बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुजाराबानीको बाउन्स र राजाको स्पिनले भारतलाई चुनौती दिने लक्ष्यमा जिम्बावे

बिहीबार, १४ फागुन २०८२, १३ : १२
बिहीबार, १४ फागुन २०८२

सारांश

  • जिम्बावेले भारतविरुद्ध बलिङ भेरियसनको सहारामा नतिजा निकाल्ने लक्ष्य राखेको छ।
  • रिचर्ड नगरावा फिट भएपछि जिम्बावेसँग तीन तीव्र गतिका बलर छन्, जसमा ब्लेसिङ मुजाराबानीले नेतृत्व गरिरहेका छन्।
  • बर्लका अनुसार, जिम्बावेको सफलताको मुख्य कारण ठुलो टोलीविरुद्ध नियमित खेल्न पाउनु हो।

काठमाडौँ । जिम्बावेले भारतविरुद्ध बलिङ भेरियसनको सहारामा आफ्नो पक्षमा नतिजा निकाल्ने लक्ष्य राखेको छ । वानखेडेमा वेस्ट इन्डिजका पावर–हिटरहरूले जिम्बावेलाई दबाबमा पारे पनि अलराउन्डर रायन बर्लका अनुसार टोलीको बलिङ भेरियसनले भारतविरुद्ध आशा जगाएको छ ।

रिचर्ड नगरावा फिट भएपछि जिम्बावेसँग अब तीन तीव्र गतिका बलर छन्, जसको नेतृत्व ब्लेसिङ मुजाराबानीले गरिरहेका छन् । साथै टोलीमा स्पिनका झन्डै सबै प्रकारका विकल्प उपलब्ध छन् । जसमा ग्रेम क्रेमर (लेगस्पिन), सिकन्दर राजा (अफस्पिन र मिस्ट्री स्पिन) र वेलिङ्टन मसाकाड्जा (देब्रे हातको फिङ्गर स्पिन) छन् । बिहीबार चेन्नईको कालो माटोको पिचमा कसरी संयोजन मिलाउने भन्नेबारे टिम व्यवस्थापनले विकल्पहरू हरिरहेको छ ।

सन् २०२६ को टी–२० विश्वकपको दोस्रो सुपर एट खेलअघि बर्लले भने, ‘हाम्रो लाइनअपमा धेरै विकल्प छन्, जुन हाम्रो बलियो पक्ष हो । देब्रे हातको सिमर, दाहिने हातको सिमर छन्, लेगस्पिनरहरू, अफस्पिनर, देब्रे हातको अफी पनि छ । त्यसैले गहिराइ प्रशस्त छ । त्यो समय मैदानमा रहेका ब्याटरअनुसारको ‘म्याच–अप’ र संयोजनमा निर्भर हुनेछ ।’

भारतको ब्याटिङ लाइनअपमा धेरै देब्रेहाते खेलाडी भएकाले वेलिङ्टनलाई बेन्चमा राख्न सकिने अनुमान छ । तर अफब्रेक र क्यारम बलसहित विभिन्न प्रकारका स्पिन गर्न सक्ने राजाले नयाँ बलसँग देब्रेहाते ओपनर अभिषेक शर्मा र इशान किशनविरुद्ध राम्रो भूमिका खेल्न सक्छन् ।

वेस्ट इन्डिजविरुद्ध क्याच खेल्दा औंलामा चोट लागेपछि केही समय मैदान बाहिर बसेका राजालाई भारतविरुद्ध खेल्न फिट घोषित गरिएको छ । खेलअघिको अभ्यासमा उनले कुनै असहजता बिना बलिङ र ब्याटिङ गरेका थिए ।

परिस्थिति जस्तोसुकै भए पनि ६ फिट ९ इन्च अग्ला मुजाराबानीले उच्च रिलिज पोइन्ट र अतिरिक्त बाउन्सका कारण यस विश्वकपमा ब्याटरहरूलाई समस्यामा पारेका छन् । वानखेडेमा जिम्बाब्वेले २५४ रन खर्चिए पनि उनले ४ ओभरमा ४२ रन दिएर २ विकेट लिए । चार इनिङ्समा उनको विकेट संख्या ११ पुगेको छ । यस प्रतियोगितामा अमेरिकाका शाड्ली भान स्काल्कवाइकसँग मात्र उनीभन्दा बढी विकेट छ ।

मुजाराबानीबारे बर्लले भने, ‘६ फिट ९ इन्च हुनु फाइदाजनक हुन्छ । प्रतियोगिताअघि चारदेखि छ महिनासम्म ढाडको चोटका कारण बाहिर रहेकाले उनी आफैं पनि शारीरिक अवस्थाबारे गम्भिर थिए । तर उनले बलसँग पाएको सफलता राम्रो छ । उनी दायाँ हातलाई भित्र र देब्रे हातेलाई बाहिर फास्ट बाउन्ससहित बल फाल्न सक्छन्, जसले ब्याटरलाई ठुलो चुनौती दिन्छ । उनी विपक्षमा नभई हाम्रो टोलीमा हुनु खुसीको कुरा हो ।’
बर्लका अनुसार पछिल्लो समय ठुलो टोलीविरुद्ध नियमित खेल्न पाउनु जिम्बावेको सफलताको मुख्य कारण हो । विश्व टेस्ट च्याम्पियनसिपमा नखेले पनि जिम्बाब्वेले २०२५ मा अस्ट्रेलियाभन्दा एक टेस्ट मात्र कम खेलेको थियो र दुई टी–२० अन्तर्राष्ट्रियमा श्रीलंकालाई पराजित गरेको थियो ।

उनले भने, ‘बलियो टोलीसँग नियमित खेल्नु, राम्रो योजना र प्रक्रियामा खेलाडीहरूको विश्वास पाउनु यी सबै कुरा महत्वपूर्ण छन् । तर यो सबै कुरा खेलको दिन निर्भर हुन्छ । अहिले हामी त्यसको प्रतिफल पाइरहेका छौं ।’
 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप