बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

इरानमाथि इजरायली आक्रमण : तेहरानमा शक्तिशाली विस्फोट

शनिबार, १६ फागुन २०८२, १२ : ४९
शनिबार, १६ फागुन २०८२

सारांश

  • तेहरानमा शृङ्खलाबद्ध विस्फोटका आवाज सुनिएपछि इजरायलले इरानमाथि अग्रिम आक्रमण गरेको छ।
  • इजरायलले आफ्नो राष्ट्रविरुद्धको खतरालाई निस्तेज पार्न आपतकालीन अवस्था घोषणा गर्दै आक्रमण गरेको जनाएको छ।
  • इरान र इजरायलबीचको यो सैन्य टकराव आणविक कार्यक्रम र कूटनीतिक प्रयासको बीचमा भएको हो।

काठमाडौँ । इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानको रिपब्लिक (जम्हुरी) क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र जम्हुरी स्क्वायर तथा हसन अवाद स्क्वायरको आकाशमा धुवाँको मुस्लो उडेका तस्बिरहरू सार्वजनिक भएका छन् । 

इरानको राज्य समर्थित फार्स न्युज एजेन्सीले तेहरानको उत्तरी र पूर्वी भागमा समेत थप नयाँ विस्फोटका आवाजहरू सुनिएको जनाएको छ । तेहरानमा विस्फोटका खबरहरू बाहिरिएलगत्तै इजरायलले इरानमाथि 'प्रि-एम्प्टिभ' (अग्रिम) आक्रमण सुरु गरेको घोषणा गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायल राष्ट्रविरुद्धको खतरालाई निस्तेज पार्न यो कदम चालिएको बताएका छन् । यस आक्रमणसँगै रक्षामन्त्री काट्जले इजरायलभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ लागू गरिएको घोषणा गरेका छन् ।

इरानमा आक्रमण सुरु भएसँगै इजरायलमा पनि सम्भावित जवाफी क्षेप्यास्त्र प्रहारको खतरालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार बिहान ८: १५ बजे इजरायलभर साइरन बजाइएको थियो । इरानले भने कुनै पनि आक्रमणको कडा बलका साथ जवाफ दिने चेतावनी यसअघि नै दिइसकेको छ ।

यो पछिल्लो सैन्य टकराव अमेरिका र इरानबीच आणविक कार्यक्रम रोक्ने र सम्भावित युद्ध टार्ने उद्देश्यले भइरहेको कूटनीतिक प्रयासकै बीच भएको बीबीसीले जनाएको छ । आगामी साता पनि यससम्बन्धी वार्ता जारी रहने अपेक्षा गरिएको थियो ।

वार्तामा इरानले केही लचिलोपन देखाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छलफलको दिशाप्रति आफू सन्तुष्ट नरहेको हिजो मात्र बताएका थिए । ट्रम्पले सन् २००३ को इराक युद्धपछि मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति बढाउन आदेश दिएका छन्, यद्यपि अहिले नै सैन्य कारबाही किन आवश्यक पर्‍यो भन्ने बारे खासै स्पष्ट पारेका छैनन् ।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम आफ्नो देशका लागि ठूलो खतरा रहेको भन्दै आणविक कार्यक्रममा मात्र केन्द्रित हुने कुनै पनि सम्झौताको विरोध गर्दै आएका थिए । तर इरानले भने आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने तथा गाजाको हमास, लेबनानको हिजबुल्लाह, इराकका लडाकु समूह र यमनका हुथी विद्रोहीलाई दिँदै आएको समर्थन रोक्ने अमेरिकी तथा इजरायली मागलाई आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भन्दै अस्वीकार गर्दै आएको छ ।

यसअघि गत जुन महिनामा पनि इजरायलले इरानमाथि आक्रमण गर्दा '१२ दिने युद्ध' सुरु भएको थियो । उक्त द्वन्द्वमा पछि अमेरिका पनि जोडिएर इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको थियो । अहिले फेरि सुरु भएको यो आक्रमणले मध्यपूर्वमा अर्को ठूलो युद्धको खतरा बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप