बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न  [दिनभरका अपडेट एकैठाउँमा]
LIVE UPDATES

LIVE UPDATES : छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न [दिनभरका अपडेट एकैठाउँमा]

बिहीबार, २१ फागुन २०८२, १५ : ३०
Live

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो ।  निर्वाचनमा  प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।  
 

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर, क–कसले गरे मतदान ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरेका छन् । देशभर १६५ सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान प्रक्रिया जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहान काठमाडौँ–५ स्थित धापासी फैमालचुली मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी छन् ।

यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरिन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति माविबाट दिउँसो मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरे । मताधिकार प्रयोग गरेर उनी आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व गएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरे ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँ–४ मैतीदेवी मन्दिर केन्द्रबाट मतदान गरे । थापा यो पटक साबिक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ ।

हुम्लाको हल्जीको विवाद समाधान : मतदान सकियो

‎हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ को हल्जीमा सुनखानी आधारभूत विद्यालयको मतदान केन्द्रमा सिर्जित विवाद समाधान भएको छ।

‎२६४ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा स्थानीयले गुम्बामा मतपेटिका र मतपत्र लिएर मतदान गराउनुपर्ने माग गर्दा निर्वाचनमा खटिएको टोलीले नमानेपछि लफडा भएको थियो।

‎‎उक्त विवाद समाधान भएर पनि मतदान सकिएको हुम्ला जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । ‎उक्त ठाउँको मत पेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाम समेत ल्याइसकिएको उनले बताए।

६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा कैद

काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकाहरूले भोट हाल्न अझै पाउने जनाएको छ । तर, निर्धारित समय ५ बजेभित्र लाइनमा नस्बनेले भने मतदान गर्न पाउने छैनन् । 

निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी कुल २७५ सिटका लागि भएको निर्वाचनमा कुल ६ हजार ५४१ उम्मेदवार मैदानमा छन् । 

जसअनुसार अनुसार निर्वाचनमा  प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।   यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको दाबी गरेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गरे । 

 पाण्डेले यो निर्वाचनलाई भदौ २३–२४ पछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गरे । निर्वाचनको नतिजाबारे विश्लेषण गर्दै पाण्डेले नेपालको वर्तमान निर्वाचन प्रणालीले एकल बहुमतलाई निषेध गरेको तर्क गरे । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहेको व्यवस्थामा कुनैपनि दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह रहेको उनको भनाइ छ ।

पाण्डेले छिमेकी मुलुक बङ्गलादेशको उदाहरण दिँदै नेपालमा संविधानका मुख्य एजेण्डालाई थाँती राखेर चुनाव गरिएकोमा असन्तुष्टि जनाए । बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूपबारे निर्णय लिइएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा भने दलहरू सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेको बताए । अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाका बीच सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा पाण्डेले धन्यवाद दिए । 

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ । हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निर्वाचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

मतदान सकिए पनि नियमानुसार ५ः०० बजेसम्म मतदान केन्द्रमा बस्नुपर्ने प्रावधान अनुसार कुरेर बसेको फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले बताए । “यस मतदान केन्द्रमा रहेका १९८ मतदातामध्ये १२ः०० बजेसम्म १३८ मत खसेको छ, त्यसपछि कोही पनि मतदान गर्न आउनुभएको छैन । नियमानुसार ५ः०० बजेसम्म कुरेर बस्नुपर्ने भएकाले केन्द्रमा नै बसिरहेका छौँ”, उनले भने । उनका अनुसार पार्टीका प्रतिनिधिले भोट हाल्न आउने मतदाता यति नै हुन् भनेका छन् ।

सिदुङ आधारभूत विद्यालय सस्र्युँमा पनि मतदान सकिएको छ । यहाँ १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि ५ः ०० बजेसम्म कुर्नुपर्ने नियमानुसार बसिरहेको बताए ।

ओली र बालेन उम्मेदवार रहेको झापा–५ मा ६१ प्रतिशत मत खस्यो, अरुमा कति ?

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा जिल्लामा उत्साहजनक रूपमा मतदान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार जिल्लाभर औसत ५९.६७ प्रतिशत मतदान भएको छ।

जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदान क्षेत्र नम्बर ५ मा भएको छ भने सबैभन्दा कम क्षेत्र नम्बर १ मा देखिएको छ।

क्षेत्रगत विवरण यस प्रकार छ :

अपडेटः दोलखाको तामाकोशीबाट पक्राउ परेका ८ जना रिहा

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माबि मतदान स्थलबाट पक्राउ परेका ८ जना रिहा भएका छन् । 

बिहीबार बिहान मतदान सुरु भएपछि विवाद हुँदा ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले रातोपाटीलाई बताए । 

३ सय मत खसेपछि मतदानस्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि विवाद सुरु भएको थियो । उक्त मतदानस्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । 

मनाङमा हेलिकोप्टरबाट मतपेटिका संकलन गरिने, शुक्रबार सदरमुकाम ल्याइने

पोखरा । हिमालपारीको जिल्ला मनाङको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने भएको छ । भौगोलिक रूपमा विकट नार्पा भूमि गाउँपालिकाका मतपेटिकाहरू हेलिकोप्टरबाट ल्याउन लागिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । 

मतदान सकिए लगत्तै आजै हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने योजना भए पनि हेलिकप्टर उपलब्ध नहुँदा भोलि बिहान मात्र ल्याइने भएको हो ।

‘हेलिकप्टर यतै भएको भए आजै सम्भव हुन्थ्यो, बुटवलतिर भएकाले अब भोलि बिहान मात्रै मतपेटिका ल्याउन सकिने भयो,’ उनले भने ।

रसुवामा ४ बजेसम्म ५२ प्रतिशत मत खस्यो

काठमाडौँ । रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा ४ बजेसम्म ५२ प्रतिशत मत खसेको छ । रसुवाका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीका अनुसार ४ बजेसम्म ५२ प्रतिशत मतदाताले मतदान गरेका छन् । 

उप्रेतीका अनुसार सबैभन्दा धेरै ग्राङ मतदान केन्द्रमा ६१ प्रतिशत भन्दा धेरै मत खसेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा ४१ हजार ४ सय ७७१ मतदाता छन् । जसमध्ये २१ हजार १ सय ४१ पुरुष र २० हजार ३ सय २९ महिला मतदाता र १ जना अन्य मतदाता छन् ।

कोशी प्रदेशमा शान्तिपूर्ण मतदान, यस्तो छ सुरक्षा अवस्था

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले प्रदेशभर निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढिरहेको जानकारी दिएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले प्रदेशका कुनै पनि मतदान स्थलमा सुरक्षा चुनौती वा मतदान कार्यमा अवरोध पुग्ने खालका घटना नभएको स्पष्ट पारे ।

डीआइजी घिमिरेका अनुसार ओखलढुंगामको एउटा मतदान केन्द्रमा भने मतदाताहरूले स्वेच्छाले मतदान नगर्ने निर्णय गरेका कारण त्यहाँ मतदान प्रभावित भएको छ।  तर, अन्य ठाउँमा कुनै विवाद वा झडपका कारण मतदान रोकिएको स्थिति नरहेको उनले बताए ।

मतदानको समय अझै एक घण्टा बाँकी रहेकाले अन्तिम तथ्याङ्कमा केही थप हुन सक्ने उनको भनाइ छ। मोरङ लगायतका क्षेत्रमा अझै पनि मतदाताहरू मतदान केन्द्रमा आइरहेको र सुरक्षा व्यवस्था पूर्ण रूपमा चुस्त दुरुस्त रहेको उनले जानकारी दिए । 

मोरङमा ५२ प्रतिशत मतदान, कुन क्षेत्रमा कति खस्याे मत ?

विराटनगर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लामा अपराह्न ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान भएको छ । 

जिल्ला प्रहरी कार्यालय (जिप्रका) मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ६ हजार ७ सय १५ मत खसेको छ ।

मोरङमा कुल ७ लाख ३५ हजार ५० मतदाता रहेका छन् । खसेको कुल मतमध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । तथ्याङ्क अनुसार २ लाख ९ हजार ४९ महिला, १ लाख ९७ हजार ६ सय ६६ पुरुष र २ अन्य मतदाताले मतदान गरेका छन् ।

मनाङमा खस्यो ४० प्रतिशत मत

पोखरा । हिमाली जिल्ला मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४० प्रतिशत भन्दा केही मात्रै बढि मत खसेको रिपोर्टिङ भएको छ । 

चिसो सुरु भइसकेकोले अब मत खासै नखस्ने उनले बताए । ‘चिसो सुरु भैसक्यो । अब यो भन्दा उल्लेख्य मत खस्ने सम्भावना छैन । कम जनसंख्या भएकोले मतदाता पनि बेलैमा आएर फर्किएका छन्,’ उनले भने, ‘अब केही प्रतिशत मात्रै बढ्छ ।’ बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

४ बजेसम्म ४५ प्रतिशत मत खस्यो

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ ।

 प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।

मतदानको विवरण हेर्दा काठमाडौँ उपत्यकामा मतदाताको सबैभन्दा बढी उत्साह देखिएको छ । उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म ५४ प्रतिशत मत खसिसकेको छ । प्रदेशतर्फ भने गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ ।

स्याङजामा ४६ प्रतिशत मत खस्यो

पोखरा । स्याङजा जिल्लामा हालसम्म ४६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ४६.०७ प्रतिशत मत खसेको हो । 

१ लाख १४ हजार ७ सय १८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार, महिला ६१ हजार ७ सय ४८ र पुरुष ५२ हजार ९ सय ७० जनाले मतदान गरेका हुन् । 

दुई निर्वाचन क्षेत्र रहेको स्याङजामा २ लाख ४८ हजार ८ सय १६ मतदाता छन् । बिहीबार देदभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

कास्कीमा ४ बजेसम्म ५१ प्रतिशत मत खस्यो

कास्की । कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भइरहेको मतदान कार्य अन्तिम चरणमा पुग्दै गर्दा मतदाताको सहभागिता ५० प्रतिशत नाघेको छ। 

जिल्ला निर्वाचन कार्यालयको बेलुका ४ बजेसम्मको रिपोर्टअनुसार कुल १ लाख ५९ हजार ६ सय ६६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। यो जिल्लाको कुल मतदाता संख्याको ५१.७४ प्रतिशत हो।

पछिल्लो तथ्याङ्कअनुसार कास्कीमा पुरुषको तुलनामा महिला मतदाताहरू बढी सक्रिय देखिएका छन्। ४ बजेसम्म ८४ हजार ६ सय ४५ महिला र ७५ हजार २० पुरुषले मतदान गरेका छन् भने अन्य लिंगी १ जनाले मत खसालेका छन्। 

आमाको किरिया बसेका रानाले गरे मतदान

बागलुङ । बागलुङमा किरियायापुत्रीले मतदान गरेका छन् । क्षेत्र नम्बर १ अन्तरगत काठेखोला गाउँपालिका–३ का दीपेन्द्र रानाले आमाको किरिया बसेका बेलामा मतदान गरेका हुन् । रानाकी आमा शशिकला रानाको यही फागुन १५ गते ८८ वर्षको उमेरमा मृत्यु भएको थियो । 

रानाले आफ्नो आमा मृत्यु भएको छैटौँ दिनमा मतदान गरेका हुन् । मतदान गर्दै रानाले आमाको काजकिरियामा रहे सही नेतृत्व छान्नका लागि मतदान गरेको बताए । 

यस क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा छन् भने कुल ९८ हजार ४६ जना मतदाता छन् । जसमा महिला ५० हजार ३६९ र पुरुष ४७ हजार ६७६ महिला मतदाता रहेका छन् । अहिलेसम्म ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

कास्की । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ ।

प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए ।  सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । 

गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

दोलखामा ५६ बुक मतपत्र गायब

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट मतपत्र हराएको छ । बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजे ।

त्यसपछि सुरु भएको विवाद अझै टुङ्गिएको छैन । सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएपछि अझै मतदान सुरु भएको छैन ।

मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ । हराएको मतपत्र खोजी भइरहेको दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का गरेर गणना नगर्ने गरी मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेका छैनन् । विवाद गर्नेहरूमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता छन् ।

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

सुर्खेत । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ः०० बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ ।

त्यसैगरीमा मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुमपश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालीकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागार्इंले जानकारी दिए । 

नुवाकोटमा साढे ३ बजेसम्म ४४ प्रतिशत मत खस्याे

नुवाकोट। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोटमा दिउँसो ३ः३० सम्म ४४ प्रतिशत मत खसेको छ। 

नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार हालसम्म ४४ प्रतिशत मत खसेको जानकारी दिए।

आचार्यका अनुसार अहिलेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । नुवाकोटमा कुल २ लाख ४७ हजार ८६८ मतदाता छन् । मतदाताहरुले १३२ मतदान स्थलका २९३ मतदान केन्द्रहरुबाट मतदान गर्नेछन् ।

सवा ६ बजे पत्रकार सम्मेलन गरेर आयोगले चुनावी अपडेट दिने

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे दिने भएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए । 

‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रवक्ता भट्टराईले सूचना जारी गर्दै भनेका छन् । 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछन् । ५ बजेसम्म लाइन बसेका मतादाताले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् । आयोगले दिउँसो पत्रकार सम्मेलन गरी उत्साहजनक रूपमा मतदाताहरू मतदानमा सहभागी भएका छन् । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान जारी छ ।

चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नयाँ र पुराना दल वा नेता भनेर छुट्टाउने भाष्य गलत भएको बताएका छन्। मतदान केन्द्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले चुनावमा कुनै पनि एक दलको मात्रै बहुमत नआउने दाबी समेत गरेका हुन् ।

अहिले बजारमा नयाँ र पुरानो भनेर उठाइएको कुरा देश र लोकतन्त्रको हितमा नभएको प्रचण्डले जिकिर गरे। उनले नयाँ र पुरानो भन्दा पनि सही र गलत के हो भनेर छुट्याउनुपर्नेमा जोड दिए। राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा को छ, त्यसको आधारमा सही विचार र कार्यक्रम भएको नेतृत्वलाई भोट दिन उनले आम मतदातालाई अपिल गरे। सही र गलतको बिचमा मात्र चुनावमा बहस हुनुपर्ने उनको भनाइ थियो।

चुनावको नतिजा कस्तो आउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको निर्वाचन प्रणाली र समग्र अवस्था हेर्दा कुनै एउटा मात्र पार्टीको बहुमत आउने सम्भावना आफूले नदेखेको प्रष्ट पारे। उनले यसपटक मुख्य प्रतिस्पर्धा चारवटा पार्टीहरू नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने बताए। यद्यपि, आफ्नो दलको नतिजा भने राम्रो आउने उनले दाबी गरे।

गोरखामा ४५ प्रतिशत मत खस्यो

पोखरा । गोरखामा करिब ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको हो । 

कुल मतदातामध्ये १ लाख ५ हजार ४८ मत खसेको कार्यालयले जनाएको छ । जसमध्ये ५३ हजार ५२४ महिला र ५१ हजार ५२४ पुरूष छन् । 

२ निर्वाचन क्षेत्र रहेको गोरखामा २ लाख २९ हजार ५८ मतदाता छन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

झापामा ५० प्रतिशत मत खस्यो, कुन क्षेत्रमा कति ?

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा हालसम्म ५० प्रतिशत मतदान भएको छ ।

जिल्लाभर कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये ३ लाख ५६ हजार १८९ मत खसेको हो । खसेको मतमध्ये महिला १ लाख ८६ हजार ९४२ र पुरुष १ लाख ६९ हजार २४७ रहेका छन् ।

निर्वाचन क्षेत्रअनुसार खसेको मत विवरण यसप्रकार छः

तनहुँमा १ लाख २० हजारले गरे मतदान

पोखरा । तनहुँमा हालसम्म ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म ४७.२३ प्रतिशत मत खसेको हो । 

कुल मतदातामध्ये १ लाख २० हजार १ सय ४३ जनाले मतदान गरिसकेका छन् । मतदाताहरुको सहभागिता उत्साहजनक रहेकोले राम्रो मत खस्ने अनुमान कार्यालयको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया