिने भनी जानकारी प्राप्त भएको साथै कोरियाद्वारा संचालित उक्त परीक्षा प्रणाली पारदर्शी एवं विश्वसनीय रहेको, कुनै पनि व्यक्ति, कर्मचारी वा निकायले आफूले चाहे अनुरुप Job Matching (फाईल पठाउने) गर्न नसकिने गरी स्वचालित अनलाईन प्रणाली रहेको हुँदा यस प्रणालीप्रति कुनै शंका नगर्न नगराउन पुनः स्मरण गराएको छ ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण