बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

१५ हजार भन्दा बढी प्रहरी र निर्वाचन प्रहरी खटिए
मङ्गलबार, १२ फागुन २०८२, १७ : ०८
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • कर्णाली प्रदेशमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
  • निर्वाचनका लागि आवश्यक सामग्रीहरू जिल्लाहरूमा पुगिसकेका छन्, र सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • हिमाली जिल्लाहरूमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिने र सेनाले कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मा लिएको छ।

सुर्खेत । कर्णाली प्रदेशमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा छ । निर्वाचन हुन ९ दिन मात्र बाँकी रहँदा सम्बन्धित क्षेत्रहरूमा सुरक्षा परिचालनलाई कडाइ गर्नुका साथै निर्वाचन सम्बन्धित सामग्रीहरू ढुवानीका काम भइरहेका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको रातोपाटीलाई बताए । 

अब जिल्लाहरूबाट सम्बन्धित मतदान स्थलहरूसम्म पुर्‍याउने काम भइरहेको छ । ‘निर्वाचनसँग सम्बन्धित सामग्रीहरू सबै पठाउने काम भइरहेको छ,’ उनले भने, ‘भोलि र पर्सी सबै जिल्लाहरूमा जानुपर्ने थप जनशक्तिहरू र अरू सामानहरू पुगिसक्छ ।’

उनका अनुसार, १५ हजार बढी प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएका छन् । जसमा ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लामा खटिन लागेका प्रहरीहरूलाई विशेष निर्देशन दिइसकेका छन्।  

यस्तै, कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा नेपाली सेनाले लिएको छ । यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो ।

कर्णालीमा रहेका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षामा सेना खटिसकेको शाहले बताए । ‘सेनाले ड्युटी लिइसकेको छ,’ उनले भने । 

कर्णालीका हिमाली जिल्लामा निर्वाचन सामग्रीदेखि मतदानमा समस्या हुनसक्ने चिन्ता छ । शाहका अनुसार, अहिलेसम्म हिमाली जिल्लाका दुर्गम भेगमा रहेका मतदान स्थलहरूमा निर्वाचन सामग्रीदेखि मतदान पश्चात् मतपत्र सङ्कलनको काममा हेलिकप्टर परिचालन गर्ने कुरा छ । ‘अहिलेसम्म ‘हेली ड्रप’ गर्ने र निर्वाचन पश्चात् हलीबाटै ल्याउने भन्ने चाहिँ छ,’ उनले भने, ‘हामीले पनि त्यही अनुसार योजना बनाएर जिल्लाहरुमा पठाइसकेको अवस्था छ।’

यस्तै, हिमाली जिल्लाको सुरक्षा निकायहरूले थप केन्द्रमा राखेर ध्यान दिएको अवस्था छ । विशेषगरि हिउँले गर्दा समस्या भइरहेको छ, हिमालमा । त्यहाँ सेनाले नियमित गस्ती गर्ने काम गरिरहेको छ, भौगोलिक रूपमा विकट स्थानमा रहेका र सडक सञ्जाल नपुगेका ठाउँमा घोडाको सहारा लिएर पनि गस्ती गरिरहेको छ ।

कर्णालीमा मतदानका लागि १० लाख ३७ हजार २५० जना कुल मतदाता सङ्ख्या रहेको छ । यद्यपि त्यसको ६०—७० प्रतिशत मात्रै मत खस्ने आकलन गरिएको छ । यस्तै, यहाँ ९४१ मतदान स्थल र १४ सय ३७ मतदान केन्द्रहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप