मध्यपूर्वमा के चाहन्छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की ?
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले इरानी ड्रोनबाट प्रतिरक्षाका लागि मध्यपूर्वका देशहरूसँग आर्थिक र प्राविधिक सहयोग मागेका छन्।
- युक्रेनले ड्रोन प्रतिरक्षा प्रणालीबारे मूल्याङ्कन र प्रशिक्षणका लागि मध्यपूर्वमा टोली पठाएको छ, जसमा कतार, यूएई र साउदी अरब पनि छन्।
- जेलेन्स्कीले खाडी क्षेत्रका देशहरूसँग ड्रोनसम्बन्धी दीर्घकालीन सम्झौताको सम्भावना रहेको बताएका छन्, तर सहयोगको बदलामा के पाइने भन्ने अझै स्पष्ट छैन।
किभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले मध्यपूर्वका देशहरूलाई इरानी ‘कामीकाजे’ ड्रोनबाट प्रतिरक्षा गर्न पैसा र प्रविधि चाहेको बताएका छन् । किभमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेनी राष्ट्रपतिले आफ्नो देशले विशेषज्ञ टोलीहरू मध्यपूर्व पठाएर ड्रोन प्रतिरक्षा प्रणालीबारे मूल्याङ्कन र प्रशिक्षण दिएको जानकारी दिएका हुन् ।
उनका अनुसार युक्रेनले तीन वटा टोली मध्यपूर्व पठाएको छ । यसअघि उनले टोलीहरू कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबका साथै जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा पठाइएको बताएका थिए । जेलेन्स्कीले भने– ‘यो सैन्य कारबाहीमा संलग्न हुने विषय होइन । हामी इरानसँग युद्धमा छैनौँ ।’
उनका अनुसार खाडी क्षेत्रका देशहरूसँग दीर्घकालीन ड्रोनसम्बन्धी सम्झौता हुन सक्ने सम्भावना छ, तर सहयोगको बदलामा युक्रेनले के पाउने भन्ने विषयमा अझै छलफल हुन बाँकी छ ।
‘हाम्रो लागि अहिले प्रविधि र आर्थिक सहयोग दुवै महत्त्वपूर्ण छन्,’ उनले भने । खाडी क्षेत्रका देशहरूले इरानद्वारा प्रयोग गरिएका ‘शाहेद’ ड्रोन रोक्न ठुलो मात्रामा वायु प्रतिरक्षा मिसाइल प्रयोग गरिरहेका छन् ।
युक्रेनले भने रुसबाट आउने ड्रोनलाई साना र सस्ता ड्रोन तथा ‘ज्यामिङ’ उपकरण प्रयोग गरेर नियमित रूपमा खसालिरहेको छ । जेलेन्स्कीका अनुसार अमेरिकासहित युरोप, मध्यपूर्व र अफ्रिकाका केही देशहरूले पनि यस्ता ड्रोन आक्रमण रोक्ने उपायबारे युक्रेनसँग सहयोग मागेका छन् ।
तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकालाई ड्रोन खसाल्न युक्रेनको सहयोग आवश्यक नभएको बताएका छन् । जेलेन्स्कीले अमेरिकासँग ठुलो ड्रोन सम्झौता किन हुन सकेन भन्नेबारे आफूलाई स्पष्ट जानकारी नभएको समेत बताए ।
उनले महिनौँदेखि करिब ३५ देखि ५० अर्ब डलर बराबरको सम्झौता गर्न चाहेको बताएका छन् । यसका साथै उनले केही युक्रेनी कम्पनी र विदेशी सरकारहरूले किभको अनुमति बिना नै एन्टी–ड्रोन उपकरणसम्बन्धी सम्झौता गर्न खोजेको आरोप समेत लगाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण