बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : डडेलधुरा

मैदानबाहिर देउवा, तर डडेलधुराको चुनावी माहोलमा उनकै दबदबा

उम्मेदवारदेखि मतदातासम्ममा देउवाकै चर्चा
आइतबार, १० फागुन २०८२, १२ : ००
आइतबार, १० फागुन २०८२

सारांश

  • डडेलधुरामा निर्वाचन प्रचार तीव्र भइरहेको छ, तर मतदाताको ध्यान शेरबहादुर देउवाप्रति बढी छ।
  • उम्मेदवारहरूले देउवाको आलोचना गर्नुको साटो उनलाई राष्ट्रिय व्यक्तित्वको रूपमा व्याख्या गर्दै उनकै जस्तै काम गर्ने प्रतिबद्धता जनाएका छन्।
  • विभिन्न दलका उम्मेदवारहरूले देउवाप्रतिको सहानुभूतिको भावना व्यक्त गर्दै उनलाई चुनावमा नपाएकोमा दुःख व्यक्त गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

डडेलधुरा । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएको छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा तथा पार्टीका घोषणापत्र लिएर मतदातामाझ गइरहेका छन् भने मतदाताहरू पनि आफ्नो क्षेत्रका उम्मेदवारबारे बुझ्ने, धारणा बनाउने प्रक्रियामा सामेल भइरहेका छन् ।

डडेलधुराका मतदातामा भने निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारभन्दा पनि सक्रिय राजनीतिबाट ‘रिङ आउट’ भएका शेरबहादुर देउवाप्रतिको चासो बढी देखिन्छ । दोस्रो कार्यकाल नेपाली कांग्रेसको नेतृत्व गरिरहेको अवस्थामा विशेष महाधिवेशनमार्फत पदमुक्त गरिएका देउवाको गृहजिल्ला हो डडेलधुरा । यहाँका कतिपय मतदातामा देउवाको राजनीतिक बहिर्गमन ‘अस्वाभाविक’ रहेको बुझाइ छ ।

मतदातामा देउवाप्रति अझै सहानुभूति रहेको बुझेर नै हुन सक्छ, डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका अधिकांशले देउवाको आलोचना गर्न सकेका छैनन् । बरु, उम्मेदवारहरू पनि देउवालाई ‘राष्ट्रिय व्यक्तित्व’का रूपमा व्याख्या गर्दै देउवाले जस्तै आफू पनि डडेलधुरावासीको भरोसा बन्ने प्रतिबद्धता जनाउने गर्दछन् ।

नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महरले आफ्नो चुनाव प्रचारमा देउवाको अभाव खट्किएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले डडेलधुराका मतदाताले देउवालाई खोजिरहेको पनि प्रस्ट पारे ।

‘आफूले देउताजस्तै मानेको एउटा नेता, नेताभन्दा पनि अभिभावक नै मानेको जो व्यक्तित्व छ, त्यो यतिबेला नआउँदाखेरि जनताको मन खिन्न भएको छ,’ महरले भने, ‘यहाँका जनताले उहाँ (देउवा)लाई स्पर्श गर्न चाहन्छन्, माया गर्न चाहन्छन्, सुमसुम्याउन चाहन्छन् । नेतासँग आफ्ना दुःखका कुरा, पीडा पोख्न चाहन्छन्, रुन चाहन्छन्, अङ्कमाल गर्न चाहन्छन् ।’

महरले नेपालमा अहिले भएका नेतामध्ये देशकै राष्ट्रवादी नेता देउवा रहेको दाबीसमेत गरे । ‘नेशनलिस्ट लिडर भनेकै शेरबहादुर देउवा हो, आज पनि भन्न सक्छु म,’ उनले भने ।

नेपाली कांग्रेसभित्र नआउनुपर्ने समस्या आएको महरले बताए । यद्यपि पार्टीभित्रको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले चुनावको बेला यसबारे धेरै व्याख्या गर्नुपर्ने जरुरी नरहेको बताए । ‘पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले अन्याय गर्‍यो भनेर हाम्रो मुद्दा अदालतमा विचाराधीन छ, तर त्यसका बाबजुद कांग्रेसले चुनावमा भाग लिने निर्णय गरिसकेको थियो । चुनावमा जानुपर्छ भनेर हामी सबै चुनावमा गएका हौँ,’ उनले भने ।

चुनावमा जान्छौँ भनेर गइसकेपछि शेरबहादुर देउवाले पनि कांग्रेसको पक्षमा मत माग्नुपर्छ मेरो आफ्नो राय रहेको महरले प्रस्ट पारे । उनले देउवाको पालामा सुरु भएका विकास निर्माणका योजनालाई आफूले निरन्तरता दिने योजना पनि सुनाए ।

यता, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मान सिंह मालले पनि देउवाप्रति सहानुभूति प्रकट गरे । ‘हामीमा मानवता, समवेदना हुनुपर्छ । भावना बिनाको मानवताले काम गर्दैन,’ उनले भने, ‘आन्दोलन हुन्छ, राजनीतिक परिवर्तन हुन्छ, त्यो फरक कुरा हो । ८० वर्षको वृद्धमाथि जो अभद्र व्यवहार भयो, त्यो राम्रो होइन ।’

नेपाली कांग्रेसकै कार्यकर्ताहरूले हिजो देउवा शक्तिमा हुँदा राज्यसत्तालाई दुरुपयोग गर्दै देउवालाई जनतामा जान नदिएको नेकपाका उम्मेदवार मालले बताए । उनले भने, ‘उहाँले गर्न चाहेका काम पनि गर्न दिएनन्, किनकि गाउँमा के छ भन्ने कुरा उहाँले जानकारी नै पाउनु भएन । उहाँलाई जनतासम्म आउन नदिने र जनतालाई पनि उहाँसम्म पुग्न नदिने काम भयो ।’

देउवा पाँच पटक प्रधानमन्त्री बन्नु डडेलधुरा जिल्लाका लागि सौभाग्यको कुरा रहेको मालले बताए । उनले भने, ‘तर त्यसलाई सदुपयोग गर्न सकेनौँ, त्यो दुर्भाग्य हो । त्यसकारणले उहाँमाथि भएको जो अभद्र व्यवहार छ, त्यो खेदजनक छ । त्यसमा मेरो उहाँप्रति सहानुभूति पनि छ ।’

डडेलधुरावासीमा पनि आफूले देउवाप्रति सहानुभूति देखेको जिकिर गर्दै उनले यो निर्वाचनमा कांग्रेसबाट देउवा फेरि उम्मेदवार बनेको भए प्रतिस्पर्धा एकोहोरो हुन्थ्यो भन्ने आफूलाई लागेको प्रस्ट पारे । उनले भने, ‘उहाँले कुटपिट पनि खानुभएको छ, पार्टीबाट धकेलिएर, गलहत्त्याएर उहाँलाई निकालेको पनि छ । त्यसैले अन्तिम पटक देउवालाई नै जिताउनुपर्छ भन्ने खालको एउटा सहानुभूति पनि पाएँ । तर पार्टीले उहाँलाई टिकट दिएन, त्यो कांग्रेसको आन्तरिक कुरा भयो ।’

डडेलधुरामा कांग्रेस कार्यकर्ता यतिबेला विभाजित अवस्थामा देखिएको मालको भनाइ छ । ‘अहिले देउवाको जो प्रतिनिधि हुँ भनेर आउनुभएको छ, उहाँले देउवालाई छलेर टिकट ल्याउनुभएको रैछ भनेर गाउँगाउँमा कांग्रेसकै कार्यकर्ताले भनिराख्या छन्,’ उनले भने, ‘हामी त देउवाका कारण कांग्रेस भएका हौँ, देउवाबिनाको कांग्रेस हुन सक्दैनौँ भनेर कांग्रेसकै कतिपय कार्यकर्ताहरूले भनिरहेका छन् ।’

डडेलधुरामा देउवाको राजनीतिक युगमा एमाले तुलनात्मक रूपमा निकै कमजोर देखिन्थ्यो । देउवा राजनीतिक मैदानबाट बाहिरिएसँगै एमालेका उम्मेदवार चक्र प्रसाद स्नेही पनि उत्साहित छन् । डडेलधुरावासी राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने दलकै पक्षमा उभिने विश्वास व्यक्त गर्दै उनले देउवा युगको अन्त्यसँगै अब एमाले एउटा बलियो विकल्प बन्न सक्ने सम्भावना औँल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशी पनि देउवा चुनावी मैदानमा नभएका कारण मतदाताहरूमा विकल्प खोज्ने अवसर बढेको बताउँछन् ।

पेसाले शिक्षक रहेका कारण नाम नखुलाउन आग्रह गर्दै अमरगढी नगरपालिका निवासी एक मतदाताले भने, ‘०४८ सालको चुनाव अघि नेपालमा डडेलधुराको खासै पहिचान थिएन । जब यहाँबाट सांसद जितेर देउवा गृहमन्त्री बन्नुभयो, त्यसपछि डडेलधुराले देउवाकै कारण देशभर राम्ररी चिनिने मौका पायो ।’

अमरगढी–५ निवासी तुलसी देवी पन्त पनि देउवाको तुलना अरूसँग हुन नसक्ने बताउँछिन् । उनले भनिन्, ‘काम त देउवाले गरेकै हुन् । केही गरेनन् भन्ने होइन । अरूले यति पनि के गर्लान् !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप