शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटल ग्राउण्ड : स्याङ्जा-१

एउटै बैंक हाँकेका सहयात्री चुनावी मैदानमा, भारी पर्न सक्छन् धनञ्जय

बिहीबार, ०७ फागुन २०८२, १२ : ००
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • मुक्तिनाथ विकास बैंकका पूर्व सीईओ र अध्यक्ष स्याङ्जा क्षेत्र नम्बर-१ मा प्रतिनिधि सभा सदस्यको लागि प्रतिस्पर्धा गर्दैछन्।
  • कांग्रेस र एमालेका उम्मेदवारहरूबीच रास्वपाका डा. धनञ्जय रेग्मीले पनि प्रतिस्पर्धा गर्दैछन्, जसले पर्यटन र विकासको एजेन्डा अघि सारेका छन्।
  • स्याङ्जा-१ मा विगतमा कांग्रेस र एमालेको वर्चस्व रहेपनि यसपटक त्रिशङ्कु प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा छन्।

पोखरा  कुनैबेला मुक्तिनाथ विकास बैंकलाई उत्कृष्ट बनाउन एउटै टेबलमा बसेर योजना बुन्थे भरत ढकाल र मीनप्रसाद गुरुङ । स्याङ्जामा प्रधान कार्यालय रहेको यो बैंक अहिले देशैभरी फैलिएको छ । १२ वर्षसम्म बैंकको प्रमुख कार्यकारी अधिकृत र पछि अध्यक्ष भएर ढकालले कार्यकाल पूरा गरे ।

गुरुङ पनि एक कार्यकाल अध्यक्ष भएर बैंक सम्हाले । गुरुङ अध्यक्ष भएकै समयमा ढकाल सीईओ थिए । अहिले उनीहरू दुबैजना एक अर्कालाई हराउने अभियानमा छन् । स्याङ्जा क्षेत्र नम्बर-१ बाट उनीहरू प्रतिनिधि सभा सांसदको प्रतिश्पर्धी बनेर चुनावी मैदानमा उत्रिएका हुन् । ढकाललाई काँग्रेसले टिकट दिएको हो भने गुरुङ एमालेका उम्मेदवार हुन् ।

‘हिजो बैंक बनाउँदा हामी सहयात्री थियौँ । आज राजनीतिमा प्रतिस्पर्धी बनेका छौँ,’ मीन भन्छन्, ‘यो लोकतन्त्रको सुन्दर पक्ष हो । प्रतिस्पर्धा नभएको भए राम्रो हुन्थ्यो, तर अब मैदानमा उत्रिसकेपछि म यसलाई सहज र सौहार्दपूर्ण रूपमा लिन्छु ।’ गुरुङ २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएर कार्यकाल पूरा गरिसकेका व्यक्ति हुन् । ढकाल चाहिँ राजनीतिमा नयाँ अनुहार हुन् । पार्टी राजनीतिमा सक्रिय भएपनि उनले आम निर्वाचन फेस गरेका छैनन् । उनीहरू २०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापना गर्दाका संस्थापक सहयात्री हुन् ।

स्याङ्जा १ मा १२ जना उम्मेदवार मैदानमा छन् । उनीहरू बैंकमा लगाएको रोजगारीलाई पछ्याएर चुनाव जित्ने दाउमा छन् । ‘हामी एउटै डुङ्गाका यात्री हौँ । एउटै सपना बोकेर बैंक बनायौँ । तर आज समय र आवश्यकता बदलिएको छ,’ भरत भन्छन्, ‘मैले सीईओको रूपमा जसरी संस्थाको नेतृत्व गरेर नतिजा देखाएँ, अब राजनीतिमा पनि त्यस्तै भिजन मसँग छ । मेरो प्रतिस्पर्धा व्यक्तिसँग होइन, एजेन्डासँग हो ।’ सामाजिक क्षेत्रमा पनि उनीहरू उत्तिकै सक्रिय हुन् । कांग्रेस एमालेको ब्याटलमा रास्वपाले नेपाल पर्यटन बोर्डका पूर्व सीईओ डा. धनञ्जय रेग्मीलाई उभ्याएको छ । रेग्मी पछिल्लो ६ महिनायता क्षेत्रको घरदैलोमा सक्रिय छन् । रास्वपा प्रवेश गरेकै दिनदेखी उनी मतदाता भेट्ने र भोट माग्ने गरिरहेका थिए ।

जापानबाट ‘इकोनोमिक साइन्स’ मा विद्यावारिधि गरेका उनी हिमताल र जलवायु परिवर्तनका विज्ञ हुन् । विगतको इतिहास हेर्दा स्याङ्जा-१ मा कांग्रेस र एमालेकै वर्चस्व रहँदै आएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका राजु थापा विजयी हुँदा एमाले दोस्रो र रास्वपा तेस्रो स्थानमा थियो । अहिले पुराना दलहरूप्रति नागरिकको चरम असन्तुष्टि रहेको अवस्था छ । त्यसो त, कमजोर संगठनमा चुनाव जित्न रास्वपालाई पनि सहज छैन । ‘उहाँहरू दुवै जना सम्मानयोग्य हुनुहुन्छ, तर उहाँहरूले प्रतिनिधित्व गर्ने परम्परागत दल र विचारले अब देश चल्दैन,’ रेग्मी भन्छन्, ‘म पर्यटन र विकासको विज्ञ हुँ । मसँग स्याङ्जाको माटो सुहाउँदो पर्यटन र अर्थतन्त्रको स्पष्ट खाका छ ।’

धेरैले यो क्षेत्रमा त्रिशङ्कु प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । त्यसो त, नेपाली कम्युनिस्ट पार्टीले पूर्व लडाकु शैलेन्द्र घिमिरेलाई अघि सारेको छ । विद्यार्थी राजनीति हुँदै भूमिगत जीवन बिताएका उनी तीन दलको प्रतिस्पर्धामा जित्ने दाउ खोजिरहेका छन् । तर, नेकपा यो क्षेत्रमा निकै कमजोर छ । १ लाख ३० हजार ८ सय ८६ मतदाता रहेको यो क्षेत्रमा सबै उम्मेदवार आफ्ना एजेन्डा सहित मतदाताको घरदैलोमा छन् ।

पहिलाका चुनावमा के थियो नतिजा ?
स्याङ्जा-१ यसअघि कांग्रेस र एमालेले मिश्रित नतिजा निकालेका छन् । २०४८ सालमा कांग्रेसका गोपालमान श्रेष्ठले १७ हजार २ सय ६६ मत सहित जित हासिल गरेका थिए भने एमालेका उम्मेद्वारले १० हजार २ सय ६२ मत मात्रै पाएका थिए । २०५१ मा एमालेका त्रिलोचन शर्मा ढकाल निर्वाचित भएका थिए भने २०५६ मा एमालेकै हितकाजी गुरुङ थिए ।

२०५१ म त्रिलोचनले २० हजार ९ सय ६९ मत सहित जित हासिल गर्दा काँग्रेसका क्या. रुद्रमान गुरुङको १७ हजार ९ सय ७४ मत आएको थियो । ५६ मा हितकाजीले २२ हजार ७ सय ३३ मत ल्याउँदा काँग्रेसका जगतबन्धु अर्यालले २० हजार ७ सय २२ मत पाए । २०६४ मा पनि एमालेकै हितकाजी गुरुङले १८ हजार १ सय १ मत सहित जित दर्ता गराए ।

२०७० मा काँग्रेसका राजु थापाले १६ हजार ६ सय ९९ मत ल्याएर विजयी हुँदा एमालेका नारायण मरासिनीले १४ हजार ४ सय ११ मत पाए । तत्कालीन माओवादीका शैलेन्द्र घिमिरेले ४ हजार ७ सय १० मत मात्रै पाए । उनै शैलेन्द्र अहिले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार छन् । २०७४ मा एमालेका नारायण मरासिनी ३९ हजार २ सय २६ मत सहित विजयी हुँदा काँग्रेसका राजु थापाले २८ हजार ६ सय ६२ मत मात्रै पाए । २०७९ सालमा काँग्रेसका राजु थापाले ३१ हजार ९ सय ९९ मत सहित जित हासिल गर्दा एमालेका नारायण मरासिनी २८ हजार ७ सय ४४ मत ल्याएर पराजित भए ।रास्वपाका बोधराज रेग्मीले ६ हजार ६५ मत पाएका थिए ।

समानुपातिकमा भने एमाले पहिलो दल बन्यो । एमालेले २६ हजार १२ मत ल्याउँदा काँग्रेसले २५ हजार ४ सय ३१ मत पाएको थियो । रास्वपाले ११ हजार २ सय ७६ मत पाएको थियो । नेकपा माओवादीको भने ३ हजार ५ सय ७९ मत मात्रै आयो । काँग्रेस एमालेका उम्मेदवारहरु यसअघि आफू सरकारमा हुँदा गरेका कामको विवरण लिएर मत मागिरहेका छन् भने रास्वपाका उम्मेदवारले यसअघिका सरकारले केही पनि काम नगरेकोले रास्वपालाई जिताउनुपर्ने भन्दै भोट मागेका छन् । सबैले सुशासन र पारदर्शितालाई मुख्य एजेन्डा बनाएका छन् भने बसाइसराईं रोक्नेदेखि रोजगारी सिर्जना गर्नेसम्म प्रतिबद्धता जनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप