मुम्बईमा गुञ्जियो ‘नेपाल’, वानखेडे बन्यो ‘मिनी काठमाडौँ’
मुम्बई । आइतबारको त्यो न्यानो र बतास चल्ने दिउँसो मुम्बईको वानखेडे रङ्गशाला भारतको दक्षिणी महानगरभन्दा काठमाडौँको धेरै नजिक महसुस भइरहेको थियो। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत शक्तिशाली इंग्ल्याण्डविरुद्ध नेपाल भिड्दै गर्दा हजारौँ नेपाली समर्थकहरू रङ्गशालामा गाउँदै, नाच्दै र सपना बुन्दै थिए।
३३,००० दर्शक क्षमताको यो प्रतिष्ठित रङ्गशालाका कुना-कुना रातो र नीलो जर्सीको सागरले भरिएको थियो। नेपाली समर्थकहरूले भारतको यो प्रसिद्ध रङ्गशालालाई आफ्नो घरेलु मैदानमा परिणत गरिदिएका थिए।

प्याराफिटमा टाँगिएको ‘फिल द थ्रिल’ (रोमाञ्चको अनुभूति गर) लेखिएको ब्यानरले त्यहाँको माहोललाई ठ्याक्कै चित्रण गरिरहेको थियो, जहाँ नेपाली हुटिङ, बाजागाजा र धुनहरू रङ्गशालाभरि गुञ्जिरहेका थिए।
गालामा नेपालको झण्डा पेन्ट गरेर आएका साना बालबालिकादेखि शिरमा ढाका टोपी लगाएर गर्वका साथ उपस्थित भएका वृद्धवृद्धासम्म– सबै उमेर समूहका समर्थकहरूको उपस्थितिले त्यहाँको वातावरण नेपाली संस्कृतिमा डुबेको कुनै क्रिकेट पर्वजस्तै देखिन्थ्यो।

- ‘हामीले झन्डै जित्यौँ’
मैदानभित्र नेपालका खेलाडीहरूले हालैका वर्षहरूकै सबैभन्दा अविस्मरणीय प्रदर्शन पस्किँदै थिए। तर, खेलको अन्त्य भने निकै पीडादायी भयो। नेपालको साहसिक जवाफी ब्याटिङ अन्तिम बलमा लक्ष्यभन्दा थोरैले मात्र पछि पर्दा नतिजा सुम्पिन बाध्य भयो।
चुनौतीको पहाड बोकेर मैदान उत्रिएको नेपाललाई थाहा थियो कि दुई पटकको विश्व विजेता इंग्ल्याण्डसँग अनुभव र विरासतको ठुलो अन्तर छ। तर पनि उनीहरूको भोक, तीव्रता र निडर शैलीले खेलमा बलियो पकड जमाउने आशा जीवितै थियो।
१८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ‘राइनोज’ (नेपाल) ले एसोसिएट क्रिकेटमा आफूलाई किन सबैभन्दा होनहार टोली मानिन्छ भन्ने प्रमाणित गर्यो। लोकेश बमको अन्तिम समयको वीरतापूर्ण ब्याटिङ तथा रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको आक्रामक इनिङले खेललाई अन्तिम बलसम्म लम्ब्याएको थियो।
‘हामीले झन्डै जित्यौँ, तर खेलाडीमा अनुभवको कमीले गर्दा नतिजा निकाल्न सकेनौँ,’ काठमाडौँबाट मुम्बई पुगेका नेपाली समर्थक सुबोध ढकालले अल जजिरालाई भने, ‘समयसँगै अनुभव आउनेछ, तर टोलीले असाध्यै राम्रो खेल्यो।’

पेसाले डाक्टर र क्रिकेटका कट्टर समर्थक ढकालले नेपाल प्रिमियर लिग (एनपीएल) हेरेपछि आफ्नी श्रीमतीसँग दुईदिने छोटो भ्रमणको योजना बनाएर खेल हेर्न आएका थिए। एनपीएलको विकास नै नेपाली क्रिकेटको प्रगतिमा केन्द्रीय भूमिका खेलिरहेको छ।
ढकाल जस्तै सत्यम पोखरेल पनि काठमाडौँबाटै मुम्बई पुगेका थिए। साथीहरूको समूहसँग आएका पोखरेलले नेपालका बाँकी तीनवटै खेल हेर्न मुम्बईमै बस्ने योजना सुनाए। सबै खेल यही मैदानमा हुनेछन्।
‘नेपालसँग जित्ने एकदमै राम्रो मौका थियो, तर दुर्भाग्यवश भएन,’ उनले भने, ‘खेल धेरै प्रतिस्पर्धात्मक थियो; मलाई टोलीप्रति गर्व छ। उनीहरूले उत्कृष्ट ऊर्जा देखाए र आगामी खेलहरू जित्न सक्षम छन्।’
आइतबार इंग्ल्याण्डविरुद्धको यो साहसिक प्रदर्शन नेपालले बलियो प्रतिद्वन्द्वीलाई आच्छु–आच्छु पारेको पहिलो घटना होइन। विश्वकपभन्दा पाँच महिनाअघि नेपालले वेस्ट इन्डिजलाई ३ खेलको शृङ्खलामा २–१ ले हराएर आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो द्विपक्षीय शृङ्खला जितेको थियो। त्यस्तै २०२४ को टी–२० विश्वकपमा पनि दक्षिण अफ्रिकालाई हराउन नेपाल १ रनले मात्र चुकेको थियो।

सन् २०१४ मा विश्वकपमा डेब्यु गर्दा पनि नेपालले बलियो मानिएको अफगानिस्तानलाई हराएर सनसनी मच्चाएको थियो।
- ‘हामीलाई कमजोर नठान्नुस्’
धेरैका लागि रङ्गशालाको माहोलमा सहभागी हुनु खेल जत्तिकै अविस्मरणीय यात्रा थियो। सुदूरपश्चिमको टीकापुरबाट आएका भुवन रावलले मुम्बई पुग्न बसमा तीन दिनको यात्रा गरेका थिए।

‘यहाँ आउन कति समय वा पैसा लाग्यो भन्ने कुराले मलाई फरक पार्दैन। विश्वकपमा नेपालले खेलेको हेर्न पाउनु मेरो लागि जीवनमा एकपटक आउने अवसर हो,’ २६ वर्षीय रावलले भने।
‘म नेपालबाट करिब २०० देखि ३०० समर्थकहरूसँगै आएको छु। हामीलाई पोहोरदेखि नै खेल तालिका थाहा थियो र वानखेडे रङ्गशालामा उपस्थित हुन उत्साहित थियौँ... मुम्बई अब हाम्रो दोस्रो घर हो!’
विगतमा क्रिकेट खेलेका र हाल जिम ट्रेनर रहेका रावल २० टोली सहभागी यस टी–२० विश्वकपमा नेपालजस्ता तल्लो वरीयताका टोलीहरू केवल सङ्ख्या बढाउन मात्र नआएको विश्वास गर्छन्।
‘हामी सानो देश हुन सक्छौँ, तर नेपाल निकै सुन्दर छ र यहाँको क्रिकेट अद्भुत छ। म बुझ्छु कि आईसीसीका पूर्ण सदस्य र एसोसिएट टोलीहरू बिच अन्तर छ, तर हामीलाई कमजोर नठान्नुस्।’
उनले भने, ‘कुनै पनि टोली यति सानो हुँदैन कि उसले दिग्गजहरूलाई चुनौती दिन नसकोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण