सिन्धुपाल्चोकमा विरासत जोगाउने र फर्काउने दबाबमा नेकपा
काठमाडौँ । १२ वर्षपछि एक्लै निर्वाचनमा होमिएको नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र र एकीकृत समाजवादी) सिन्धुपाल्चोक जिल्लाको दुईवटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने दाउमा छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले सिन्धुपाल्चोक–१ बाट माधव सापकोटालाई नै निरन्तरता दिएको छ । सिन्धुपाल्चोक–२ बाट युवराज दुलाललाई उम्मेदवार बनाएको छ ।
सिन्धुपाल्चोक–१ २०६४ सालदेखि लगातार जित्दै आएको क्षेत्र भएकाले विरासत जोगाउने दबाबमा सापकोटा छन् । यो क्षेत्र पूर्वसभामुख तथा नेकपाका प्रभावशाली नेता अग्निप्रसाद सापकोटाको निर्वाचन क्षेत्र हो । अग्निले २०६४, २०७० र २०७४ को निर्वाचन जितेका थिए । २०७९ को निर्वाचनमा उनकै भतिजा माधवले टिकट पाएका थिए । त्यतिबेला कांग्रेसको समर्थनमा उनले निर्वाचन जितेका थिए ।
अघिल्लो निर्वाचनमा ३० हजार ४०८ मत ल्याएर माधव विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सरेस नेपालले २७ हजार ६६ मत प्राप्त गरेका थिए । योपटक पनि उनलाई पुरानै प्रतिस्पर्धी एमालेका उम्मेदवार नेपालले चुनौती दिएका छन् । चुनावी मैदानमा कांग्रेसका जंगबहादुर लामा, रास्वपा भरतप्रसाद पराजुली र राप्रपा राममणि न्यौपाने उत्रिएका छन् । यसपालि कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचन जितेर आएको तीन वर्षमा उनले संघीय संसदमा कानुन निर्माण, सत्ता पक्षले गरेको बदमासीबारे राम्रो प्रस्तुति दिएका कारण लोकप्रिय छवि बनाएका थिए ।
समानुपातिकतर्फ एमालेले २२ हजार ७४ मत ल्याएको थियो । कांग्रेसको १७ हजार २५०, माओवादीको १४ हजार ८८५ र रास्वपाको ५ हजार ३६६ मत थियो । राप्रपाले तीन हजार ५३९ मत ल्याउँदा एकीकृत समाजवादीले जम्मा ६८५ मत प्राप्त गरेको थियो ।
स्थानीय तहमा जितहार
अघिल्लो निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भयो । ६ वटा वडामध्ये वडा नम्बर ३ बाहेक सबै वडामा कांग्रेस विजयी भएको थियो । लिसंखु पाखर गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्षमा माओवादी विजयी भएको थियो । वडा नम्बर १, ३ र ४ मा माओवादी विजयी भएको थियो । वडा नम्बर २ र ७ मा कांग्रेस विजयी भएको थियो भने ५ र ६ एमालेले जितेको थियो ।
सुनकोशी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । सात वडामध्ये १, २, ३ र ४ मा कांग्रेस विजयी भएको थियो । वडा नम्बर ५, ६ र ७ एमाले विजयी भएको थियो । बाह्रबिसे नगरपालिका प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो । वडा नम्बर १, २, ३, ४, ५, ८ र ९ कांग्रेस विजयी भएको थियो । वडा नम्बर ६ र ७ मा एमाले विजयी भएको थियो ।
भोटेकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको थियो । पाँच वडामध्ये १, २ र ५ कांग्रेस विजयी भयो । वडा नम्बर ३ मा स्वतन्त्र र ४ मा एमाले विजयी भएको थियो । जुगल गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस विजयी भएको थियो । वडातर्फ १, ६ र ७ मा कांग्रेस विजयी भएको थियो । २, ३, ४ र ५ नम्बर वडामा एमाले विजयी भएको थियो ।
अघिल्लो निर्वाचनमा बलेफी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेस विजयी भएको थियो । वडा नम्बर १, २, ३, ५, ७ र ८ मा कांग्रेस विजयी भएको थियो । वडा नम्बर ४ मा माओवादी र ६ मा एमाले विजयी भएको थियो । यो निर्वाचन क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर २, ३, ४, ९ र १० पर्छ । २०७९ को निर्वाचनमा वडा नम्बर २ र ३ मा एमाले, ४ नम्बर वडामा माओवादी विजयी भएको थियो । वडा नम्बर ९ र १० मा कांग्रेस विजयी भएको थियो ।
युवराजले मार्लान् बाजी ?
यता पहिलो पटक संघीय संसद्को उम्मेदवार बनेका युवराज दुलाल १८ वर्षअघिको विरासत फर्काउने दाउमा छन् । शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले त्यतिबेला सिन्धुपाल्चोकको तीनवटै क्षेत्र माओवादीले ‘क्लिन स्विप’ गरेको थियो । २०७४ सालमा सिन्धुपाल्चोक–२ (१) बाट बागमती प्रदेशसभामा निर्वाचित भएका दुलाल सामाजिक विकासमन्त्री बने । २०७९ को निर्वाचनमा भौतिक पूर्वाधारमन्त्री बनेका थिए । जेनजी विद्रोहपछि विषम परिस्थितिमा हुन लागेको निर्वाचन प्रयोगनका लागि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पहिलोपटक संघीय प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन् ।
यो क्षेत्र राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राप्रपा कमजोर हुँदा कांग्रेस र एमालेले यस क्षेत्रमा जित्दै आएका छन् । २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार मोहन बस्नेत ३९ हजार ३८१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर तामाङले २७ हजार ५१५ मत प्राप्त गरे । राप्रपाका नरसिंह श्रेष्ठले दुई हजार ८२० मत प्राप्त गर्दा रास्वपाका माया गुरुङले जम्मा दुई हजार ४५३ मत पाए ।
समानुपातिकतर्फ एमालेले २३ हजार ९९५, कांग्रेसले २० हजार ७२०, माओवादीले १५ हजार ५५६ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६२७, रास्वपाले ५ हजार १५४ र एकीकृत समाजवादीले एक हजार १५ मत प्राप्त गरेका थिए ।
अघिल्लो पटक यस क्षेत्रबाट निर्वाचित सांसद टेरामक्स प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा लागेकाले चुनावी मैदानबाट बाहिरिएका छन् । दुलाललाई एमालेका शेरबहादुर तामाङले चुनौती दिएका छन् । कांग्रेसले वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ । रास्वपा झलककुमार श्रेष्ठ र राप्रपाले गोपीकृष्ण चौलागाईंलाई उम्मेदवार बनाएको छ ।
स्थानीय तहमा जितहार
२०७९ को स्थानीय तह निर्वाचनमा पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा यस पालिका अध्यक्ष र उपाध्यक्ष एमाले विजयी भएको थियो । आठ वडामध्ये १, ३, ५, ६, ७ र ८ मा एमाले विजयी भएको थियो । २ नम्बर वडामा कांग्रेस र ४ नम्बर वडामा राप्रपा विजयी भएको थियो ।
हेलम्बु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको थियो । सात वडामध्ये ३ र ६ नम्बर वडा बाहेक सबै कांग्रेस विजयी भएको थियो । मेलम्ची नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी भयो । १३ वटा वडामध्ये १, २, ३, ७, ११ र १३ वडा बाहेक अन्य वडा कांग्रेस विजयी भयो । इन्द्रावती गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै एमाले विजयी भयो । १, ३ ५, ६ र ९ नम्बर वडामा एमाले विजयी भएको थियो । वडा नम्बर २, ४, ८, १० र ११ कांग्रेस विजयी भयो । वडा नम्बर ७ र १२ मा मात्र माओवादी विजयी भएको थियो ।
अघिल्लो निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख माओवादी र उपप्रमुख एकीकृत समाजवादी विजयी भएको थियो । यस नगरपालिकामा १४ वटा वडामध्ये वडा नम्बर १, ५, ६, ७, ८, ११, १२, १३ र १४ पर्छ । वडा नम्बर १ मा एकीकृत समाजवादी, वडा नम्बर ६, ११, १२ र १३ मा माओवादी विजयी भएको थियो । वडा नम्बर ५ र १४ मा एमाले विजयी हुँदा ७ र ८ नम्बर वडामा कांग्रेस विजयी भएको थियो ।
यस्तो छ विगत
२०७०, २०७४ र २०७९ को निर्वाचनमा माओवादी सिन्धुपाल्चोकमा एउटा क्षेत्रमा मात्र सीमित भयो । २०७३ सालमा राज्यपुनर्संरचना भएपछि सिन्धुपाल्चोकलाई दुई क्षेत्र बनाइएको थियो ।
२०४८ को निर्वाचनमा सिन्धुपाल्चोक–१ मा एमालेका अमृतकुमार बोहरा विजयी भएका थिए । क्षेत्र नम्बर २ मा एमालेकै कृष्णराज श्रेष्ठ विजयी भएका थिए । क्षेत्र नम्बर ३ मा राप्रपाका पशुपति शमशेर राणा विजयी भएका थिए ।
२०५१ सालको मध्यावधिमा क्षेत्र नम्बर १ मा एमालेका अमृतकुमार बोहरा नै निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ मा राप्रपाका विष्णुविक्रम थापा र निर्वाचन क्षेत्र नम्बर ३ मा राणाले नै बाजी मारेका थिए ।
२०५६ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा कांग्रेसका मोहनबहादुर बस्नेत, क्षेत्र नम्बर २ मा एमालेका सुभाष कर्माचार्य र क्षेत्र नम्बर ३ मा राप्रपाका राणाले ह्याट्रिक गरेका थिए ।
गणतन्त्र स्थापनापछि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा सिन्धुपाल्लोकको तीनवटै क्षेत्र माओवादीले ‘क्लिन स्विप’ गर्यो । क्षेत्र नम्बर १ बाट राजकुमार श्रेष्ठ, क्षेत्र नम्बर २ बाट अग्निप्रसाद सापकोटा र क्षेत्र नम्बर ३ बाट दावा तामाङ विजयी भएका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भए । क्षेत्र नम्बर २ बाट माओवादीका अग्निप्रसाद सापकोटा र क्षेत्र नम्बर ३ बाट शेरबहादुर तामाङ विजयी भए । २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा अग्नि सापकोटा र क्षेत्र नम्बर २ बाट १ अग्निप्रसाद सापकोटा शेरबहादुर तामाङ विजयी भएका थिए । रोचक कुरा यी तीनवटै निर्वाचनमा राप्रपाका हस्ती राणा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण