बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दायाँ आँखाको दृष्टि १५ प्रतिशत मात्र बाँकी

शुक्रबार, ०१ फागुन २०८२, ०६ : ५९
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेलमा स्वास्थ्य अवस्था नाजुक बनेको छ, उनको आँखाको दृष्टि कमजोर भएको छ।
  • अदालतको आदेशपछि उनको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ टोली परिचालन गरिने भएको छ र बेलायतमा रहेका छोराहरूसँग कुरा गराइनेछ।
  • इमरान खानको पार्टीले यस घटनालाई राज्यद्वारा गरिएको क्रूरताको संज्ञा दिएको छ र उनको उपचारको माग गरेको छ।

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्था जेलभित्र अत्यन्तै नाजुक बनेको खुलासा भएको छ। सर्वोच्च अदालतले नियुक्त गरेका एमिकस क्युरी (अदालतको सहयोगी) ब्यारिस्टर सलमान सफदरका अनुसार ७३ वर्षीय खानको दायाँ आँखाको दृष्टि अब मात्र १५ प्रतिशत बाँकी छ।

अधिकारीहरूले तीन महिनासम्म उनको गुनासोलाई बेवास्ता गर्दा यो गम्भीर अवस्था आएको दाबी गरिएको छ। ब्यारिस्टर सफदरले फेब्रुअरी १० मा अडियाला जेलमा खानसँग दुई घण्टा लामो कुराकानी र कारागारको निरीक्षण गरेपछि बुधबार सर्वोच्चमा सात पृष्ठको विस्तृत प्रतिवेदन बुझाएका थिए।

उक्त रिपोर्टका अनुसार सन् २०२३ अगस्टदेखि थुनामा रहेका खानले पछिल्लो तीन महिनादेखि धमिलो देख्ने समस्या रहेको बारम्बार बताए पनि जेल प्रशासनले कुनै चासो देखाएको थिएन। फेब्रुअरी ६ को मेडिकल रिपोर्टले उनलाई दायाँ आँखाको नसामा रगत जमेको पुष्टि गरेको छ, जसले रेटिनामा स्थायी क्षति पुर्‍याउन सक्छ।

सर्वोच्चको हस्तक्षेप र आदेश

खानको स्वास्थ्य अवस्थालाई लिएर सर्वोच्च अदालतले गम्भीर चासो देखाएको छ। प्रधानन्यायाधीश याह्या अफ्रिदीले इमरानको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएको भन्दै तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

अदालतले विशेषज्ञ टोलीमार्फत उनको आँखाको परीक्षण गर्न र फेब्रुअरी १६ भित्र बेलायतमा रहेका आफ्ना छोराहरूसँग फोनमा कुरा गराउन जेल प्रशासनलाई कडा आदेश दिएको छ। ब्यारिस्टर सफदरले खान निकै तनावमा रहेको र भेटघाटका क्रममा आँखाबाट लगातार पानी बगिरहेको बताएका छन्।

पार्टीको आक्रोश र चेतावनी

इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले यस घटनालाई राज्यद्वारा गरिएको क्रूरताको संज्ञा दिएको छ। बिहीबार जारी विज्ञप्तिमा पीटीआईले खानको स्वास्थ्यमा पुर्‍याइएको कुनै पनि क्षतिको हिसाब किताब लिइने चेतावनी दिएको छ।

पार्टीले उनलाई तत्काल आफ्नै निजी चिकित्सकहरूबाट उपचार गराउन र विशेषज्ञ अस्पतालमा स्थानान्तरण गर्न माग गरेको छ। साथै, परिवार र वकिलहरूसँगको भेटघाटमा लगाइएको प्रतिबन्ध हटाउनु उनको मौलिक अधिकार भएको उल्लेख गरिएको छ।

सन् २०१८ मा प्रधानमन्त्री बनेका खानलाई २०२२ मा अविश्वासको प्रस्तावमार्फत पदच्युत गरिएको थियो। त्यसयता उनले सयौँ कानुनी मुद्दाहरूको सामना गरिरहेका छन्।

हालको रिपोर्टले उनी करिब दुई वर्ष चार महिनादेखि एकान्त कारावासमा रहेको पुष्टि गरेको छ। सन् २०२४ जुनमा संयुक्त राष्ट्र संघको कार्यदलले पनि खानको थुनालाई कानुनी आधार नभएको र उनलाई राजनीतिबाट बाहिर राख्ने नियतले प्रेरित भएको निष्कर्ष निकालेको थियो। खानले भने आफ्नो गिरफ्तारी र सत्ताच्युत हुनुमा सैन्य नेतृत्व र विदेशी शक्तिहरूको हात रहेको आरोप लगाउँदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप