दुसमन्था चमिरा : चोटलाई जितेर उदाएका ‘फिनिक्स’
सारांश
- दुसमन्था चमिराले टी-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।
- चमिराको चोटग्रस्त करियर र पुनरागमनको कथालाई विश्लेषण गरिएको छ।
- चमिराको बलिङ शैली, उच्च गति, र टोलीको लागि उनको महत्वबारे चर्चा गरिएको छ।
कोलम्बो । पल्लेकेलेको मैदानमा देखिएको त्यो दृश्य श्रीलंकाली क्रिकेट समर्थकहरूका लागि निकै परिचित थियो। सायद उनीहरू यो दृश्य वर्षौंदेखि अझ धेरै पटक देख्न चाहन्थे : एक अग्लो र छरितो कद, सायद विगतभन्दा अहिले अलि बढी मांसपेशी भएको, क्रिजतर्फ लयात्मक रूपमा दौडिरहेको थियो।
टाढैबाट चिन्न सकिने छाती खोलेर दौडिने त्यो शैली, सधैँ झैँ उत्कृष्ट बलिङ एक्सन, र हेडमास्टर आएको एक्कासि थाहा पाउँदा सतर्क हुने विद्यार्थीझैँ बलको सिम एकदमै सिधा र ठाडो थियो।
न त बलिङ गर्नुअघि कुनै लामो रोकिने, न ४५ डिग्रीको कोणबाट स्लिङ्गी एक्सन, न त कुहिनोको कुनै अप्ठ्यारो घुमाइ। ब्याटरलाई झुक्याउनका लागि कुनै अनौठो वा परम्पराभन्दा फरक शैलीको प्रयोग त्यहाँ थिएन। उनको बलिङ शैली वास्तवमै एकदमै सीधा र सरल छ : कुदेर आउने, तीव्र गतिमा फ्याँक्ने, र सटिक लाइन-लेन्थमा बलिङ गर्ने।

तर, त्यसको नतिजा भने सोचेभन्दा निकै खतरनाक हुन्छ। गुड लेन्थबाट अचानक भित्रतर्फ (इन-स्विङ) आएको यो बलले इंग्ल्यान्डका बेन डकेटलाई पसिना छुटायो। अम्पायरले आउट नदिए पनि दुसमन्था चमिरा पूर्ण रूपमा विश्वस्त थिए, र उनको त्यही विश्वासले कप्तान दासुन शनाकालाई ‘रिभ्यु’ लिन बाध्य बनायो।
टिभी स्क्रिनमा छिट्टै तीनवटा रातो बत्ती बलियो प्रमाणसहित देखा पर्यो : बल सिधै मिडल स्टम्पको माथिल्लो भागमा लाग्दै थियो। र, जम्मा दुई बलको सामना गरेपछि इंग्ल्यान्डले आफ्नो पहिलो विकेट गुमायो।
करिब ९० मिनेटपछि चमिरा फेरि तीव्र गतिमा कुदेर बलिङ गर्न आए। यस पटक बल फुल र वाइड थियो, तर वाइडको रेखाभन्दा ठ्याक्कै भित्र। साम करनले त्यसलाई कभरको माथिबाट प्रहार गर्ने प्रयास गरे तर बलले डीप थर्डमा रहेका फिल्डरको हात चुम्यो।
शरीरले बारम्बार धोका दिए पनि, उनी हरेक पटक मैदानमा फर्किएर आफूलाई श्रीलंकाको प्रमुख फास्ट बलर साबित गरिरहेका छन् ।
इनिङ्स समाप्त भयो, श्रीलंका आफ्नो उत्कृष्ट प्रदर्शनबाट दङ्ग थियो। श्रीलंकाली जर्सीमा डेब्यु गरेको झन्डै ११ वर्षपछि, चमिरा हातमा म्याच बल लिएर मैदानबाट बाहिरिए । उनले भर्खरै २४ रन खर्चेर ५ विकेट लिँदै टी- २० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो फाइभ विकेट हल पूरा गरेका थिए ।
विश्वकप सुरु हुनु एकहप्ता अघिको यो उत्कृष्ट स्पेलले विश्वलाई फेरि याद दिलायो कि किन ३४ वर्षको उमेरमा पनि उनी श्रीलंकाको सबैभन्दा घातक फास्ट- बलिङ हतियार हुन् । यद्यपि, मैदानमा देखिएका यस्ता हरेक जादुयी क्षणहरूको पछाडि फिजियोको टेबलको त्यो कालो छायाँ सँगसँगै हिँडिरहेको हुन्छ, जसले उनको अधिकांश करियरलाई परिभाषित गरेको छ।
अनि सँगै एउटा नमिठो प्रश्न पनि उठ्छ, ‘यदि उनलाई चोट नलागेको भए उनी अझै कति महान् बन्न सक्थे होलान् ? ’
चमिराको क्रिकेट करियरको कथा उनको मेडिकल फाइलबाट कहिल्यै अलग गर्न सकिँदैन। सन् २०१६ मा कम्मरको तल्लो भागमा भएको स्ट्रेस फ्र्याक्चर देखि चोटकै कारण बिचमै छोड्नुपरेको २०२२ को टी-२० विश्वकपलगतै गरिएको गोलीगाँठो र पिँडौलाको शल्यक्रियासम्म, उनले आफ्ना समकालीन खेलाडीहरूले भन्दा बढी समय अस्पतालको पुनर्स्थापना कक्षमा बिताएका छन्।
भर्खरै जुलाई २०२४ मा पनि श्वासप्रश्वासको संक्रमणका कारण उनी भारत विरुद्धको महत्त्वपूर्ण सिरिजबाट बाहिरिन बाध्य भए भने सोही वर्ष उनले तिघ्राको चोटको पनि सामना गर्नुपर्यो। तर यी असमयका विश्राम र चोटहरूबाट फर्किएपछि उनले देखाउने उत्कृष्ट र निरन्तरको प्रदर्शन नै त्यो कारण हो, जसले श्रीलंकालाई चमिराविना मैदानमा उत्रिन असम्भव जस्तै बनाइदिन्छ।
उनी टोलीका लागि एउटा यस्तो मेसिन हुन् जसलाई जतिबेला जोड्दा पनि उत्तिकै राम्रो काम गर्छस उनी क्रिकेटका टी- १००० रोबोट जस्तै हुन्, जसले करियरमा जतिसुकै ठूलो चोट र धक्का व्यहोरे पनि कुनै जादुमयी तरिकाले आफूलाई पुनर्निर्माण गर्छन् र कुनै चोट नै नलागेको जसरी उही लयमा मैदानमा फर्किन्छन्।

जुन २०२३ मा, नौ महिना लामो अनुपस्थितिपछि मैदानमा फर्किंदा उनले अफगानिस्तानविरुद्धको एकदिवसीय खेलमा १८ रन दिएर २ विकेट लिए भने लगत्तै अर्को खेलमा ६३ रन खर्चेर ४ विकेट झारे। त्यस्तै, जुलाई २०२५ मा चोटका कारण एक वर्षभन्दा बढी समय मैदानबाहिर रहेपछि उनले बंगलादेशविरुद्धको सिरिजमा पुनरागमन गरे।
उक्त सिरिजमा पनि उनले सहजै लय समात्दै ३७ रनमा १ र ५१ रनमा ३ विकेट लिएर टोलीको प्रमुख फास्ट बलरको रूपमा आफ्नो स्थान तत्कालै सुरक्षित गरे।
चमिराको हालैको टी- २० फर्मले उनी कहिल्यै पनि आफ्नो लय र गति गुमाउँदैनन् भन्ने कुराको बलियो प्रमाण दिन्छ। अवरोध र चोटहरूले भरिएको करियर भए पनि उनले टी-२० अन्तर्राष्ट्रियमा १८.३ को उत्कृष्ट स्ट्राइक रेट कायम राखेका छन्।
२० महिना लामो विश्रामपछि सेप्टेम्बरदेखि यता उनले लगातार २० वटा टी-२० खेल खेलेका छन्। यस अवधिमा उनले जम्मा १३.३ को अविश्वसनीय स्ट्राइक रेटमा ३४ विकेट हात पारेका छन् । यो उनको कुल टी-२० अन्तर्राष्ट्रिय विकेटको ३८५ हो । यस क्रममा उनी जम्मा दुई खेलमा मात्र विकेटविहीन बनेका छन्।
त्यसैले, जारी विश्वकपमा उनको भूमिका निर्णायक हुनु कुनै अचम्मको कुरा होइन। अस्ट्रेलिया र ओमानविरुद्धको महत्त्वपूर्ण जितमा उनले बलिङ आक्रमणको नेतृत्व गरे ।
उनले साबित गरे कि अक्सर १४५ किलोमिटर प्रतिघण्टा भन्दा माथिको उनको स्वाभाविक गति उमेरसँगै घटेको छैनस बरु उनले त्यस्तो गम्भीर शारीरिक चोट र थकानलाई चुनौती दिएका छन्, जसले अरू जो कोही खेलाडीको करियर नै समाप्त गरिदिन सक्थ्यो।

पछिल्लो समय उनले आफ्नो बहुमुखी प्रतिभामार्फत टोलीका कमजोरीहरू पनि परिपूर्ति गरिरहेका छन्। वानिन्दु हसरंगा घाइते हुँदा श्रीलंकाले मध्य ओभरमा एउटा महत्त्वपूर्ण हतियार गुमायो, तब चमिराले त्यो जिम्मेवारी आफ्नै काँधमा लिए। इंग्ल्यान्डविरुद्धको सुपर- ८ को खेलमा, मध्य ओभरमा रनको गति रोक्न मद्दत पुगोस् भनेर उनलाई आठौँ ओभरसम्म बलिङमा ल्याइएको थिएन।
उनले आफ्नो बलिङ कलालाई अझ तिखारेका छन्। उनी अब केवल तीव्र गतिमा मात्र सीमित छैनन्, बरु आकर्षक स्लोअर बल र बलियो कटर मा पनि महारत हासिल गरेका छन्। पिचले साथ दिएको खण्डमा उनको लेग-कटर धेरैजसो स्पिनरहरूको लेग-ब्रेक भन्दा बढी घुम्छ।
तर अझ प्रभावशाली कुरा के छ भने, यी सीपहरू उमेर बढ्दै गएर गति घटेका कारण सिकिएका विकल्पहरू होइनन् : उनी अझै पनि पिचमा जोडतोडले बल बजार्छन् र आफ्नो निरन्तरको उच्च गतिले ब्याटरहरूलाई हम्मे हम्मे पारिरहेका हुन्छन्।
सन् २०१४ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यमा श्रीलंका अघि बढिरहँदा, चमिरा टोलीका एक अनुभवी सिनियर खेलाडी मात्र होइनन्, उनी एक बाँच्न सफल योद्धा का रूपमा उभिएका छन्।
उनको शरीर चोटले थिलथिलो भएर निरन्तर मेडिकल स्याहारको पर्खाइमा होला, तर उनको कहिल्यै हार नमान्ने अदम्य साहसले यो कुराको जीवन्त प्रमाण दिन्छ कि संसारमा कुनै पनि बाधा वा चोट परास्त गर्न नसकिने हुँदैन। -ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026