शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु

मङ्गलबार, २० माघ २०८२, ०९ : ५३
मङ्गलबार, २० माघ २०८२

सारांश

  • पोखरा पर्यटन परिषद्ले लेकसाइड क्षेत्रलाई सुरक्षित र पर्यटनमैत्री बनाउन अभियान थालेको छ।
  • यस अभियानमा वडा प्रहरी, पर्यटन प्रहरी र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरिएको छ।
  • खुला व्यापार नियन्त्रण, क्युआर कोडको व्यवस्था र सुरक्षा सम्बन्धी जानकारी दिइनेछ।

पोखरा । पर्यटकीय राजधानी पोखराको मुख्य गन्तव्य लेकसाइड क्षेत्रलाई थप सुरक्षित र पर्यटनमैत्री बनाउन पोखरा पर्यटन परिषद्ले विशेष अभियान सुरु गरेको छ। लेकसाइडमा आउने पर्यटकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गरून् र यहाँको वातावरण शान्त रहोस् भन्ने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा यो कार्य थालिएको हो।

परिषद्ले वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि र पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाहरूसँग साझेदारी गर्दै अभियान अघि बढाएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र तत्काल सूचना आदानप्रदान गर्न एउटा ‘ह्वाटस् एप’ ग्रुप समेत तयार गरिएको छ।

अवाञ्छित गतिविधि भएको देख्नासाथ ग्रुपमा वा सम्बन्धित निकायमा खबर गरी तत्काल एक्सन लिने व्यवस्था मिलाइएको छ। परिषद्का महासचिव जीवनराज सापकोटाले विशेष गरी साँझको समयमा सरोकारवाला निकायका प्रतिनिधिहरूसहित स्थलगत अनुगमन गर्ने कार्य भइरहेको जानकारी दिए।

यस अभियान अन्तर्गत खाद्य स्वच्छतालाई ध्यानमा राख्दै सडकपेटी वा साइकलमा गरिने खुला व्यापारलाई पनि नियन्त्रण गर्न थालिएको छ। यस्ता व्यापारले पर्यटकको आवतजावतमा अवरोध पुर्‍याउनुका साथै स्वास्थ्यमा समेत जोखिम हुने भएकाले पहिलो चरणमा सचेत गराइएको र अटेर गरे कानुनी कारबाही गरिने परिषद्ले जनाएको छ।

लेकसाइडको स्वच्छता र पर्यटनमैत्री वातावरण कायम राख्न विभिन्न स्थानमा क्युआर कोडहरू राखिने योजना छ। क्युआर कोड स्क्यान गरेपछि पर्यटक र व्यवसायीले पालना गर्नुपर्ने नियमहरू र सुरक्षा सम्बन्धी जानकारीहरू सहजै प्राप्त गर्न सक्नेछन्।

पोखरालाई सुरक्षित पर्यटकीय हबका रूपमा विकास गर्न थालिएको यो प्रयासले स्वदेशी तथा विदेशी पर्यटकहरूमा सकारात्मक प्रभाव पार्ने र पर्यटन व्यवसायमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप