मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकाको लगातार दोस्रो जित, नामिबिया प्रतियोगिताबाट बाहिरियो

आइतबार, ०३ फागुन २०८२, १९ : १२
आइतबार, ०३ फागुन २०८२

सारांश

  • आईसीसी टी२० विश्वकपमा अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गर्यो।
  • अमेरिकाले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १९९ रन बनायो, जसमा सञ्जय कृष्णमूर्तिले ६८ रन बनाए।
  • नामिबियाले १६८ रन मात्रै बनाउन सक्यो र टी२० विश्वकप २०२६ बाट बाहिरियो।

चेन्नई । आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार भएको समूह ‘ए’ अन्तर्गतको २६औँ खेलमा अमेरिकाले नामीबियालाई ३१ रनले पराजित गरेको हो ।

चेन्नईस्थित चेपक स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै नामिबियासामु २०० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । उनले ३३ बलमा ६ छक्का र ४ चौकासहित सर्वाधिक ६८ रन जोडे । कप्तान मोनांक पटेलले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए ।

नामिबियाका कप्तान जेरार्ड इरास्मस र विलेम माईबर्गले समान २–२ विकेट लिए । रूबेन ट्रम्पलम्यान भने महँगा सावित भए, उनले ४ ओभरमा ५२ रन खर्चिए ।

२०० रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनमै सीमित भयो । टोलीका लागि लॉरेन स्टीनक्याम्पले ५८ रनको योगदान दिए भने जेजे स्मिटले ३१ रन बनाए। अमेरिकाका शैड्ली भान शाल्कविकले सर्वाधिक २ विकेट लिए ।

यस हारसँगै नामिबिया टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । समूह ‘ए’ मा उसले खेलेका तीनवटै खेलमा पराजय बेहोरेको छ । नामिबियालाई पराजित गर्दै अमेरिका भने अझै पनि क्वालिफिकेसन चरणको दौडमा कायम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप