ऐतिहासिक जनादेश जोगाउनु रास्वपाको मुख्य चुनौती : डा. वाग्ले
सारांश
- रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले निर्वाचनमा प्राप्त जनमत जोगाउनुपर्ने बताए।
- उनले रास्वपाले पाएको जनमतलाई २०१५ सालको निर्वाचनसँग तुलना गर्दै यसलाई 'अभूतपूर्व' जनादेश भने।
- वाग्लेले सांसदहरूलाई विगतका सरकारको कमजोरीबाट पाठ सिक्न र सुशासनमा ध्यान दिन आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले दिएको अभूतपूर्व जनमतलाई जोगाउनु पार्टीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै वाग्लेले जनताले विकास र सुशासनका लागि स्पष्ट म्यान्डेट दिएकाले अब जनअपेक्षाबाट भाग्ने छुट पार्टीलाई नभएको स्पष्ट पारेका हुन्।
उनले यसपटकको निर्वाचन परिणामलाई नेपालको लोकतान्त्रिक इतिहासकै सबैभन्दा बलियो वैधताका रूपमा व्याख्या गरे। डा. वाग्लेले अहिलेको उपलब्धिलाई २०१५ सालको पहिलो आम निर्वाचनसँग तुलना गर्दै रास्वपाले त्योभन्दा पनि ठुलो जनमत पाएको तथ्याङ्क प्रस्तुत गरे।
२०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले दुईतिहाइ सिट जिते पनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै रहेको उनले स्मरण गराए। तर, यसपटक रास्वपाले १८२ सिटसहित ५१ लाखभन्दा बढी मत प्राप्त गरी करिब ४८ प्रतिशत लोकप्रिय मत हासिल गरेको भन्दै यसलाई नेपालको इतिहासमा 'अभूतपूर्व' जनादेश भएको दाबी गरे। जनताको यो ठुलो भरोसालाई न्याय गर्न कार्यान्वयनको पक्षमा जोड दिनुपर्ने उनको भनाइ छ।

आफ्नो सम्बोधनका क्रममा वाग्लेले विगतका सरकारहरूको अस्थिरता र कमजोरीबाट पाठ सिक्न सांसदहरूलाई आग्रह गरे। २०४८ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार आन्तरिक विवादले ढलेको, २०६४ सालमा माओवादीले ९ महिना पनि सरकार टिकाउन नसकेको र २०७४ सालको नेकपाको बलियो बहुमत पनि तीन वर्षमै छिन्नभिन्न भएको उदाहरण दिँदै उनले विगतका गल्ती नदोहोर्याउन सचेत गराए।
पुराना दलहरूले आन्तरिक खिचातानी व्यवस्थापन गर्न नसक्दा प्राप्त जनादेश खेर गएको भन्दै रास्वपाले स्थिरता र सुशासनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।
नवनिर्वाचित सांसदहरूलाई सुझाव दिँदै डा. वाग्लेले पारदर्शी जीवनशैली अपनाउन, जथाभाबी अभिव्यक्ति नदिन र जनताका गुनासालाई सधैँ प्राथमिकतामा राख्न निर्देशन दिए। उनले संसद्मा प्रभावकारी भूमिका खेल्नका लागि कानुन र संविधानको गहिरो अध्ययन गर्न समेत आग्रह गरे।
नेपालको लोकतान्त्रिक यात्रामा यसपटकको जनादेश स्कोप र म्यान्डेटका हिसाबले निकै गह्रौँ र महत्त्वपूर्ण रहेको भन्दै उनले सबै जनप्रतिनिधिलाई गम्भीर जिम्मेवारीबोधका साथ प्रस्तुत हुन आह्वान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण